सबै संरचनालाई अपांगमैत्री बनाउन माग

समाधान संवाददाता २०८० जेठ १६ गते १७:१८

पोखरा ।
अपांगता भएको व्यक्तिको पुनस्थापना तथा विकासमा क्रियाशिल अपांगता स्वावलम्बन विकास संघ (डिडा) नेपालले सेवा संरचना र प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न सरोकारवालाहरुको लागि अभिमुखीकरण कार्यक्रम गरेको छ ।

Advertisement

कार्यक्रममा स्वावलम्बन जीवन पद्धती केन्द्र ललितपुरका महासचिव कृष्ण गौतमले विश्वव्यापी मान्यता अनुसार सबैको सहज पहुँच पुग्ने गरी संरचना निर्माण तथा प्रणालीको विकास गर्नु पर्ने बताए । उनले नेपालको सेवा संरचना र प्रणाली विश्वव्यापी मान्यता अनुसार नभएको कारण अपांगता भएको व्यक्तिले विभेद सहनु परेको जानकारी दिए ।

उनले राज्यका सबै निकायले अपांगता भएका व्यक्तिहरुको लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ अनुसार काम गर्न आग्रह गरे । उनले अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी २००६लाई अनुमोदन गरेको अवस्थामा विश्वव्यापी मापदण्ड अनुसारको सडक पूर्वाधार बनाउनु पर्ने प्रस्ताव गरे ।

‘सबै संघ संस्था तथा निकायको लेखा परीक्षणलाई अनिवार्य गरे जस्तै अपांगता भएका व्यक्तिको समस्या पहिचान गर्न पहुँचयुक्तता परीक्षणलाई अनिवार्य गर्नु पर्छ,’उनले भने, ‘काठमाडौ ललितपुरमा पहुँचयुक्तता परीक्षण सुरुवात भएको छ । त्यसलाई देशव्यापी बनाउनु पर्छ ।’ महासचिव गौतमले फुटपाथ,सडक, भवन तथा कार्यालय, सार्वजनिक शौचालय तथा स्नानघर, एटिम बुथलाई सबैको लागि पहुँचयुक्त बनाउनु पर्ने बताए ।

सार्वजनिक धारा र बेसिन सबैको लागि सहज हुनु पर्ने उल्लेख गर्दै उनले बसपार्क र बस स्टपको स्टाण्डर मेन्टेन गर्नु पर्ने प्रस्ताव गरे । सडक पार गर्न बनाइएको आकासे पुलमा दृष्टिविहीनको लागि ट्रयाक टायल राखी दिशा निर्देश गर्नु पर्ने उल्लेख गर्दै उनले ध्वनी सहितको ट्राफिक लाइट राख्नु पर्ने जानकारी दिए । उनले बस स्टपमा ह्वील चियर राखेर प्रतिक्षा गर्ने स्थान छुट्टाउन माग गरे ।

Advertisement

गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदीले सबै कार्यविधि तथा निर्देशिकाको पालना गरी संरचना तथा पूर्वाधारलाई सबैको पहँुचयुक्त बनाउनु पर्ने बताए । उनले पोखरा महानगरभित्र अपागंमैत्री बस सेवा सञ्चालनको लागि सहजीकरण गर्ने उल्लेख गरे । उनले प्रदेश सभाले बनाउने नियम कानुनको बारेमा अहिलेदेखि गृहकार्य गर्ने जानकारी दिए ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सचिव तुलसीप्रसाद भट्टराईले अपांगता भएका व्यक्तिलाई भन्दा सबैलाई पहुँच पुग्ने गरी सेवा संरचना तथा प्रणालीको सुधार गर्नु पर्ने चर्चा गरे । उनले अहिले भएको संरचनामा सानो रुपमा सुधार गरेपनि धेरै उपलब्धीपूर्ण हुने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पोखरा महानगरपालिकाका ईञ्जीनियर अमिर भण्डारी, इन्टरनेशनल फेलोसीप नेपाल (आइएनएफ)हरियोखर्क अस्पतालका आउटरीच म्यानेजर ताराहाङ तावा लिम्बु, आयोजक संस्था डिडाका अध्यक्ष दिपक तिमिल्सिना, निवर्तमान अध्यक्ष गिरीधारी सुवेदी, महासचिव विष्णु खनाल, बौद्धिक अपांगका अभिभावक सरला अधिकारी, मानव अधिकार आयोगका मानव अधिकार अधिकृत खिमलाल सुवेदी लगायतले सेवा संरचना र प्रणालीमा सबैको पहुँचको बारेमा बोलेका थिए ।

‘सबैको लागि मानव अधिकार, पहुँचयुक्त दिगो विकास मुल आधार’ भन्ने नाराका साथ इन्टरनेशनल फेलोसीप नेपाल (आइएनएफ) हरियोखर्क अस्पताल तथा ह्युमिडिकासँगको सहकार्यमा कार्यक्रम भएको हो ।

तपाईको प्रतिक्रिया