गणतन्त्रको संस्थागत विकास माग्दै खबरदारी

पोखरा ।
गणतन्त्रको संस्थागत विकास सुनिश्चिताको माग गर्दै सोमबार पोखराका अधिकारकर्मीहरूले नागरिक खबरदारी गरेका छन् । शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराको आयोजनामा सहिदचोकमा भएको खबरदारी कार्यक्रमका सहभागीहरूले ‘गणतन्त्रको संस्थागत विकास गरौं,’ ‘दण्डहीनताको अन्त्य र विधिको शासन हामी सबैको चाहना,’ गणतान्त्रिक आन्दोलनका घाइतेको उपचारको ग्यारेन्टी गरियोस् लगायत नारा लेखिएका पोस्टर छातीमा टाँसेका थिए ।
कार्यक्रममा बोल्दै अग्रज मानवअधिकारवादी नेता टेकनाथ बरालले २०६२/६३ को आन्दोलन सफल पार्न नागरिक समाजको ठूलो भूमिका रहेको बताए । उनले सोही अनुसारको प्रतिफल भने प्राप्त हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । आन्दोलनका घाइतेहरू अझै पनि घाउ र पीडा बोकेर हिँडिरहेको बताए । जघन्य अपराध गर्नेलाई आममाफी दिनु जस्ता गलत कार्यले गणतन्त्र नै धरापमा परेको उनको भनाइ थियो ।
सञ्जालका संयोजक विना सिलवालले राज्य संयन्त्र नागरिकप्रति जवाफदेही नभएको भन्दै देशमा भ्रष्टाचार, महँगी दिनानुदिन बढ्दै गएको बताइन् । खुुसीले मनाउनुपर्ने दिवस गुनासोकाबिच मनाइहनुपरेको उनको भनाइ छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीका संयोजक शिव खकुरेलले गणतन्त्र ल्याउन आन्दोलन गर्दैगर्दा गणतन्त्र पश्चात देशमा सुशासन कायम हुनेछ भन्ने आम नागरिकको भावनामाथि कुठाराघात भएको बताए ।
जनआन्दोलन सहिद परिवार तथा घाइते समन्वय समिति कास्कीका अध्यक्ष शेखर गौतमले अपराधीलाई आममाफी दिने प्रपञ्चमा दलहरू लाग्नु लोकतन्त्र र गणतन्त्रमाथिकै प्रहार भएको बताए । घाइतेहरूको उपचारका लागि प्रदेश सरकारसँग बारम्बार गुनासो गर्दा समेत कुनै सुनुवाइ नभएको उनले गुनासो गरे ।
शिक्षा, स्वास्थ्य र रोजगारीसँग सम्बन्धित माग सरकारले पूरा गर्नुपर्ने उनले बताए ।
गैरसरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले गणतन्त्र स्थापनाको डेढ दशक बितिसक्दा समेत नागरिकले त्यसको अनुभूति गर्न नपाएको बताए । नागरिकका अधिकार संकुचित हुँदैै गएको उनको भनाइ छ । हत्यारालाई आममाफी दिनु, दण्डहीनता मौलाउँदै जानुले गणतन्त्र नै धरापमा परेको उनको भनाइ थियो ।
तपाईको प्रतिक्रिया