सम्पादकीयः लहरोले हल्लाएको पहारो

छिमेकको भलाकुसारी होस् कि औपचारिक समारोह, संसद अधिवेशन होस् कि सामाजिक सञ्जाल, केही दिनदेखि सबैतिर नक्कली भुटानी शरणार्थी काण्डकै चर्चा छ । बहालावाला सचिवदेखि पूर्व मन्त्रीसम्मलाई अभियोग लागेपछि यो काण्डले निकै चर्चा पाएको छ । विगतमा कुनै काण्ड सार्वजनिक भएपछि आयोग बनाउने र त्यतिकै सेलाउने गरेकोमा यसपालि त्यसो नहुने अपेक्षा धेरैको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने काममा शक्तिशाली गिरोह नै संलग्नता भएको पुष्टि भइसकेको छ ।
भुटानी शरणार्थी समस्या नेपालको ठूलो टाउको दुखाइको विषय थियो । छिमेकी भुटानले सुल्झाउनभन्दा उपेक्षा बढी गरेपछि तेस्रो मुलुकले उनीहरुलाई आश्रय दिएको छ । हाम्रो भूमीमा आश्रम माग्न आएकाहरुलाई गर्ने व्यवस्थापनमा समेत ठूलो चलखेल हुनु देशकै लागि लज्जाको विषय हो । त्यसमाथि आफ्नै नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने र त्यसवापत मोटो रकम कमिसन लिने उच्च तहका कर्मचारी र राजनीतिक नेतृत्वको निन्दामा शब्दमात्र काफी हुँदैनन् । यी अक्षम्य अपराध हो ।
यस्तो अपराधमा संलग्नहरुलाई नै संरक्षण गर्ने खालको परिदृश्य अहिले देखिएको छ, त्यो लोकतन्त्रको लाज हो । पूर्व गृह सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुक्षा सल्लाहकार इन्द्रजीत राईसमेत पक्राउ परेका छन् । अहिले पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्वप्रधानमन्त्रीकी पत्नी एवं सांसद आरजू राणाको पनि संलग्नता रहेको भन्ने दाबीहरु सार्वजनिक भएका छन् ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट फरार हुनु र तत्कालीन गृहमन्त्री बालकृष्ण खाँँण, पूर्वगृहसचिव एवं हाल अख्तियारका आयुक्त प्रेम राईसमेतको संलग्नता भएको दाबी सार्वजनिक हुनुले अनियमितताको तह कहाँसम्म पुगेको रहेछ भन्ने अनुमान हुन्छ । राजनीतिक नेतृत्वले जति नै दाबी गरे पनि यो मुद्दाले राजनीतिक स्वरुप धारण गरिसकेकै छ । पूर्वमाओवादी भएकाले रायमाझीमाथि कारवाही गर्न लागिएको केहीको दाबी छ भने सत्तारुढ दलकै नेताहरु संलग्न भएको आरोप सार्वजनिक भएपछि यो काण्ड त्यतिकै सेलाउने चिन्ता पनि देखिएको छ ।
शरणार्थी समस्या समाधान वा व्यवस्थापनका नाममा विभिन्न समिति गठन गर्ने तर प्रतिवेदन सार्वजनिक नगर्नुपछि ठूलो रहस्य रहेको देखियो । भ्रष्टाचार भइरहने तर भ्रष्टाचारीमाथि कारवाही नहुने श्रृंखला हामीले देखेका छौं । सामान्य नागरिकले जीवन निर्वाह गर्नकै लागि धेरै दुःख, कष्ट व्यहोर्नु परेको छ । मान्छे त्यतिकै अरुको देशमा शरणार्थी बनेर गैरकानुनी बाटोबाट विदेश जान मोटो रकम तिर्न तयार हुँदैन ।
देशकै समृद्धि र विकासको अगुवाइ गर्नुपर्ने राजनीतिक नेतृत्व र उच्च तहका कर्मचारीको मिलेमतोमा यस्ता खालका हर्कत हुनु चिन्ताको विषय हो । यो काण्डको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाहीको भागिदार बनाउनैपर्छ । सानालाई ऐन, ठूलालाई चैन भन्ने नेपाली उखान फेरि चरितार्थ नहोस् ।
तपाईको प्रतिक्रिया