‘जीवन सादा, तनाव आधा’

समाधान संवाददाता २०८० जेठ १६ गते १२:३३

पोखरा ।
‘मानिस जुनसुकै व्यवसायमा भए पनि चाहिने भनेको शान्ति हो । तर मानिसहरु परिवारलाई समय दिन्छन्, व्यवसायलाई समय दिन्छन्, अरु थुप्रै कुरामा समय दिन्छन् । तर आफ्नै मनलाई समय दिन्नन्,’ ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालका महासचिव ब्रह्मकुमार शैलेशले भने, ‘मानिसलाई मानसिक र शारीरिक व्यस्ततासँगै सुखानुभूति चाहिन्छ, शान्ति चाहिन्छ ।’

Advertisement

स्वस्थ शरीरका लागि शुद्ध खानपिन चाहिएजस्तै शान्तिका लागि शुद्ध विचार चाहिने पनि उनले बताए । ‘शरीर निर्वाह त हामी सबैले गर्छाैं, तर आत्मनिर्वाह पनि गर्नुपर्छ ।’ ईश्वरीय विश्वविद्यालयले शान्तिका लागि राजयोग प्रशिक्षण दिँदै आएको जानकारी दिँदै आइतबारको पत्रकार सम्मेलनमा ब्रह्मकुमार शैलेशले थपे, ‘हामी विभिन्न गतिविधिका कारण डिस्चार्जको अवस्थामा पुग्छौं, विचार चार्ज गर्न हामीले समय छुट्याउनुपर्छ ।’

ब्रह्मकुमारी शोभाले श्रेष्ठ कर्मबाट शान्ति प्राप्त हुने बताइन् । ‘जति जीवन सादा, त्यति तनाव आधा,’ उनले भनिन् । जीवनलाई सकारात्मक बनाउने राजयोग प्रशिक्षण ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयमा हुँदै आएको जानकारी उनले दिइन् । विश्वविद्यालयमा आध्यामिक गणित सिकाइने उनले सुनाइन् । ‘जस्तै चिन्तन उस्तै जीवन हुन्छ,’ उनले भनिन्, ‘सकारात्मक चिन्तनले नै व्यक्तिका असल चरित्र निर्माण गर्छ ।’

Advertisement

स्नेह मिलनसहितको पत्रकार सम्मेलनमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय नेपालकी अध्यक्ष तथा निर्देशक परीणीता, ब्रह्मकुमारी पूनम, भारतबाट आएर ब्रह्मकुमार चित्तरञ्जन र नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी लगयातले अध्यात्म र शान्तिबारे धारणा राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया