घान्द्रुकमा महोत्सवको रमझम

समाधान संवाददाता २०८० जेठ १८ गते १३:२८

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका १०–११ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजित तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव मंगलबारदेखि सुरु भएको छ ।

Advertisement

अन्नपूर्ण सेन्चुरी पर्यटन समिति र घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा महोत्सव भएको हो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले पर्यटन गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार भएको बताए ।

‘घान्द्रुकमा स्वदेशी र विदेशी पर्यटन किन आउँछन् भन्ने धेरैको जिज्ञासा हुन सक्छ । घान्द्रुकमा प्राकृतिक सौन्दर्य, मौलिक संस्कार, संस्कृति अवलोकनका लागि पर्यटक आउँछन्,’ सांसद बरालले भने, ‘प्रदेश समृद्धिको आधार पर्यटन हो यसको विकास र प्रचारप्रसारमा सबै लाग्नुपर्छ ।’

तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सवमा भलिबल प्रतियोगिता सुरु भएको छ भने
म्याराथन जेठ २० गते तय छ

Advertisement

उनले पर्यटनमा उद्यमशीलताको विकास गरी गाउँको समृद्धिसँग जोड्न जरुरी भएको बताए । उनले भने, ‘पर्यटन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्न गुणात्मकरुपमा फड्को मार्न जरुरी छ, यसमा सरकार र निजी क्षेत्रको साझेदारितालाई अझ फराकिलो बनाएर लैजानुपर्छ । सांसद बरालले घान्द्रुक गाउँलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्न नेपाल विद्युत प्राधिकरणले टेन्डरको प्रक्रिया अगाडि बढाएको उल्लेख गरे ।

‘पर्यटकीय घान्द्रुक गाउँका स्थानीयले केन्द्रिय प्रसारण लाइन नहुँदा वर्षाको समयमा विद्युतको समस्या झेल्दै आएका छन् । यसको समाधानका लागि नेपाल विद्युत प्राधिकरणले घान्द्रुकमा लाइन विस्तारका लागि १७ करोड रुपैयाँमा टेन्डर आह्वान गरेको छ,’ बरालले भने ।

घान्द्रुक पर्यटन व्यवस्थापन समिति अध्यक्ष विक्रम गुरुङले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको बताए । उद्घाटन समारोहमा घान्द्रुकमा विगत १३ वर्षदेखि फोहोर व्यवस्थापमा सहयोग पुर्‍याउँदै आएका रामबहादुर परियारलाई सम्मान गरिएको छ । महोत्सव जेठ २० गतेसम्म चल्नेछ ।

सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौरिस हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथनको समेत आयोजना गर्दै आएको छ । २ वर्ष कोरोना भाइरसका कारण रोकिएको म्याराथन तेस्रो संस्करणको म्याराथन महोत्सवको अन्तिम दिन जेठ २० गते हुने भएको छ ।

म्याराथन प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार पाउनेछन् । यस्तै महिलातर्फ प्रथम हुने धावकले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । म्याराथनमा सहभागी हुन पुरुषतर्फ ७ र महिलातर्फ ५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरेको छ ।

म्याराथन जेठ २० गते अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भएर म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुक आएर सकिनेछ ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा आयोजित खुल्ला गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

खुला गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा १३ समूहको सहभागिता रहेको आयोजकले जनाएको छ ।

गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

बास्केटबल प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

महोत्सव अवधिभर पर्यटकलाई घान्द्रुकमा २० प्रतिशत छुट दिएको छ भने भलिबल र बास्केटबलतर्फ ८ सय रुपैयाँको प्याकेजमा खाने बस्ने व्यवस्था गरेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया