साना योजना नबनाउन मुख्यमन्त्री पाण्डेलाई आग्रह

समाधान संवाददाता २०८० जेठ ७ गते १०:५१

पोखरा ।
गाउँपालिका महासंघ गण्डकी प्रदेश समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई खुद्रा बजेट बनाउन आग्रह गरेको छ । महासंघले मुख्यमन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै साना आयोजनाले नतिजा निकाल्न नसकिएको भन्दै ठूला आयोजनामा जोड दिन आग्रह गरेको हो ।

Advertisement

‘स–साना आयोजना तथा कार्यक्रममा बजेट पठाउँदा कार्यान्वयनमा दोहोरोपना आउने, व्यवस्थापन लागत बढी लाग्ने र अनुगमन तथा सुपरीवेक्षणमा समेत समस्या परेको छ । प्रदेश सरकारबाट विनियोजन गर्ने विकास आयोजनाहरुलाई खुद्रा रूपमा नभई ठूला आयोजनामा मात्र जोड दिन आग्रह गर्दछौं । साथै, योजना बैंक बनाई तल्लो तहबाट माग भई आएको योजना प्राथमिकतामा राख्न प्रदेश सरकारको ध्यानाकर्षण गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ ।

प्रदेशले सुरु गरेर अधुरा रहेका आयोजना पूरा गरेरमात्रै अरु आयोजनामा लगानी गर्न महासंघको माग छ । ज्ञापनपत्रमा भनिएको छ, ‘प्रदेश सरकारबाट सुरु गरिएका अधुरा आयोजना पूरा गरेर मात्र अन्य आयोजनामा लगानी गर्नुपर्छ । प्रदेश सरकारले सञ्चालन गर्ने आयोजना तथा कार्यक्रम कम्तीमा प्रदेशको गौरव र समग्र विकासमा योगदान पुग्ने प्रकारका हुनुपर्यो ।’

Advertisement

प्रदेशले पालिकालाई दिने समपुरक कोषको आकार बढाउनुपर्ने, सशर्त अनुदानभन्दा समानीकरण अनुदानमा ध्यान दिनुपर्ने, स्थानीय सरकारको कानुन निर्माण गर्दा पालिकासँग समन्वय गर्नुपर्ने माग गरिएको छ । महासंघका गण्डकी अध्यक्ष नवराज ओझा, सचिव जोकलाल बुढा, सहसचिव सीता अधिकारी सहितको टोलीले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया