आन्तरिक मामिला मन्त्रालय गायब भयोः खगराज

समाधान संवाददाता २०८० जेठ १५ गते १७:१३

पोखरा ।
नेपाल निजामती कर्मचारी कर्मचारी संगठन कास्कीले कर्मचारी स्मारिका राष्ट्रसेवक २०८० प्रकाशन गरेको छ । नेकपा (एमाले)का स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले स्मारिकाको बिमोचन गरे ।

Advertisement

कार्यक्रममा गण्डकीका निवर्तमान मुख्यमन्त्री अधिकारीले संघीयताको मर्मविपरीत वर्तमान सत्ता गठबन्धनले आन्तरिक मामिला मन्त्रालय गायब बनाएको बताए । ‘अहिलेको सत्ता गठबन्धनले आन्तरिक मामिला मन्त्रालय गायब बनाएको छ,’ उनले भने, ‘आन्तरिक मामिला मन्त्रालय संघीयता कार्यान्वयनको मुल मन्त्रालय हो,’ उनले भने, ‘मन्त्रालय नभएपछि शान्ति, सुरक्षा, नेपाल प्रहरीको समायोजन लगायतका काममा असर पर्छ ।’

उनले मार्मिक तथा संवेदनशील ठाउँमा प्रहार गरेपछि संघीयता बलियो नहुने तर्क गरे । अधिकारीले गण्डकी प्रदेश निजामती सेवा ऐनले श्रेणीविहीन कर्मचारीको परिकल्पना गरेको बताए ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष कोइरालाले ३ तहका कर्मचारीलाई समेट्ने गरी संघीय निजमाती ऐन जारी गर्न माग गरे । ऐन जारी गर्नका लागि सञ्चालित आन्दोलनबाट केही संगठनपछि हटे पनि संगठनको आन्दोलन जारी रहेको उनले बताए । कोइरालाले संगठनले आन्दोलनसँगै वार्ता सम्बादलाई जारी राख्ने बताए ।

उनले ७ सय ५३ पालिकामा संगठन विस्तार गरी ४० हजार सदस्यलाई प्रशिक्षण दिने उल्लेख गरे । अध्यक्ष कोइरालाले फरक फरक १ सय २४ प्रकाशनसहित केन्द्रमा पुस्तकालय स्थापना गर्न लागेको जानकारी दिए ।

Advertisement

उनले स्मारिका प्रकाशन सिर्जनात्मक तथा रचनात्मक काम भएको बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव विनोदबहादुर कुँवरले निजामती कर्मचारीले जनताको गुणस्तरी सेवा पाउने हकलाई सनिश्चित गर्नुपर्ने उल्लेख गरे । उनले विश्वका थोरै मुलुकका कर्मचारीले पाएको अधिकार नेपालका कर्मचारीले पाएको जानकारी दिए ।

उनले पेशाकर्मीको योगदानलाई कतिपय दलले अवमूल्यन गरेको आरोप लगाए । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन कास्की अध्यक्ष विष्णुदेवी पोखरेल, उपाध्यक्ष कमलबहादुर केसी, सचिव नवीनकिरण भुषाल लगायतले निजामति कर्मचारीका समस्याको बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया