प्रादेशिक सडकको गुरुयोजना बन्ने

राष्ट्रिय समाचार समिति (रासस) २०८० वैशाख ३१ गते १५:१९

कास्की ।
गण्डकी प्रदेश सरकारले सडक व्यवस्थित गर्न प्रदेश मातहत रहेका सडकहरूको गुरुयोजना बनाउने भएको छ ।

Advertisement

प्रादेशिक सडकहरूको गुरुयोजनापछि सडक पूर्वाधार निर्माणको योजना तथा मर्मतसम्भारका लागि सहयोगी हुने भौतिक पूर्वाधार विकास तथा यातायात व्ययवस्था मन्त्रालयले जनाएको छ । प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै प्रादेशिक सडक सञ्जालको गुरुयोजना बनाउनका लागि प्राविधिक समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरे ।

पूर्वाधार विकास निर्देशनालयका निर्देशक राम पराजुलीको संयोजकत्वमा रहेको समितिले अध्ययन गरेर २ महिनाभित्र गुरुयोजनाको खाका मन्त्रालयमा बुझाउनेछ । समितिमा मन्त्रालयका योजना हेर्ने महानिर्देशक तथा जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुखहरू सदस्य रहने मन्त्रालयका सचिव इन्जिनियर तुलसीराम भट्टराईले बताए ।

प्रादेशिक सडकहरूलाई व्यवस्थित गर्नका लागि गुरुयोजना बनाउन लागिएको सचिव भट्टराईले जनाए । सडक निर्माण, मर्मत, सुधार, स्तरोन्नति तथा यातायातको पहुँचको अवस्था र पुनर्निर्माण गर्नुपर्ने सडकको माग सङ्कलन, सडक यातायातसँग सम्बन्धित आवश्यक सेवा तथा सुविधाका लागि गुरुयोजनाले सहयोग पुग्ने बताइन्छ ।

सचिव भट्टराई भन्छन्, ‘प्रदेश सरकार अन्तर्गत रहेका प्रादेशिक सडक सञ्जालको गुरुयोजना निर्माणका लागि प्राविधिक समिति गठन गर्ने दीर्घकालीन महत्त्वको निर्णय गरेका छौँ । गुरुयोजनापछि प्रदेशभित्रको सडक तथा यातायात क्षेत्रको योजना बनाउन, सडक मर्मतसम्भार तथा प्राथमिकीकरणका लागि सहयोग पुग्नेछ ।’

Advertisement

पदबहालीपछि मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै मन्त्री जुग्जालीले जनताका आवश्यकतालाई पूरा गर्ने गरी विकास निर्माण अघि बढाइने बताए । पूर्वाधार क्षेत्रको विकासबाट मात्र देशको समृद्धि हुने भएकाले भौतिक पूर्वाधार मन्त्रालयको ठूलो जिम्मेवारी रहेकाले इमानदारीपूर्वक काम गर्न उनले कर्मचारीहरूलाई निर्देशन दिए ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया