पोखरामा सिन्धुली उद्योग वाणिज्य संघको टोली

समाधान संवाददाता २०८० जेठ १६ गते १४:२६

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले निजी क्षेत्रको गिर्दो मनोबल बढाउन सरकारसँग आग्रह गरेका छन् । देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उद्योगी/व्यवसायीक समस्याबारे राज्य उदासिन बनेको उनको गुनासो छ ।

Advertisement

अध्यक्ष प्रजापती अध्ययन अवलोकन भ्रमणमा आएको सिन्धुली उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डलको स्वागतका लागि सोमबार पोखरामा आयोजित छलफल कार्यक्रममा बोल्दै थिए । ‘बैंकको ब्याजदरले प्रताडित बनेका छौँ, लगानी गरेका छौँ तर दैनिक खर्च धान्न मुस्किल छ, राेजगारी र अर्थतन्त्रमा ठूलो योगदान दिने निजी क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिनुपर्छ,’ उनले भने ।

अध्यक्ष प्रजापतिले निजी क्षेत्रको एकतामा जोड दिँदै मोफसलमा रहेका व्यवसायीका समस्या सम्बोधनका लागि क्रियाशील रहन नेपाल उद्योग वाणिज्य महासंघसँग आग्रह गरे । अध्यक्ष प्रजापतिले गण्डकी प्रदेशको सामथ्र्य बढाउन र रोजगारी सिर्जना गर्न थप लगानी आवश्यक भएको बताए ।

नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य एवं सिन्धुली उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अमरेशकुमार वैदारले महासंघको नयाँ नेतृत्व निजी क्षेत्रले भोगेका समस्या समाधानका लागि क्रियाशील रहेको उल्लेख गरे ।

सिन्धुली उद्योग वाणिज्य संघका अधयक्ष अर्जुनकुमार श्रेष्ठले मोफलसका व्यवसायीमाथि आइपर्ने झन्झट र समस्या एकैखालका भएको बताए । सिन्धुली उद्योग वाणिज्य संघले एक गाउँ एक उत्पादन कार्यक्रमअन्तर्गत जुनार खेती विकासको लागि विशेष भूमिका निर्वाह गरेको बताउँदै उनले सरकारले निजी क्षेत्रलाई सँगै लिएर हिँड्दामात्र आर्थिक समृद्धिको लक्ष्य प्राप्त हुने जिकिर गरे ।

Advertisement

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य संघले आफ्ना सदस्यको क्षमता अभिवृद्धिका लागि गरेका कामको फेहरिस्त प्रस्तुत गरे ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्य र उपमहासचिव शोभा गौतम, संघका वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्य, सिन्धुलीको तर्फबाट वरिष्ठ उपाध्यक्ष वीरबल चौधरी, महासचिव रामकुमार राजभण्डारी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया