रत्न मन्दिर परिसर खुला, मूल भवनको दैलो बन्दै

पोखरा ।
गणतन्त्र दिवसको दिन सोमबारदेखि पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला भएको छ । पर्यटन तथा नागरिक उडड्यन मन्त्री सूदन किराँतीले रत्न मन्दिर खुलाउने कार्यक्रमको उद्घाटन गरे । राजा महेन्द्रले रानी रत्नका लागि उपहारस्वरुप २०१५ सालमा रत्न मन्दिर बनाएका थिए ।
दरबार स्वामित्वको उक्त मन्दिर नेपालमा गणतन्त्रको स्थापनापछि नेपाल ट्रस्ट अन्तर्गत ल्याइएको थियो ।
रत्न मन्दिर खुला भएसँगै लेकसाइडमा पर्यटकीय चहलपहल बढ्ने अपेक्षा पर्यटन व्यवसायीको छ । चीनका प्रधानमन्त्री बेलायती महारानी लगायत अन्य विशिष्ट विदेशी पाहुनाको रत्नमन्दिर आगमन भएको थियो ।
भौतिक संरचना टुटफुट हुन सक्ने भएकाले केही समयपछि भिडिओ फुटेजबाटै देखाइने
राजा वीरेन्द्र रानी ऐश्वर्य र उनका परिवारहरुको निधनपछि २०६७ मंसिर २० गते नेपाल ट्रस्टको स्वामित्वमा ल्याइएको उक्त मन्दिर १ सय ७४ रोपनी ४ आना २ दाम रोपनी क्षेत्रफलमा फौलिएको छ । मन्दिरभित्र सानाठूला १० वटा भवन छन् । सर्वसाधारणका लागि प्रवेश दिएपनि मूल भवनभित्र छिर्न भने दिइने छैन ।
सर्वसाधारणलाई मन्दिरभित्र छिर्न दिँदा भौतिक संरचना टुटफुट हुनसक्ने भएकाले केही समयपछि भिडिओ फुटेजबाटै देखाउने ट्रस्ट व्यवस्थापकहरु बताउँछन् । परिसर डुल्न कुनै रोकतोक हुने छैन । भवनभित्र प्रवेश गर्न पाइने छैन ।
संघीय पर्यटन मन्त्री सुदन किराँतीले रत्न मन्दिर खुल्नु ठूलो कुरा नभएको बताए । उनले मन्दिरलाई रेखदेख र संरक्षण ठूलो कुरा भएको उल्लेख गरे । उनले भने, ‘नेपालका राजाले ६०÷७० वर्षअघि पोखरा घुम्दा बनाएको दरबार जोगाएर पर्यटक तान्न सक्नुपर्छ ।
यसको रेखदेखमा हामी लाग्नुपर्छ । दरबार परिसर डुल्न नेपालीले एक सय रुपैयाँ र विदेशीले एक हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । कार्यालयको पूर्वस्वीकृति लिएर वृत्तचित्र तथा भिडियोग्राफी वापत प्रतिघण्टा ५ हजार र व्यावसायिक भिडियोग्राफी वापत प्रतिघण्टा १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
रत्न मन्दिरको मूल भवनभित्र बैठक कक्ष, राजारानीको शयन कक्ष, शाही नातेदारले प्रयोग गर्ने शयन कक्ष, डाइनिङ कक्षलगायत ११ कोठा छन् । मन्दिर परिसरबाट फेवाताल, रानीवन र माथि विश्वशान्ति स्तूप, पुम्दीकोटलगायत दृश्यावलोकन गर्न सकिन्छ ।
कार्यक्रममा मन्त्री किरातीले गणतन्त्रको उपहारस्वरुप रत्नमन्दिर सर्वसाधारणका लागि खुला गरिएको बताए । विसं २०१३ मा निर्मित यो सम्पदालाई तत्कालीन समयको समाजसँग तुलना गरेर हेर्नुपर्ने उनको भनाइ थियो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्दा निराशा छाएको जनाउँदै उहाँले यसका लागि कूटनीतिकस्तरमा छलफल चलिरहेको बताए ।
चीनका सहरमा चाटर्ड उडान सुरु गर्ने तयारी भइरहेको जनाउँदै उनले पोखरामा चीन र भारतका सहरबाट सिधा उडान गरी विमानस्थलको सदुपयोग गर्नुपर्ने बताए । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले यस ऐतिहासिक सम्पदाको संरक्षणसँगै व्यवस्थित सञ्चालनका लागि पोखरा महानगरपालिकालाई जिम्मा दिनुपर्ने आवश्यकता औंल्याए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रत्मन्दिर खुला गरिनुले पोखराको पर्यटनमा थप टेवा पुगेको सुनाए । रत्नमन्दिर परिसर अवलोकनका लागि प्रत्येक हप्ताको सोमबारबाहेक बिहान १० देखि साँझ ५ बजेसम्म समय निर्धारण गरिएको छ । आइतबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म खुला रहने व्यवस्था मिलाइएको छ ।
रत्नमन्दिर खुला हुनुले पोखरामा थप पर्यटकीय गतिविधि बढ्ने र उनीहरूको बसाइ लम्ब्याउन योगदान पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । ‘रत्नमन्दिर खुलेसँगै आगामी दिनमा यो ऐतिहासिक सम्पदा हेर्न देशका विभिन्न स्थानबाट पर्यटक आउनेछन्, यसले पोखरामा पर्यटकको आगमन बढाउनसमेत महत्वपूर्ण योगदान गर्नेछ,’ उनले भने ।
तपाईको प्रतिक्रिया