ढाकाकुमारको सट्टा कंसाकार सांसद बन्न बाटो खुला

समाधान संवाददाता २०८० जेठ १२ गते १२:०८

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासित सांसद ढाकाकुमार श्रेष्ठको सट्टामा पार्टीबाट सिफारिस विन्दवासिनी कंसाकारलाई सांसदको सपथ लिन बाटो खुलेको छ ।

सर्वोच्च अदालतले यसअघि कंसाकारलाई सांसद बनाउने निर्णय जहाँ पुगेको छ त्यही रोक्न आदेश गरेको थियो । बुधबार न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको इजलास पहिलाको आदेश निरन्तरता नहुने भनी निर्णय गरेको प्रवक्ता विमल पौडेलले बताएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ बाहिरिएपछि रास्वपाले छानबिन गरी ढाकाकुमारलाई हटाएको थियो । श्रेष्ठलाई सांसदबाट हटाइएको सूचना सभामुख देवराज घिमिरेले संसदमा पढेर सुनाएका थिए । त्यसपछि रास्वपाले विन्दवासिनी कंसाकारलाई उनको ठाउँमा समानुपातिक सांसद बनाएको थियो ।

Advertisement

पार्टी निर्णयविरुद्ध ढाकाकुमार सर्वाेच्च गएका थिए । कंसाकारलाई रोक्ने उक्त आदेश बुधबारको इजलासले निरन्तरता नदिएपछि कंसाकारले सांसदका रूपमा सपथ लिने बाटो खुलेको हो । रास्वपाको सिफारिसमा कंसाकारलाई निर्वाचन आयोगले सांसद निर्वाचित भएको प्रमाणपत्र दिइसकेको थियो । निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिएपनि सर्वोच्चको यसअघिको आदेशका कारण सपथ लिन पाएकी थिइनन् ।

Advertisement

तपाईको प्रतिक्रिया