पाटा शिखर सम्मेलन जारी

पोखरा ।
पोखरामा जारी प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन शुक्रबार सकिँदै छ ।
तेस्रो संस्करणको एडभेन्चर ट्राभल मार्ट मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए । सम्मेलनमा २२ देशका १ सय ६० जना अन्तर्राष्ट्रिय प्रतिनिधि भेला भएका छन् ।
कोरोना भाइरस संक्रमणले थिलोथिलो परेको पर्यटन व्यवसायलाई लयमा फर्काउन पाटा सम्मेलन महत्वपूर्ण साबित हुने पर्यटन व्यवासायीहरु बताउँछन् । पर्यटन क्षेत्रलाई उकास्न सम्मेलनले सघाउने पर्यटन व्यवसायीको अपेक्षा छ । सम्मेलनमा आउने विभिन्न मुलुकका पर्यटनकर्मी र व्यवसायीले नेपाल र पोखरालाई पर्यटकीय दृष्टिले बुझ्न पाउनेछन् ।
पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालले आयोजना गरेको यो कार्यक्रमले आगामी दिनमा नेपालमा विदेशी पर्यटक आगमनमा समेत वृद्धि हुने अपेक्षा सुनाए । सम्मेलनमा पर्यटनका विभिन्न आयामका बारेमा समूहगत छलफल जारी छन् ।
राष्ट्रिय, अन्तर्राष्ट्रिय ट्राभल उद्योगका ख्यातिप्राप्त वक्ताहरुले दिगो पर्यटन, संकट व्यवस्थापन, हवाई सुरक्षा, सामाजिक सञ्जाल, साहसिक र पर्वतीय पर्यटन लगायतका विषयमा छलफल गरिरहेका छन् ।
सम्मेलनमा पाटा इन्टरनेसनलले वार्षिक कार्यक्रमअनुसार विभिन्न विधामा अवार्ड प्रदान गरेको हो ।
सम्मेलनमा अमेरिका, बेलायत, जर्मनी, अस्टे«लिया, नेदरल्यान्ड, स्विटजरल्यान्ड, फिलपिन्स सिंगापुर, कोरिया, संयुक्त अरब इमिरेट, साउदी अरेबिया, भारत, पाकिस्तान, श्रीलंका, चीन, हङकङ, थाइल्यान्ड, ताइपेई, अजरबैजान, मलेसिया लगाययतका देश र नेपालका गरी २१ देशका प्रतिनिधि सहभागी छन् ।
अन्तर्राष्ट्रिय प्रतिनिधिसहित क्रेता, बिक्रेता गरी करिब २ सय ५० जनाको सहभागिता रहेको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) धनञ्जय रेग्मीले बताए । नेपालको मुख्य पर्यटकीय स्थल पोखरामा भएको उक्त कार्यक्रमले हाल कोभिड १९ आर्थिक मन्दिको प्रभावलाई केही हदसम्म सहज बनाउन उनको भनाइ छ ।
मंगलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्न एयरलायन्स कम्पनीहरुलाई आग्रह गरेका थिए । पोखरा विमानस्थलबाट एसिया क्षेत्रमा हवाई उडान गर्न इच्छुक एयरलायन्स कम्पनीलाई आग्रह मुख्यमन्त्री पाण्डेले गरेका छन् । प्रदेशको राजधानी पोखरामा पर्यटनको मात्र नभई साहासिक खेलकुदको केन्द्र भएको मुख्यमन्त्री पाण्डेको भनाइ छ ।
माल्दिभ्सका पर्यटन मन्त्री डा. अब्दुल्ला मासुम, पाटाका अध्यक्ष पिटर स्यामन पोखरा पर्यटन परिषदका अध्यक्ष श्रेष्ठ र नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यले उपस्थित थिए । कार्यक्रम गर्न ५ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।
विभिन्न देशका प्रतिनिधिको दर्ता गर्दा १ सय ३० डलर तिरेको आयोजनकले बताएका छ । कार्यक्रममा प्रसिद्ध ब्लगरको समेत उपस्थिति छ । कार्यक्रम पछि लुम्बिनी, चितवन, बर्दिया, जोमसोम लगायतका ठाँउमा अध्ययन अवलोकन तथा भ्रमण गर्ने कार्यक्रम तय गरिएको पर्यटन बोर्ड गण्डकी प्रदेशका निर्देशक काशीराम भण्डारीले बताए ।
तपाईको प्रतिक्रिया