गाउँसम्म खेल पूर्वाधार

समाधान संवाददाता २०८० वैशाख २९ गते १२:१५

गण्डकी ।
गण्डकीमा यस वर्ष ठूला साना गरी १ सय ६५ खेल पूर्वाधारका योजना छन् । तिनमा ५ लाखदेखि रु१५ लाखसम्मको बजेट छ ।

Advertisement

कतै खेल पूर्वाधारको निर्माण त कहीँ स्तरोन्नति कार्य भइरहेको छ ।

प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार ४० पूर्वाधार योजना सम्पन्न भइसकेका छन् । ‘एक स्थानीय तह, एक खेल मैदान’अन्तर्गत १५ वटा खेल मैदानका लागि सम्झौता भएर काम सुरु भएको छ । मन्त्रालयको युवा तथा खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेलले ५० प्रतिशत योजनाको काम पूरा भएको बतााए । ‘अरु योजना पनि सम्झौता भएर कार्यान्वयनमा गएका छन्, केही सम्झौताका क्रममा छन्’, उनले भने ।

प्रदेश सरकारका १ सय ५० र संघ सरकारबाट आएको सःशर्त बजेटका १५ गरी १ सय ६५ खेल पूर्वाधार बन्न लागेका हुन् । ‘जेठ मसान्तभित्र सबै पूर्वाधार निर्माणको काम सक्न उपभोक्ता समितिलाई ताकेता गरेका छौँ’, महाशाखा प्रमुख पौडेलले भने, ’बजेट सानो भए पनि खेलकुदका योजना गाउँगाउँ पुगेका छन् ।’

पूर्वाधारतर्फ खेल मैदान, कभर्डहल, व्यायामशाला आदि निर्माण र स्तरोन्नतिका योजना छन् । मन्त्रालयले ‘खेल मैदानको निर्माण एवं स्तरोन्नतिसम्बन्धी मापदण्ड, २०७८’ बमोजिम योजना सम्झौता एवं कार्यान्वयन गर्ने गरेको छ । मन्त्रालयले बेलैमा काम सक्न पटक पटक योजना सम्झौताका लागि सूचित गरेको थियो । आर्थिक वर्ष घर्किनै लाग्दा योजना सम्झौता र काम गर्ने प्रवृत्ति भने अझै हट्न सकेको छैन । योजनाको काममा ढिलाइ हुँदा फरफारक र भुक्तानीमा समस्या निम्तिने गरेको छ ।

Advertisement

हिमालपारिको जिल्ला मुस्ताङमा अन्तर्राष्ट्रिय स्तरको उच्च उचाइ खेलमैदान निर्माणका लागि जग्गाको नापजाँचसहित विस्तृत डिजाइनको काम पूरा भएको मन्त्रालयले जनाएको छ । जग्गाको टुङ्गो लागेपछि उक्त आयोजनालाई ‘डिपिआर’का लागि बजेटमा राखिने महाशाखा प्रमुख पौडेलले बताए ।

आव २०७५/०७६ मै प्रदेश सरकारले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ छेङ्गुरमा ‘हाइअल्टिच्युड’ पर्वतीय खेलकुद तालिम केन्द्र बनाउने घोषणा गरे पनि जग्गा व्यवस्थापन नहुँदा काम भएको छैन । बागलुङको ढोरपाटनमा बनाउने भनिएको ‘हाइअल्टिच्युड’ खेलमैदान पनि घोषणामै सीमित बनेको छ ।

तपाईको प्रतिक्रिया