मुस्ताङ–पोखरा भाडा सस्तियो

समाधान संवाददाता २०८० जेठ ३ गते २०:५४

जोमसोम ।
मुस्ताङ रुटमा चल्ने लामो दूरीका सवारी साधनमा बिहीबारदेखि नयाँ भाडादर लागू भएको छ । समायोजन गरिएको भाडादर कायम गर्न यातायात व्यवसायी तथा यातायात व्यवसायीका प्रतिनिधि सहमत भएका हुन् ।


जिल्लामा लामो दूरीका सवारी साधनमा भाडादर महंगो भएको गुनासो सेवाग्राहीले गरेपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले भाडादर घटाउन पहल गरेको हो । बुधबार सिडिओ अनुप केसीको रोहबरमा यातायात व्यवसायी, सुरक्षा निकाय, जनप्रतिनिधि, राजनीतिक दलकका प्रतिनिधि र पत्रकार सम्मिलित बैठकले जोमसोम पोखराको भाडामा २० प्रतिशत र जोमसोम काठमाडौंको गाडीभाडामा १३ दशमलव ०४ प्रतिशत भाडा घटाएको हो ।


अब जोमसोम पोखराको भाडादर १ हजार २ सय र जोमसोम काठमाडौंको २ हजार कायम भएको छ । यसअघि जोमसोम पोखरा यात्राका लागि १ हजार ५ सय भाडा लाग्थ्यो । यस्तै, जोमसोम काठमाडौं रुटमा यात्रुले २ हजार ३ सय भाडा तिर्नुपथ्र्याे ।
सिडिओ केसीले भौगोलिक विकटता, यातायात व्यवसायीका समस्या र चुनौतीलाई मध्यनजर गर्दै नयाँ भाडादर समायोजन भएको उल्लेख गरे । बैठकले जोमसोम काठमाडौं र जोमसोम—पोखराबीचको स्थानमा यात्रा गर्ने यात्रुहरुका लागि घटाइएको भाडाको अनुपातमा चाँडै भाडादर निर्धारण गरिने सहमति गरेको छ ।

Advertisement


मुस्ताङ रुटमा चल्ने ४ समितिका सवारी धनी र समितिका प्रतिनिधिले आफ्ना समस्या प्रशासनसमक्ष राखेका थिए । उनीहरुले व्यक्तिगत रुपमा प्रयोग हुने रातो प्लेटका सवारी साधनले यात्रु ओसारपोसार गरेको गुनासो गरेका थिए । उनीहरुले मुस्ताङ भित्रिने रातो प्लेट र नगर बसलाई अनुगमन गर्न प्रशासन र प्रहरीलाई अनुरोध गरे ।


केही दिनभित्रै जिप र ट्याक्सीहरुको पनि भाडादर समायोजन गर्ने तयारी छ । बैठकमा यात्रु बुकिङका लागि बिचौलियाले लिने कमिसनमा कडाइका साथ निगरानी गरिने प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए । मुस्ताङमा घोडाघोडी यातायात प्रालि, म्याग्दी कोरला यातायात प्रालि, धौलागिरी पृथ्वी यातायात प्रालि र मुस्ताङ मुक्तिनाथ यातायात प्रालिले लामो दूरीका यातायात चलाएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया