सामुदायिक विद्यालय सुधार गर्दै महानगर

समाधान संवाददाता २०७६ जेठ १४ गते १५:५२

विकास रोकामगर

केही वर्षअघिसम्म पोखराका सामुदायिक विद्यालयमा कालोपाटी थिए । शिक्षक हातमा चक र डस्टर समाएर कक्षामा पुग्थे र धुलो उडाउँदै विद्यार्थीलाई पढाउथे । विद्यार्थीले बोकेका हुन्थे, झोलाभरि गह्रौंगह्रौं किताबका चाङ ।

समयअनुसार शिक्षणशैली पनि फेरिएको थिएन । परम्परागत शैलीमा पाठ्यपुस्तकका अक्षर र शब्द घोक्न बाध्य थिए । सामुदायिक विद्यालयको अवस्था फेरिएन । अभिभावक र विद्यार्थी विस्तारै निजी स्कुलतिर आकर्षित हुन थाले । जसका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या वर्षैपिच्छे घट्दैघट्दै गयो ।

Advertisement

महानगरका कुल विद्यार्थीमध्ये ३५ प्रतिशत विद्यार्थीमात्रै सामुदायिक स्कुलमा अध्ययन गरिरहेको पोखरा महानगर महाशाखाले जनाएको छ । अंग्रेजी माध्यमको पढाइ र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्न नसकेकै कारण सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएको महाशाखा प्रमुख नन्दबहादुर गुरुङले जनाए ।

साना तथा ठूला गरेर निजी विद्यालय १ सय ७९ वटा र सामुदायिक विद्यालय २ सय ७ वटा रहेको महाशाखाले जानकारी दिएको छ । तर सामुदायिक विद्यालय धेरै भएर पनि विद्यार्थी संख्या कम भएको महानगरले स्वीकारेको छ ।

Advertisement

अहिले पोखरा महानगर सामुदायिक विद्यालयको स्तरोन्नति तथा शिक्षण पद्धतिलाई सुधार गर्न लागिपरेको छ । गुरुङले अधिकांश सामुदायिक विद्यालयमा अंग्रेजी पढाइसमेत सुरु गरिसकिएको जानकारी दिए । महानगरले ती सबै स्कुलमा सेतोपाटी वितरण गरेको महानगर शिक्षा शाखा प्रमुखले जनाएको छ ।

महाशाखा प्रमुख नन्दबहादुर गुरुङले चालु शैक्षिक वर्षमा सबै विद्यालयलाई सेतोपाटी (ह्वाइटबोर्ड) वितरण गरिएको जानकारी दिए । उनले भने, ‘कक्षा कोठालाई कालोपाटी र धुलोमैलोमुक्त बनाउने अभियान अन्तर्गत सेतोपाटी वितरण गरेका हौं ।’ उनले यही शैक्षिक वर्षमा ४२ लाखको टेन्डरद्वारा ह्वाइट बोर्ड वितरण गरिएको जनाए ।

महानगरले सामुदायिक विद्यालयको स्तारोन्नति तथा शिकाइ पद्धतिलाई उपलब्धीमूलक बनाउन प्रविधिमैत्री बनाउन समेत अभियान थालेको छ । यही अभियान अन्तर्गत चालु शैक्षिक वर्षमा ५ वटा सामुदायिक स्कुललाई पूर्ण प्रविधिमैत्री स्कुल बनाएको शाखाले जानकारी दिएको छ । प्रविधिमैत्री स्कुलमा शितलदेवी स्कुल, गोकर्ण मावि, जनप्रकाश मावि, श्री कृष्ण मावि र भद्रकाली मावि छन् ।

ती विद्यालयलाई प्रविधिमैत्री बनाउन महानगरले प्रतिविद्यालय १८ लाखका दरले सहयोग गरेको गुरुङले जानकारी दिए । ‘महानगरले १८ लाख सहयोग गरेको छ । बाँकी शिक्षकदेखि आवश्यक पर्ने सम्पूर्ण प्रविधि विद्यालयले नै जुटाएको हो,’ उनले भने, ‘विद्यालय प्रविधिमैत्री बनेपछि विद्यार्थी, विद्यालय र अभिभावकसमेत खुसी छन् ।’ प्रविधिमैत्री शिक्षक र तालिमसमेत विद्यालयले नै व्यवस्था गरेको उनले सुनाए ।

प्रविधिमैत्री विद्यालयमा विद्यार्थीले पाठ्यपुस्तक बाहेकका अन्य जानकारी तथा खोजमुलक विषयवस्तु अध्ययन गर्न पाउने गुरुङको विश्वास छ । उनले भने,‘पहिले पाठ्यपुस्तकबाटमात्रै विद्यार्थीले पढ्ने र तयही कुरामात्रै जान्ने हुन्थ्यो । जसले गर्दा उनीहरुलाई बाहय कुरामा जानकारी हुँदैन थियो । तर अब उनीहरुले सबै कुरा इमेल इन्टरनेटको प्रयोग गरी आफैं खोजेर हेर्न पाउने भएका छन् ।’

विद्यालयमा मल्टिमिडिया माध्यमबाट पढाइ हुन थालेपछि विद्यार्थी पनि खुसी छन् । शितलादेवी मावि कक्षा ९ का विद्यार्थी मिलन गुरुङले कम्प्युटरका माध्यमबाट पढ्न पाएपछि आफूहरुलाई पनि धेरै सजिलो भएको प्रतिक्रिया दिए । उनले भने, ‘इमेल इन्टरनेटको सुविधा हुन्छ । त्यति भएपछि कन्फ्युज भएका कुरा हामी आफैं नेटमा खोजेर हेर्न सक्ने भएका छौं ।’

तपाईको प्रतिक्रिया