सम्पादकीय: फैलिँदै मुस्ताङी सौन्दर्य

समाधान संवाददाता २०८० जेठ २ गते १२:००

मुस्ताङ र मनाङ छिमेकी जिल्ला हुन् । गण्डकी प्रदेशका यी भूभागले धेरै नेपाली र विदेशीलाई लोभ्याउने गरेका छन् । सडक सञ्जालको पहुँच र प्रचारप्रसारका कारण यो क्षेत्रमा पर्यटनको ठूलो सम्भावना छ । सुन्दर हिमाली भूभाग, अनौठो जमिन, मुक्तिनाथ, कागवेनी जस्ता धार्मिक स्थल, अनेक गुम्बा, गुफा भएको मुस्ताङ स्याउ उत्पादनमा समेत प्रख्यात छ । उत्तर दक्षिण सडक मार्ग विस्तार गरी कोरला नाका खोल्ने लक्ष्यका साथ सडक निर्माण जारी छ ।

Advertisement

केही वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ दर्शन गरेका थिए । त्यसअघि पनि भारतीय पर्यटक मनग्गे आउने मुस्ताङ मोदीको भ्रमणपछि भारतीयमाझ थप परिचित बनेको छ । सडक मार्गबाट भारतीय र नेपालीसमेत ठूलो संख्यामा यहाँ पुग्ने गरेका छन् । फरक र विशिष्ट भूगोल भएको मुस्ताङ हालै सिएनएनले सार्वजनिक गरेको रिपोर्टमा सन् २०२३ का लागि घुम्नैपर्ने उत्कृष्ट गन्तव्यमा परेको छ ।

अमेरिकी समाचार संस्था सिएनएनको रिर्पोटले सन् २०२३ मा घुम्नैपर्ने स्थानको सूचीमा नेपालको मुस्ताङ उपत्यका पनि समावेश गरेको छ । मुस्ताङ उपत्यका तिब्बतको ढोकामा छ । हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउने पुराना मार्गमध्ये कोरला पनि एक हो । तल्लो मुस्ताङमा लक्जरी खोज्नेहरूदेखि परम्परागत होटलहरु छन् ।

पदयात्राका अतिरिक्त, पुरातन गाउँ र बौद्ध गुम्बा पनि यहाँका आकर्षण हुन् । यहाँ २ हजार वर्षभन्दा पुराना बौद्ध मूर्तिकला र चित्र छन् । सिएनएनले मुस्ताङबाहेक पोल्यान्ड, कायरो, लाओस लगायतका सहरहरूलाई समेत उत्कृष्ट गन्तव्यमा सामेल गरेको छ । सिएनएनको रिपोर्टले मुस्ताङका पर्यटन व्यवसायीसहित नेपालीलाई खुसी बनाएको छ । विश्व बजारको पर्यटनमा स्थान खोज्दै पर्यटनको माध्यमबाट समृद्धिको मार्गचित्र बनाउँदै गरेको नेपालका लागि यो एउटा कोसेढुंगा हो ।

मुस्ताङ आउनेमध्ये सबैभन्दा मुक्तिनाथ दर्शनका लागि आउने गरेको छन् । मनाङ र थोरङ भन्ज्याङ हुँदै मुस्ताङ जोडिने अन्नपूर्ण फेरो पदमार्गमा रमाउने स्वदेशी र विदेशीसमेत बढ्दै छन् । विश्वकै पहिलो र पुरानो दाबी गरिएको गुम्बा लोघेकर गुम्बालाई पनि चिनाउन जरुरी छ । मुस्ताङमा ऐतिहासिक महत्व बोकेका दर्जनौं गुम्बा छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत रहेको मुस्ताङमा बर्सेनि आन्तरिक पर्यटक ५ लाख र सार्क र तेस्रो मुलुकका ६० हजार जति पर्यटक आउने गरेको बताइन्छ ।

Advertisement

कालीगण्डकी करिडोरको मनोरम दृश्य र उचाईका तालतलैयाले पनि आगन्तुकलाई लोभ्याउँछन् । तल्लो मुस्ताङमा ढुम्बाताल, सेकुङ ताल, भुतर्छो ताल र टिटी तालको पनि प्रचारप्रचार जरुरी छ । विदेशी संघ, संस्था र पर्यटकले यो क्षेत्रको प्राकृतिक सौन्दर्यको बखान त गरेकै छन् । अब हामीले पर्यटका लागि उचित पूर्वाधार र विश्व बजारसम्म प्रभावकारी प्रचारप्रचार गर्नु जरुरी छ ।

तपाईको प्रतिक्रिया