भ्रष्टचारका मतियारहरु खबरदार !

समाधान संवाददाता २०८० जेठ २ गते १०:३१

पोखरा ।
भ्रष्टाचारीविरुद्ध कारबाहीको माग गर्दै पोखरामा प्रदर्शन गरिएको छ । नागरिक समाजको आह्वानमा सोमबार दिउँसो भएको प्रदर्शनका सहभागीहरुले सहिदचोकमा देशभक्तिको गीत बजाउँदै शान्तिपूर्ण धर्ना दिएका थिए ।

Advertisement

शान्तिपूर्ण धर्नामार्फत उनीहरुले राजनीतिक हस्तक्षेप र संरक्षण हुन नदिन खबरदारी कार्यक्रम गरेका हुन् । नागरिक समाज कास्कीका पूर्व संयोजक रामबहादुर पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणले देशमा मैलाएको भ्रष्टाचार उदांगो भएको भन्दै धर्ना दिएको बताए । नेताले देशको राष्ट्रियता खोक्रो पारेको भन्दै सरकारले भ्रष्टहरुको छानबिन गरी कारबाही गर्नुपर्ने उनको भनाइ थियो ।

धर्नामा आएका सबैले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितबारे सत्यतथ्य बाहिर ल्याई दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे । उनीहरुले विभिन्न पम्लेट र ब्यानरको साथमा दबाबमूलक प्रदर्शन गरेका थिए । अभियन्ता पौडेलले भ्रष्टाचार, विभिन्न राजनीतिक चलखेल र हस्तक्षेपविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरिएको बताए ।

संदिग्धहरुको राहदानी जफत गर्न माग

‘घरघरमा भएका, पाइला पाइलामा भएको भ्रष्टाचारलाई उजागर गर्न सकेकौं भने यिनीहरुले टाटपल्टाउने छन् । यो देशलाई भड्कालोमा पार्नेछन् र हाम्रो देशको नाम मेट्नेछन,’ पौडेलले भने, ‘त्यसैले त्यस्तो हुन नदिन हामी सबै नागरिक खबरदारी अभियानमा जुट्नुपर्छ ।’

Advertisement

‘भ्रष्टाचारका मतियारहरु खबरदार’, ‘नक्कली शरणार्थी भ्रष्टाचार काण्डको विषयान्तर गर्न पाइँदैन’, ‘अभियुक्तलाई दिएको भिआइपी सुविधा खारेज गर ।’ ‘भ्रष्टका मतियारहरु खबरदार, भ्रष्ट नालायकहरु…‘यो देश तिम्रौ बिर्ता हो ?’ लगायत नाराहरू सहित सहिदचोकमा धर्ना भएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध अहिले देशैभर विरोध तथा प्रदर्शन भइरहेको छ । सोही प्रकरणको विरोधमा पोखरामा पनि सोमबार विरोध प्रदर्शन गरिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउन ८७५ जनासँग १० देखि ५० लाख रुपैयाँसम्म असुली गरेको घटना हालै सार्वजनिक भएको थियो । उक्त ठगीमा अहिलेसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वमन्त्री टोपबहादुर रायमाझी, रामशरण केसी, झापाका गोविन्द चौधरी, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप तथा बिचौलिया समूहका सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरुङ र सागर राई पक्राउ परिसकेका छन् ।

राष्ट्रिय युवा संघ नेपालले पनि सोमबार काठमाडौंमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको थियो । प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट विरोध प्रदर्शन सुरू गरिएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कारबाही गर्नुपर्ने उनीहरूको माग थियो । प्रदर्शनमा उत्रिएका विद्यार्थी तथा युवाहरूले क्यान्टोनमेन्टलगायत पुराना फाइल खोल्न पनि दबाब दिए । ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ भन्ने नाराका साथ उनीहरूले प्रदर्शन गरेका थिए ।

उता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नक्कली भुटानी शरणार्थी प्रकरणका संदिग्धहरूको राहदानी जफत गर्न सरकारसँग माग गरेको छ । रास्वपा महामन्त्री डा. मुलुक ढकालले सोमबार निकालेको विज्ञप्तिमा यो प्रकरण केवल भ्रष्टाचारको मुद्दा नभई संगठित ठगी, राज्य विरुद्ध अपराध र भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धि लगायत अन्तर्राष्ट्रिय सन्धि सम्झौता समेतको उल्लंघन भएको उल्लेख छ ।

‘भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय समुदायमा नेपाल र नेपालीको छविमा आँच पुर्याएको पनि रास्वपाले बताएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसमा संदिग्ध व्यक्तिहरुको राहदानी तत्काल जफत गरी मुलुक बाहिर जानबाट रोक्नुपर्छ ।’

तपाईको प्रतिक्रिया