ह्विलचेयर बास्केटबल प्रतियोगितामा पोखरा महानगर विजयी

पोखरा ।
कास्की जिल्ला स्तरीय ह्विलचेयर बास्केटबल प्रतियोगितामा पोखरा महानगर टिम प्रथम भएको छ । आइएनएफ हरियोखर्क द्वितीय र महिला मिथ एफसिआई टोली तृतीय भए ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा नं १५ को आयोजना तथा अपांगता सञ्जाल पोखरा १५ को समन्वयमा बिहीबार प्रतियोगिता भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगदसँगै सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विजयी टोलीलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य, पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ लगायतले पुरस्कार वितरण गरे । प्रमुख आचार्यले मानिसको व्यस्त व्यवसायिक जीवनमा कहाँ, कहिले , कसरी अपांग भइन्छ भन्ने ठेगान नहुने भन्दै अपांगता भएर पनि खेलको माध्यमले आफूमा भएको प्रतिभा प्रस्फुटन गरेका सबैप्रति आभार व्यक्त गरे । उनले महानगर सधँै अपांगमैत्री कार्यक्रम र नीति निर्माणमा अग्रसर हुने बताए ।
वडाध्यक्ष बानियाँले आफ्नो वडामा अपांगता भएका व्यक्तिहरु धेरै बसोबास गर्ने गरेको आफूहरुले गरेको अध्ययनले देखाएको हुँदा उनीहरु लक्षित कार्यक्रमलाई वडाले निरन्तरता दिने बताए । सञ्जालका अध्यक्ष गंगाबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा अमृत बराल, दीपक गोदार, पोखरा १५ का सदस्य तथा खेल संयोजक आशीष भण्डारीले बोलेका थिए ।
खेल हरियो खर्क हस्पतालको बास्केटबल मैदानमा भएको हो । पोखरा १५ ले खेलकुदको विकासका लागि यसअघि पनि खेलकुद महोत्सव आयोजना गरेको थियो । ९ सय ६ जना खेलाडीकोसहभागी गरेको उक्त खेलबाट उत्पादित खेलाडरु विभिन्न स्थानीय, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका खेलमा सहभागी छन् ।
तपाईको प्रतिक्रिया