कृषि र पर्यटन लक्षित सहकारी खुल्यो

पोखरा ।
पोखरा १७ मा नयाँ सहकारी स्थापना भएको छ । कृषि तथा भूमी व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले सोमबार पोखरा कृषि पर्यटन सहकारी संस्थाको औपचारिक सुरुआत गरे ।
पोखराको विरौटाचोकमा कार्यालय रहेको यो सहकारीमा १ सय ६८ सेयर सदस्य छन् । २ करोड ७८ लाख ७५ हजार सेयर पुँजी रहेको व्यवस्थापक देवी थापा खत्रीले जानकारी दिइन् ।
मन्त्री जिसीले कृषि र पर्यटन क्षेत्रलाईसँगसँगै अगाडि बढाएर लगानी मैत्री वातावरण सृजना गर्नुपर्नेमा जोड दिए । उनले प्रदेश सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई कानुनमार्फत नियमन गर्ने प्रतिवद्धता जनाए ।
सहकारीले महिलामा शिक्षा, उद्दमशीलताका क्षेत्रमा सकारात्मक परिवर्तन भएको भन्दै यसलाई दिगो बनाईराख्न सरकार सकारात्मक रहेको उल्लेख गरे । सहकारीका क्षेत्रमा पछिल्लो समय ठगी खाने गिरोह सक्रिय रहेको भन्दै जिसीले त्यो गिरोह नियन्त्रण गर्न सरकारलाई आवश्यक सुझाव दिन आग्रह गरे ।
सहकारीका अध्यक्ष दुर्गाकुमारी आचार्यले कृषि र पर्यटन क्षेत्रलाई आधार बनाएर स्थापना भएको सहकारी गण्डकी प्रदेशकै पहिलो भएको दावी गरिन् । उनले विषम परिस्थितिमा स्थापित यो सहकारीले सेयर सदस्यको लगानी सुरक्षित गर्ने हिसाबले जोखिमयुक्त क्षेत्रमा लगानीलाई निरुत्साहित गर्ने प्रतिवद्धता गरिन् ।
सहकारी अध्यक्ष समाज (कोप्स)का अध्यक्ष डिल्लीराम बराल, गोल्डेन बचत तथा ऋण सहकारी अध्यक्ष बालकृष्ण बराल, नीलगिरि बचत तथा ऋण सहकारी संस्थाका लेखनाथ बराल, अग्रसर बचत तथा ऋण सहकारी संस्थाका सचिव कमला शर्मा, जिल्ला सहकारी संघ कास्की सदस्य विना लोहनी, मुक्तिनाथ विकास बैंक बिरौटाका शाखा प्रमुख डम्बरबहादुर कार्की, सल्लाहकार संयोजक परमेश्वर आचार्य, उपाध्यक्ष राजकुमार लामिछाने र सहसचिव सावित्रा पौडेल, सेयर सदस्य सीता काफ्ले, कृष्णमुरारी आचार्य, नगेन्द्र शर्मा, सञ्चालक सदस्य रेखादेवी शर्मा लगायतले बोलेका थिए ।
वत्ताहरुले सहकारीमा राम्रो व्यवस्थापन गर्न र उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गरे । सहकारी संस्थाहरुको चेकले सरकारी मान्यता प्राप्त गर्न अझै नसकेको भन्दै यसमा सहजीकरण गरिदिन उनीहरुले आग्रह गरे ।
तपाईको प्रतिक्रिया