सामाजिक सुरक्षा योजनाका लागि अभियान

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदूर संगठन निजी तथा आवासीय विद्यालय महानगर कमिटीले १८ औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।
‘श्रमका सम्मान र मर्यादित काम सामाजिक सुरक्षा कार्यान्वयन हाम्रो अभियान’ भन्ने नाराका साथ भएको कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य नन्दकला नेपालीले मजदूरमैत्री कानुन निर्माणमा ध्यान दिइने बताइन् । उनले मजदूरलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेट्नुपर्ने उल्लेख गरिन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले सरकारले २०७५ मंसिर ११ गतेदेखि लागू गरेको सामाजिक सुरक्षा योजना कार्यान्वयनका लागि दबाबमूलक कार्यक्रम गरेको बताए ।
उनले श्रम ऐन तथा सामाजिक सुरक्षा योजनामा समेटिएको सवालबारे आम मजदूर जानकार हुनुपर्ने चर्चा गरे । उनले मजदुर संगठित र सचेत भएर काम गरेमात्र हक अधिकार प्राप्त गर्न सकिने उल्लेख गरे ।
संगठनका केन्द्रीय उपमहासचिव तथा गण्डकी इन्चार्ज विष्णुबहादुर पराजुलीले सार्वजनिक यातायात क्षेत्र सुधारका लागि यातायात व्यवसायी तथा मजदुरले आन्दोलन गरेको बताए ।
कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रतिनिधि परिषद्का उपप्रमुख कर्णसिंह गुरुङ, गण्डकी प्रदेश कमिटी अध्यक्ष विष्णुबहादुर केसी, पूर्व सल्लाहकार ईन्द्रबहादुर गुरुङ, गण्डकी प्रदेश कमिटी सदस्य तथा निजी तथा आवासीय विद्यालय महानगर कमिटी इन्चार्ज भीमबहादुर शाह, महानगर कमिटी अध्यक्ष रुद्रमान प्रधान, उपाध्यक्ष कृष्णप्रसाद बांस्तोला, सचिव महेन्द्रराज पराजुली, युनिप्स कास्की अध्यक्ष शान्तबहादुर गुरुङ, क्युपेक नेपाल पोखरा महानगर कमिटी अध्यक्ष सूर्यप्रसाद उपाध्याय लगायतले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा ल्याउन सके यातायात क्षेत्रमा समेत पेन्सनको व्यवस्था हुन सक्ने जनाए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले उद्घाटन गरेको कार्यक्रममा वरिष्ठ ट्राफिक प्रहरी निरीक्षक प्रविण आचार्यले ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणबारे प्रशिक्षण दिए । कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक शाहले सवारी ऐन नियमको पालना गरे ट्राफिक व्यवस्थापनमा सहज हुने बताए ।
‘सवारी चालक, पैदलयात्री लगायत सरोकारवाला सबैले सवारी ऐन नियमको पालना गरे तपाई हामी सबै सफल हुन्छौं,’ उनले भने, ‘सबै सरोकारवाला जिम्मेवारी र जवाफदेही भए सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।’ उनले यातायात मजदुर र ट्राफिक प्रहरीको कायक्षेत्र सडक भएको उल्लेख गरे । उनले ट्राफिक प्रहरीको पहिलो साथी यातायात मजदूर भएको बताए ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपमहासचिव तथा गण्डकी इन्चार्ज विष्णुबहादुर पराजुलीले ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणका लागि संगठनले ‘म जिम्मेवार यातायात मजदूर’ भन्ने सचेतनामूलक कार्यक्रम चलाएको जानकारी दिए ।
संगठनका गण्डकी प्रदेश अध्यक्ष विष्णुबहादुर केसीले संगठनले ट्राफिक प्रहरीसँग दसैं, तिहार, छठ लगायतका चाड पर्वलाई लक्षित गरेर ट्राफिक व्यवस्थापन र सडक सुरक्षाका लागि साझा प्रस्तावपत्र अनुसार काम गर्ने बताए ।
कार्यक्रममा संगठनका गण्डकी प्रदेश कमिटी उपाध्यक्ष श्यामकुमार बजगाईं, पोखरा बस महानगर कमिटी अध्यक्ष बेनीराज थिङ र सचिव किशोर घिमिरेले सवारी दुर्घटना न्यूनीकरणका लागि सक्रियतापूर्वक लाग्ने बताए । प्रशिक्षणमा पोखरा नगर बसमा कार्यरत १ सय ४ यातायात मजदूरको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया