मुस्ताङमा दोश्रो प्रदेश स्तरीय ‘तारा’ प्रतियोगिता सुरु

समाधान संवाददाता २०८० जेठ १७ गते १२:२५
फाईल फोटो

जोमसोम—मुस्ताङको थासाङ—३ लेतेमा बुधबारदेखि दुईदिने दोश्रो प्रदेश स्तरीय ‘तारा’खेल प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा निर्मल स्पोर्टिङ क्लव लेते र जिल्ला खेलकुद विकास समिति मुस्ताङको समन्वयमा प्रतियोगिता आयोजना गरिएको हो ।
सदिंयौदेखि हिमाली क्षेत्रका बासिन्दाले परम्परागत रुपमा खेल्दै आईरहेको ‘तारा’ खेल लोपोन्मुख अवस्थामा रहेको भन्दै यसको संरक्षण,विकास र प्रर्वद्धन गर्ने उद्देश्यले प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेश अन्तर जिल्ला ‘तारा’खेल प्रतियोगिता आयोजना गरेको जनाएको छ ।
थासाङको लेते समाजघरमा संञ्चालन हुन गईरहेको तारा खेल प्रतियोगिताका लागि ५ वटा जिल्लाको सहभागीता रहने जिल्ला खेलकुद विकास समितिका सचिव सुमन थकालीले जानकारी दिए । उनका अनुसार प्रदेश स्तरीय ‘तारा’खेल प्रतियोगितामा पर्वत,कास्की,बाग्लुङ,म्याग्दी र मुस्ताङका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता आयोजक मुस्ताङको दुई टिम र अन्य जिल्लाका एक÷एक टिम गरी कुल ६ टिमको सहभागीता रहने जिल्ला खेलकुद विकास समितिका सचिव थकालीले बताए ।प्रतियोगिताका लागि हिमाली जिल्ला मनाङबाट पनि खेलाडी आउने जनाईपनि प्राविधिक कारणले मनाङका खेलाडीहरु मुस्ताङ आउन नसकेको उनले उल्लेख गरे ।


मुस्ताङमा आयोजित तारा खेल प्रतियोगितामा सहभागी हुन गण्डकी प्रदेश अन्तर्गत मुस्ताङ बाहिरका खेलाडीहरु मंगलबारनै मुस्ताङको लेते आईपुगेको निर्मल स्पोर्टिङ क्लवका अध्यक्ष महेन्द्र गौचनले जानकारी दिए । प्रदेश स्तरीय तारा खेलको उद्घाटन कार्यक्रम अघि थासाङको लेतेमा बाँजागाजासहित आयोजक प्रदेश खेलकुद परिषदका पदाधिकारी,खेलाडी,अफिसियल,क्लव,स्थानीयबासी,शिक्षक,कर्मचारी र सुरक्षाकर्मी लगायतको टोलीले मार्चपास गरेको थियो ।मार्चपास कार्यक्रममा संघीय प्रतिनिधिसभा सदस्य यौगेश गौचन थकाली पनि सहभागी थिए ।


प्रतियोगिताको संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले भव्य समारोहका दोश्रो परम्परागत तारा खेल प्रतियोगिताको उद्घाटन गरे ।संघीय सांसद थकालीले सदिंयौदेखिको कलासंस्कृति र मौलिकतालाई संरक्षण,संम्वद्धन गर्नुपर्ने बताए । ‘हिमाली क्षेत्रको पहिचान भनेकै तारा खेल हो, यो पहिचान लोप हुनु हुँदैन, संघीय सांसद थकालीले भने, कला संस्कृति र मौलिकता संकटमा प¥यो भने पहिचाननै गुम्नसक्छ, यसले पहिचान संरक्षण गर्ने कुरामा आफु सदैव सकारात्मक रहने छु ।’

Advertisement


सांसद थकालीले मुस्ताङमा पर्वतीय खेलको प्रचुर संम्भावना रहेको र यसको पूर्वाधार विकासमा आफुले निरन्तर पहल गर्ने प्रतिवद्धता जनाए । मुस्ताङ जिल्ला प्राकृतिक र धार्मिक रुपमा मात्र नभई पर्वतीय खेलका माध्यबाट पनि पर्यटन प्रर्वद्धन गर्न सकिने भएकाले यसतर्फ तीन तहको सरकारले चाँसो दिन आवश्यक रहेको सांसद थकालीको भनाई छ । कार्यक्रममा विभिन्न वत्ताहरुले तारा खेलको ऐतिहाँसिकता र खेलकुदको विकासका पक्षमा धारणा व्यक्त गरे ।


मुस्ताङमा आयोजित दोश्रो प्रदेश स्तरीय तारा खेल प्रतियोगितामा प्रत्येक टिमबाट ५÷५ जना खेलाडी रहने छन भने एक जना वैकल्पिक खेलाडी राख्न पाउँने व्यवस्था गरिएको छ ।कुल १० डोरमा संञ्चालन हुँने प्रतियोगितामा प्रत्येक टिमका ५ खेलाडीले दाँयाबाँया गरी १०० पटक तारो प्रवाह गर्नेछन् । कुल पूर्णाङ्क १०० मा सबैभन्दा बढी अंक प्राप्त गर्ने टिम दोश्रो प्रदेश स्तरीय तारा प्रतियोगिताको च्याम्पियन बन्नेछ ।

Advertisement


प्रतियोगिताको च्याम्पियनले नगद ७५ हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउँने छ ।द्धितीय र तृतीय हुने टिमले नगद ५० हजार ३० हजारसहित मेडल,ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिने आयोजकले बताएको छ ।
यसअघि प्रदेश खेलकुद परिषदले प्रथम प्रदेश स्तरीय तारा खेल प्रतियोगिता हिमाली जिल्ला मनाङमा आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया