वडा प्रहरी कार्यालय बगरमा प्रहरी परिचालन कक्ष

पोखरा ।
वडा प्रहरी कार्यालय बगर हाताभित्र प्रहरी परिचालन कक्ष निर्माण गरिएको छ । वडा प्रहरी कार्यालय बगर निर्माण तथा मर्मत सम्भार समितिले कार्यालयभित्र प्रहरी परिचालन कक्ष निर्माणसँगै महिला ब्यारेक मर्मतसम्भार गरेको हो ।
प्रहरी परिचालन कक्ष र महिला ब्यारेकको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले उद्घाटन गरे । यसअघि निर्माण तथा मर्मतसम्भार समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठको नेतृत्वमा प्रतीक्षालय, थुनुवा कक्ष मर्मत, प्रहरी व्यारेक, दुर्गा मन्दिर, ट्राफिक पोस्ट, महिला प्रहरीका लागि आवास गृह, चमेना गृह मर्मत, शौचालय निर्माण सम्पन्न भएको छ ।
महिला ब्यारेक मर्मत सम्भार र प्रहरी परिचालन कक्ष निर्माणमा २ लाख ४ हजार ५ सय ५१ रुपैयाँ खर्च लागेको निर्माण तथा मर्मत सम्भार समितिका कोषाध्यक्ष चित्रबहादुर थापाले जानकारी दिए ।
प्रहरी परिचालन कक्ष निर्माणमा २ लाख ४ हजार ५ सय ५१ रुपैयाँ खर्च
पोखरा महानगरका वडा कार्यालय र स्थानियको सहयोगमा कक्ष निर्माण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘हाम्रो अनुरोधलाई सहर्ष स्वीकार गरी सहयोग गर्ने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्दछौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘आगामी दिनमा पनि यहाँहरुको सहयोग र सद्भावको अपेक्षा गर्दछौं ।’
प्रहरी परिचालन कक्ष र महिला ब्यारेक निर्माण समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठले वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक शालिकराम तिमिल्सिनालाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा निर्माण समितिको कोषाध्यक्ष पदममा रही महत्वपूर्ण भूमिका खेलेको भन्दै कोषाध्यक्ष चित्रबहादुर थापालाई मायाको चिनोले सम्मान र वडा प्रहरी कार्यालय वगरमा रहि उत्कृष्ट प्रहरी कार्य गर्ने प्रहरी हवल्दार लक्ष्मी खत्रीलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले वडा प्रहरी कार्यालय बगरको आफ्नै जग्गा नहँुदा बजेट विनियोजनमा समस्या भएको बताए ।
‘वडाको आफ्नै जग्गा भएको भए भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन हुने थियो,’ उनले भने, ‘आफ्नै जग्गा नहँुदा समुदायको सहयोगमा प्रहरीलाई हौसला थप्ने काम भएको छ ।’
पोखरा महानगर पालिका वडा नम्बर २५ का वडा अध्यक्ष तथा पोखरा महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिना समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि महानगर सधै सहकार्य गर्न तयार रहेको बताए ।
पोखरा महानगर पालिका वडा नम्बर १ का वडा अध्यक्ष सहारा प्रधानले प्रहरीका लागि चाहिने भौतिक संरचना व्यवस्थापन गर्न वडा सधै तयार रहेको बताए । निर्माण तथा मर्मत सम्भार समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक शालिकराम तिमिल्सिना कोषाध्यक्ष चित्रबहादुर थापा सदस्य विष्णुशंकर ख्वाउँजु प्रहरी जवान जूना विकले बोलेका थिए ।
तपाईको प्रतिक्रिया