भ्रष्टाचारका जन्मजात दुश्मन मदन भण्डारी

खगराज अधिकारी २०८० जेठ ३ गते ११:१७

आजकै दिन अर्थात् जेठ ३ गते । साल भने ३० वर्षअघि । हो, २०५० साल जेठ ३ गते जननेता मदन भण्डारी पोखराबाट चितवन जाने क्रममा उहाँका अनन्य सहयोद्धा कुशल संगठक कमरेड जीवनराज आश्रितका साथमा चितवनको दासढुंगामा रहस्यमय हत्याको बाघपञ्जामा पर्नुभयो ।

Advertisement

विश्व कम्युनिस्ट आन्दोलनले धक्का खाइरहेको अवस्थामा नेपालमा काल माक्र्स जीवित छन् भन्ने कथनलाई विश्वव्यापी बनाउने नेताको हत्याको अहिलेसम्म रहस्य खुलेको छैन ।

उहाँको हत्याको खबर सुन्दाको दिन राति उहाँको डेरामा खाने चामलको जोहोसम्म रहेनछ भन्ने कुरा कार्यकर्ताले पछि थाहा पायौं । जबकी उहाँका सहयोद्धा झलनाथ खनाल कृष्णप्रसाद भट्टराईको मन्त्रिपरिषद्मा मन्त्री भइसक्नुभएको थियो । माधव नेपाल संविधान निर्माण आयोगको सदस्य हुनुहुन्थ्यो र दुवै जना शासन सत्ताको केन्द्र भागमा हुनुहुन्थ्यो । उहाँहरु औपचारिक रुपले ठाँटबाँटमा हुनु स्वाभाविकै थियो । तर जननेता मदन भण्डारी काठमाडौंका गल्लीहरुमा साइकल यात्रामा नै रमाउनुभएको थियो ।

मदन भण्डारी भइञ्जेल नेकपा (एमाले)का कुनै पनि नेताले काठमाडाैंमा घर, घडेरी जोड्ने या घर बनाउने कल्पनासमेत गरेनन्

२०४८ सालको निर्वाचनमा नेकपा (एमाले)लाई ६९ सिट जित दिलाउन सफल मदन भण्डारी सांसद भइसक्दा उहाँको अन्तिम दिनको डेराको अवस्थाले इंगित गर्दछ ।

Advertisement

जीवनशैली र आचारणमा शुद्धता नेकपा (एमाले)को आफ्नो ‘पेटेन्ट राइट’ हो तर आज मुलुक भ्रष्टाचारजन्य क्रियाकलापले आक्रान्त देखिएको छ । भ्रष्टाचार आचरणसँग सम्बन्धित विषय हो । यो अतिरिक्त आम्दानीका लागि गैरकानुनी आयको ‘ट्रयाक टु’ तर्फ हरियो घाँस देखाएर दाम्लो चुँडाल्ने प्रयत्नको अर्को रुप हो ।

हामी समाज यस्तो छ, उस्तो छ या नराम्रो छ, विकृतियुक्त छ भन्छौं । मुख्य कुरा समाज चिन्नु र चित्रण गर्नु नै महान् कार्य होइन यो त एउटा ठूलो कुरा त हुँदै हो । मुख्य कुरा यसलाई बदल्नु हो । बदल्नु भनेको सादा जीवन उच्च विचारको आदर्शमा सरल जीवन बाँचेर विलाशितालाई छाडेर श्रम र पसिनाको मूल्यलाई महान् बनाएर जीवन जिउनु हो । संसार बदल्नु छ, त सुरुआत आफैंबाट गरौं ।

जननेता मदन भण्डारी भइन्जेल नेकपा (एमाले) कुनै पनि नेताले काठमाडांैंमा घर घडेरी जोड्ने या घर बनाउने कल्पनासमेत गरेनन् । सांसद र जनप्रतिनिधिले पार्टीले तोकेको लेबी र आफ्नो तलबभत्ता काटेर पार्टी कोषमा विनागुनासो दाखिल गरे ।

मजदूर, किसान, सुकुम्बासी, विद्यार्थी÷बुद्धिजीवी निम्न व्यापारीका घर घरमा संगठन विस्तार गरे । जे पाइन्छ त्यही खाए, जे पाइनछ त्यही लगाए । नपाए भोकै बसे, फाँटेको कपडा टालेर लगाए । त्यही मूल मान्यतालाई व्यापक र विस्तार गरे । त्यही मूल्य, मान्यता, स्कुलिङ र शैलीमा हुर्के बढेका पार्टीका नेता, कार्यकर्ताहरु अहिले पनि सगौरव नेकपा (एमाले) हुनुमा खुसी व्यक्त गरिरहेका छन् ।

जनता र नेतावीचको सम्बन्ध पानी र माछाबीचको सम्बन्ध जस्तै हो । जनतालाई आदेश फर्माउने काम जनयुद्धमा गरियो ।

जनतालाई वास्तवमा बल प्रयोग गरेर आफ्नो आदेश मान्नैपर्ने बनाइयो । त्यो जनशैली होइन । जनशैलीबाट अलग्गिने छुट कम्युनिस्टहरुलाई हुँदैन, हुनु हुँदैन ।

ठूलो घर, ठूलो कार, छोराछोरी महँगा निजी र विदेशी मुलुकहरुमा पढाउने रहर जाग्नु स्वयं आफैंमा समाज बदल्न होइन । आफू उल्टो दिशामा बदलिनुहुन्छ । पुँजीवादी रंगीन दुनियाँको भुलभुलैयामा भुल्दा लाभका पद आफू र आफ्नाका लागि बनाउने खेल र रोज्ने प्रवृत्ति हावी हुन सक्छ । यसले जनताका साथीहरु विस्तारै जनताको सेता हात्तीमा परिणत हुने गम्भीर खतरा पैदा हुन्छ ।

यस्ता प्रवृत्तिले, जीवनशैलीले समाज बदल्न सक्तदैनन् । समाजमा विकृति र विसंगति ल्याउन सक्छन् ।

त्यो कुरामा जननेता मदन भण्डारी र जीवराज आश्रित आदर्श हुनुहुन्थ्यो र रोल मोडल हुनुहुन्थ्यो । उहाँहरुले पार्टीलाई त्यही हिसाबले हाँक्नुभयो, निर्माण गर्नुभयो । सदाचारको पर्याय नेकपा (एमाले) लाई बनाउनुभयो । नेकपा (एमाले) आज विचार, जीवनशैली र व्यवहारको शिखरमा रहिरहनुमा उहाँहरुको मूल्यवान् योगदान छन् ।

आज विश्व व्यवस्था र शक्ति सन्तुलनमा आएका फेरबदलले गर्दा नेपाल एउटा ‘बफर जोनमा’ छ । यहाँ दल र तिनका नेताहरुप्रति घृणा फैलाउँदै ०६२/६३ पछि परिवर्तनलाई अपव्याख्या गर्ने कोसिस भएको छ । धमिलो पानीमा माछा मार्ने कोसिस भइरहेका छन् ।

आफूलाई सत्ता र लोकतन्त्रको मसिहा ठान्ने दलहरुले लोकतन्त्रको भाष्य परिर्वतन गर्न खोजेका छन् । भ्रष्टाचारको कैद भुक्तान गरेर जेलबाट निस्किएका, दुराचारको कैद भुक्ता नगरेर आउनेहरुलाई २० किलोको माला लगाइदिने, मदन भण्डारीको हत्या आशंकामा गिरफ्तार भएका स्थापित पार्टीका मूल नेता जेलको गेटमै गएर अभिनन्दन गर्ने जस्ता विकृतजन्य व्यवहारले गर्दा आम जनसमुदायको मानसपटलमा फरक र घृणायुक्त धारणा बन्न मद्दत पुग्यो । यसलाई भजाएर देश निर्माणमा लागेका आम कार्यकर्तालाई बद्नाम गर्न खोजियो ।

हुन तः स्वयं नेता, कार्यकर्ताका ऐयासी जीवनशैली, आचरण र व्यवहार पनि कम आलोच्य छैनन् । न्याय निरुपणको अन्तिम किनारा हुँदा के फैसला हुन्छ ? हेर्न बाँकी छ तर पछिल्लो सनसनीपूर्ण केसले हामी सबैलाई दुखितः तुल्याएको छ ।
स्वयं राष्ट्रिय स्वाभिमान अझ सगरमाथाभन्दा अग्लो पारिरहेका नेपालीलाई ‘नक्कली भुटानी शरणार्थी’ बनाएर अमेरिका पठाउने या भनौं बेच्ने र बेचिने दुवैमा आएको स्खलनले हामीलाई निहुँरिन बाध्य बनाएको छ । यो सबै त्यही ऐयासी जीवनको छुद्र स्वार्थको ऐजुरु पलाएर हो ।

मलाई सम्झना छ, गृह मन्त्रालय सम्हाल्दा सुराकी वापतको लेखा नराखी दैनिक ५० हजार गृहमन्त्रीले खर्च गर्न पाउने चेक गृह मन्त्रालयका लेखा नियन्त्रकले मसँग आउँदा मदन भण्डारी र जीवराज आश्रितको आदर्शले ओतप्रोत एउटा कार्यकर्ता मैले लिन इन्कार गरेँ ।

सम्भवतः त्यति वेलासम्मका गृहमन्त्री जसले सुराकी वापतको रकम लिएन, त्यो म नै थिएँ । मैले मेरो आत्मप्रशंसा गर्न खोजेको होइन कि हामी हाम्रो भूमिगत जीवन, राजनीतिक पेन्सन पजेरो काण्ड, सांसद मन्त्री बैंकक काण्ड जस्ता काण्डले विगतको विरासतलाई चुनौती दिएको कुरा हामी कहिल्यै बिर्सन सक्दैनौं ।

स्वयं मदन भण्डारीका हामी जस्ता दर्जनौं कार्यकर्तालाई पेन्सन, पजेरो, सुत्केरी भत्ता काण्डले छुन सकेन । अब पनि सक्दैन । तर धेरै कन्फ्युजन छन् । केही व्यक्तिका व्यक्तिगत हर्कतले हामीलाई गम्भीर बनाएको छ । पार्टीमा संधै ‘शुद्धीकरणको अभियान’ चलाएर केही खराबी छन् भने तिनलाई समाप्त पार्नै पर्दछ ।

आज मदन भण्डारी जीवितै हुनुभएको भए, अवश्य पनि नेकपा (एमाले) अझै उचाईमा पुग्थ्यो । सत्ताका लागि सिद्धान्तहीन तर आर्थिक स्वार्थको अवैचारिक गठबन्धनको बाढी चलेको बेला हामी सबै हावाहुरी चल्दा डाँडाको चुचुरोमा अविचलित सतिसाल बन्न सक्दछौं, बनौं । भ्रष्टाचारी कोही आफ्नो हुँदैन । निर्ममतापूर्वक भ्रष्टाचार विरुद्ध प्रस्तुत होऔं । आदर्श नेता मदन भण्डारी र जीवराज आश्रितलाई श्रद्धाञ्जली दिएको सार्थकता यसैमा छ ।

गण्डकीका पूर्वमुख्यमन्त्री अधिकारी नेकपा एमालेको संगठन विभाग प्रमुख हुन्

तपाईको प्रतिक्रिया