मुग्लिन–पोखरा सडक: पूर्वी खण्डमा २५, पश्चिममा ६ प्रतिशत प्रगति

दमौली ।
पृथ्वी राजमार्गलाई ४ लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा २५ र पश्चिम खण्डमा ६ दशमलव ०५ प्रतिशत प्रगति भएको छ ।
तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा हालसम्म २५ प्रतिशत भौतिक प्रगति भएको छ भने जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा ६ दशमलव ०५ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डको काम केही सन्तोषजनक देखिए पनि पश्चिम खण्डको काम भने निकै सुस्त छ ।
मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का प्रमुख नरेन्द्र सुवेदीले यो खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको जानकारी दिए ।सबवेश र फेसको काम पनि सुरु गर्न लागिएको सुवेदीले सुनाउ ।
उक्त खण्डमा विद्युत्का खम्बा स्थानान्तरणको कामले समस्या भए पनि उक्त समस्या समाधान हुँदै गएको सुवेदीले बताए । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी खण्डमा ७ किलोमिटर कालोपत्रको तयारी गरिएको छ । चालु आर्थिक वर्षभित्रै ७ किमी सडकखण्ड कालोपत्र गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ ।
विविध कारणले सडक कालोपत्रको काम ढिलाइ भएको बताउँदै सुवेदीले अब कालोपत्रको काम सुरु हुने जानकारी दिए ।
‘कालोपत्रको ट्रायल भइसक्यो, कालोपत्र सडकलाई छुवाइसक्यौं’, सुवेदीले भने ।
जामुनेदेखि पोखरासम्मको पश्चिमखण्डको प्रगति निकै कम रहेको मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड)का प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिए । निर्माण कम्पनीका कारणका यो खण्डमा काम सुस्त रहेको र अब विस्तारै कामको गति बढ्ने श्रेष्ठले दाबी गरे ।
पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा ३ ठूला र ४ साना पुल निर्माण गरिनेछन् । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद २०८१ वैशाखसम्म छ ।
पश्चिम खण्ड अन्तर्गत जामुनदेखि पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको हो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म छ ।
विसं २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक ४ लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।
४ लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ ।
डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









२०२५ः तातो वर्ष
पशुपति मन्दिरको सभा
विद्यार्थीको दाँत जाँच
डुंगा दौड जित्नेलाई खसी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया