
पोखरा ।
गण्डकी प्रदेश सभामा गत मंसिरमा निर्वाचित भएका ६० सांसदको कार्यकाल पुस १४ गतेबाट सुरु भयो । मंसिर पहिलो साता निर्वाचित भए पनि सपथ भएपछि मात्रै उनीहरुको कार्यकाल गणना हुन्छ । सपथसँगै कार्यकाल र पारिश्रमिक सुरुआत भए ।
कार्यकाल सुरु भएको ५ महिना अर्थात १ सय ५० दिनमा सांसदहरुले प्रदेश सभामा भने १८ दिनमात्रै बिताएका छन् । प्रदेश सभामा १८ दिन उपस्थित भई बैठक बसे पनि उनीहरुले तलब भने सबै ५ महिनाकै लिएका छन् । महिना मरेपछि तलब उनीहरुको खातामा जान्छ । बैठकको छुट्टै भत्ता हुन्छ । १८ दिनमा २४ बैठक बसेको भत्ता प्रदेश सभा सचिवालयले प्रत्येक सांसदको बैंक खातामा पठाइसकेको छ ।
प्रदेशका सांसदका लागि पारिश्रमिक र भत्ताबाहेक उनीहरुका स्वकीय सचिवका लागि पनि पारिश्रमिक दिइन्छ । घरभाडा, मर्मत, इन्धन, सञ्चार, यातायात लगायत सुविधा पनि हुन्छन् ।
तीनै शीर्षकमा प्रदेश सभा सचिवालयले सांसदका लागि अहिलेसम्म झन्डै ३ करोड रुपैयाँ भुक्तान गरिसकेको लेखा अधिकृत सूर्य अधिकारीले जानकारी दिए । सांसद, पदाधिकारी, स्वकीयको तलब भत्तामा मात्रै २ करोड ७८ लाख ३४ हजार ४ सय ६१ रुपैयाँ खर्च भएको छ । इन्धन खर्च तथा बैठक भत्तामा २ करोड ९४ लाख ८ हजार ५४२ रुपैयाँ गएको छ ।
प्रदेशसभाले सांसद र संसद पदाधिकारीको मात्रै पारिश्रमिक र सुविधा भुक्तान गर्छ । मन्त्री भएका सांसदले भने मन्त्रिपरिषदको कार्यालयले उपलब्ध गराउँछ । त्यसैले प्रदेश सभाले दिएको ३ करोड रुपैयाँमा ७ सदस्यीय मन्त्रिपरिषदका सदस्यको पारिश्रमिक र सुविधा गणना भएको छैन ।
प्रदेशसभाको मुख्य काम कानुन निर्माण हो । गण्डकी प्रदेश सभाका १८ दिनका २४ बैठकको मुख्य काम भने कानुन निर्माण नभई सरकार गठन, विघटन र फेरि गठनमै सीमित रह्यो । ५ महिनामा गण्डकीले २ सरकार पाइसकेको छ । पुस २५ गते एमाले सांसद खगराज अधिकारी नेतृत्वमा गठित सरकार वैशाख ९ मा ढल्यो ।
अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेश सभाको बहुमतले अस्वीकृत गरिदियो ।
अधिकारी सरकार ढलेपछि कांग्रेस सांसद सुरेन्द्रराज पाण्डे नेतृत्वमा गठित सरकारलाई प्रदेश सभाको वैशाख २१ गतेको बैठकले विश्वासको मत दियो । प्रदेश सभाले सुरुमा गर्नुपर्ने काम सभा सञ्चालनसम्बन्धी आफ्नै कानुन अर्थात नियमावली बनाउनुपर्ने थियो । पुस १८ गतेको पहिलो बैठकले पहिलाकै नियमावलीबाट सभा चल्ने निर्णय लियो । नयाँ नियमावलीका लागि पछि समिति गठन गरियो, तर अहिलेसम्म त्यसले सभामा प्रवेश पाएको छैन ।
कानुन निर्माण र अन्य निर्णयका लागि प्रदेश सभामा आवश्यक ‘मिनी संसद’ अर्थात संसदीय समिति अझै गठन भएका छैनन् । त्यसो त प्रदेश सभाका २ अधिवेशन भइसकेका छन् । पहिलो अधिवेशनमा पुरानै प्रदेशसभा कालीन सरकारका पालामा बनेका ऐन पारित भए ।
तत्कालीन कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले तयार पारेका गण्डकी प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाले पारित गरेको थियो ।
तत्कालीन मुख्यमन्त्री अधिकारीले बजेट रकमान्तर गरी नयाँ योजना बाँड्न ऐन नै संशोधन गर्न खोजे । प्रदेश सभाले रकमान्तर गर्न विनियोजन ऐन २०७९ र ३४ वटा ऐन संशोधन गर्ने गरी केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक फास्ट ट्र्याकबाट पारित गर्यो । अघिल्लो कार्यकालमा विवादकै कारण पास नभएको उक्त विधेयक यसपालि समितिमा छलफल नै नगरी सरकारले पास गरायो । आफूलाई समेत फाइदा हुँदा तत्कालीन प्रतिपक्ष कांग्रेस मौन बस्यो ।
प्रदेशसभा सचिवालयका सचिवको उमेर हद ६५ वर्ष पुर्याउन सबै दल एकमत भए । सचिवालयका सचिव हरिराज पोखरेल चैत ४ गते ६० वर्षे उमेर हदका कारण अवकाशमा जानेवाला थिए । तर, सबै दल मिलेर उनको जागिर थमौती गर्न ऐन नै संशोधन गरिदिए ।
केन्द्रमा गठबन्धन बदलिएपछि तत्कालीन मुख्यमन्त्री अधिकारीले सरकार जोगाउन दाउमा प्रदेश सभाको पहिलो अधिवेशन अन्त्य गरेका थिए । फागुन १८ गते गण्डकी प्रदेश सभामा प्रदेश प्रमुख पृथ्वीमान गुरुङको सम्बोधनपछि एकाएक पहिलो अधिवेशन अन्त्य भएको थियो । त्यो अधिवेशनमा १४ बैठक भएका थिए ।
गत वैशाख ९ गते तत्कालीन मुख्यमन्त्री अधिकारी विशेष अधिवेशन बोलाएर विश्वासको मतसम्बन्धी प्रस्ताव राखे । अधिकारीले विश्वासको मत पाएनन्, सरकार ढल्यो । सोही दिनमै अधिकारीले उक्त अधिवेशन अन्त्यका लागि सिफारिस गरे, प्रदेश प्रमुखले अन्त्य गरे ।
पूर्वमन्त्री अधिकारीले विश्वासको मत लिन विशेष अधिवेशनै डाकेका थिए । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले प्रदेश सभा अधिवेशन डाक्नुको मूल उद्देश्य पनि विश्वासको मत लिनु नै रह्यो । उनले वैशाख २१ गते विश्वासको मत लिन अधिवेशन आह्वानका लागि सिफारिस गरे ।
त्यसपछि प्रदेश सभाको दोस्रो(नियमित) अधिवेशनको पहिलो बैठक वैशाख २१ गते बस्यो । सोही दिन मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिए र अधिवेशन पनि अन्त्य भयो । अहिले चौथो तथा बजेट अधिवेशन जारी छ ।
जनता आमूल परिवर्तन चाहन्छन्
विन्दुकुमार थापा, उपनेता, नेपाली कांग्रेस
जनताका अपेक्षा धेरै छन् । आमूल परिवर्तन खोजिराखेका छन्, अब त्यो अनुसारको डेलिभरी दिन नसकेको हामीलाई महसुस भएको छ । पहिलो ५ वर्षको कार्यकालमा प्रदेशको जग राख्ने काम गर्यौं । ६१/६२ कानुन बनाएका छौं । प्रदेश संरचना पनि धेरै तयार भएका छन् ।
प्रदेशले रोजगारी सिर्जना गर्ने खालको योजना अगाडि बढाउनुपर्छ । आगामी वर्षदेखि जनताको मनोबल बढाउने जीवनस्तर उकास्ने खालका कार्यक्रम ल्याउनुपर्छ । विकास, निर्माणका काम र रोजगारी सिर्जना गरेर विदेशिने युवालाई रोक्ने खालका कार्यक्रम ल्याउनुपर्छ । सुशासन कायम गर्ने तथा जनताको जीवनस्तर उकास्न सबै दल मिलेर जानुपर्छ ।
प्रदेशको औचित्य पुष्टि गरौं
गोविन्दबहादुर नेपाली, सांसद, एमाले
जनताको नजिकको सरकार प्रदेश सरकार हो भन्ने पुष्टि गर्न सक्नुपर्छ । जनतामा हिसाबले पुष्टि गर्नेतर्फ हामी लागिरहेका छौं । तर, जनताले ढुक्कले विश्वास गर्ने गरी त्यो ठाउँमा पु¥याउन सकिरहेका छैनौं । त्यसको सम्पूर्ण कारण हो राजनीतिक अस्थिरता ।
राजनीतिक अस्थिरताले प्रदेशले सोचेअनुरुप उपलब्धि हासिल गर्न सकेको छैन । विडम्बना यो ५ महिना एउटै सरकारले काम गर्न पाएको भए, एउटा खालको मूल्यांकन गर्न सकिने खालको हुन्थ्यो । ५ महिनामा २ मुख्यमन्त्री बन्ने परिस्थिति बन्यो ।
खगराज अधिकारी नेतृत्वको सरकारलाई १ सय दिनको मूल्यांकन गर्ने धैर्य गठबन्धनले राखेन । अर्काे सरकार आएपछि विभागहरु बाडफाँड गरेको छ । त्यस कारण राजनीतिक अस्थिरताले मूल्यांकन गर्न सक्ने अवस्था बनेन ।
सदस्य तथा पदाधिकारीको पारिश्रमिक १ करोड ३१ लाख ७५ हजार ५७७
अन्य सुविधा र स्वकीयको परिश्रमिक १ करोड ३४ लाख ५४ हजार ८७४
इन्धन सुविधा ३ लाख ९० हजार ८१
सभामुख उपसभामुख पारिश्रमिक ४ लाख ९६ हजार ७२७
अन्य सुविधा तथा स्वकीय सचिवको पारिश्रमिक ७ लाख ७ हजार २८३
सांसदको बैठक भत्ता ११ लाख ८४ हजार
कुल जम्मा
२ करोड ९४ लाख ८ हजार ५४२

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया