माछापुच्छ्रे र फेवाताल जोगाउने चुनौती

रुद्रप्रसाद अधिकारी २०८० जेठ १९ गते १५:४१

माछापुच्छ्रे र फेवातालको कुरा गर्नासाथ पंक्तिकारलाई उसको मानस्पटलमा ताजै रहेकोे एउटा पुरानो गीत याद आउँछ – माछापुच्छ्रे फेवा तालमा पौडी खेल्दो रैछ, पोखरा त साँच्चिकैको पोखरा नै रैछ … । गीतकार प्रेमप्रकाश मल्लका यी कालजयी शब्दले एकातर्फ सांगीतिक रूपमा पोखरालाई चिनाउने काम गरेको छ भने अर्कोतर्फ पोखराको अस्तित्व माछापुच्छ्रे र फेवातालसँग जोडिएको सन्देश पनि दिएको छ ।

साँच्चीकै हामी एकपटक कल्पना गरौं त माछापुच्छ्रे र फेवाताल बिनाको पोखरा कस्तो होला ! अहँ, हामी यति निर्मम बन्न सक्दैनौं यस्तो कल्पना नै गर्नै सक्दैनौं । किन कि हामीलाई पोखरा भनेकै माछापुच्छ्रे र फेवाताल हो भन्ने परिसकेको छ, हाम्रो मानस्पटलमा पोखरा भन्ने बित्तिकै माछापुच्छ्रे र फेवातालको दृश्य गढेर बसेको छ । हुन पनि पोखराको भौगोलिक अवस्थिति नै माछापुच्छ्रेलाई शिर बनाउँदै फेवातालको किनारसँगै छ ।

पोखराका स्थानीयवासी हुन् या पोखरा घुम्न आउने पर्यटक हुन् जो कोहीले पनि पोखराको पहिचान भनेको मुख्यतः माछापुच्छ्रे र फेवातालको अलौकिक सौन्दर्यलाई नै मान्छन् । सायद संसारमा पनि हिमाल र तालको यस किसिमको संयोजन बिरलै भेटिएला । झन् माछापुच्छ्रेको गर्भबाट निस्किएर लुकामारी खेल्दै पोखराबासीको प्यास मेटाउने, पोखरालाई सधैं सिञ्चित गर्ने, सफा र हरियाली राख्न मद्दत गर्ने सेती नदीले पोखरालाई सुनमा सुगन्ध थपे झैं गरेको छ ।

Advertisement

यस किसिमका अदभूत प्राकृतिक छटाहरुको संयोजनले पोखरालाई आज संसारभर एउटा आकर्षक पर्यटकीय गन्तव्यको रूपमा परिचित गराएको छ र यहाँ जति पनि विकास निर्माण र आर्थिक गतिविधि भइरहेका छन् ती पर्यटनसँग प्रत्यक्ष एवं परोक्ष रूपमा सरोकार राख्छन् । अर्को शब्दमा भन्ने हो भने पर्यटन नै पोखराको मुख्य आर्थिक स्रोत बनेको छ, जीवकोपार्जनको माध्यम बनेको छ र विकासको आधार बनेको छ ।

दीर्घकालीन हितलाई बाधा पार्ने गतिविधिमा निगरानी राख्नुपर्ने जिम्मेवारी सबै पोखरेलीको हो

Advertisement

पोखराको पर्यटनको दीर्घकालीन हितलाई बेवास्ता गरी सञ्चालन गरिने जुनसुकै गतिविधिमा विशेष निगरानी राख्नुपर्ने जिम्मेवारी हामी सबै पोखरेलीको हो, पोखरालाई माया गर्ने सबैको हो । पर्यटकीय आकर्षणका रूपमा रहेका प्राकृतिक सम्पदामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा क्षति पुर्‍याउने कार्य व्यक्तिगत तवरबाट होस् या राज्य पक्षबाट जोसुकैबाट भएको भए पनि त्यसको कडा प्रतिरोध गर्नु र सम्पदा संरक्षणका लागि आवाज बुलन्द पार्नु हाम्रो कर्तव्य हुन आउँछ ।

पछिल्लो समयमा ग्लोबल वार्मिङ अर्थात बढ्दै गइरहेको विश्व तापमानका कारण हिमाली क्षेत्रमा तिव्र गतिमा हिउँ पग्लिने, हिउँ रेखा तल सर्ने, हिमालको उचाई घट्ने र समुद्री सतह बढ्ने समस्याले विश्व नै आक्रान्त छ र वैज्ञानिकहरु यस विषयमा निकै चिन्तित छन् । यसबाट नेपाल झनै प्रताडित छ, अधिकांश हिमालहरुमा हिउँरेखा तलतिर सर्दै गइरहेको छ । विश्व तापमान वृद्धिकै परिणामस्वरूप हामी पोखराबासीले पनि माछापुच्छ्रेमा आएको बदलावलाई महसुस गरेका छौँ ।

केही दशक पहिले बाह्रैमास सेतै र चम्किलो देखिने माछापुच्छ्रे आजकल उति सेतो र चम्किलो देखिँदैन ।

त्यतिमात्र होइन सेतो हिउँ टल्किनुको सट्टा कालो पत्थर टल्केको देख्दा आज हाम्रो मन कुँडिन्छ, कता कता नरमाइलो लाग्छ ! माछापुच्छ्रेको यो गति हुनुमा हामी पोखराबासी मात्रै जिम्मेवार छैनौं विश्वतापमान वृद्धि गराउन भूमिका खेल्ने विश्वभरीका सबै मानिसहरु उत्तिकै जिम्मेवार छन् ।

यसर्थ समुद्री सतहबाट ६,९९३ मिटरको उचाईंमा अवस्थित माछापुच्छ्रे जोगाउन हामी पोखराबासीको एक्लो प्रयासले मात्र पुग्दैन विश्वभरका मानिसहरु सचेत हुनुपर्छ । यसको अस्तित्व, रुपरंग र सौन्दर्य बचाइ राख्न र भावी पुस्तालाई अहिलेको जस्तै अवस्थामा सुम्पन हामीले आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गरिरहनुपर्छ ।

पोखराको अर्को गहना फेवाताल जोगाउन पनि उत्तिकै कसरत गर्नुपर्ने देखिन्छ । यसमा भने पोखराबासी नै बढी जिम्मेवार हुनुपर्ने देखिन्छ । वर्षेनी पुरिँदै र साँघुरिँदै गएको फेवाताललाई अहिले आफ्नो अस्तित्व जोगाउन हम्मेहम्मे परिरहेको बेलामा यदि हामी सचेत भएनौं भने भविष्यमा पछुताउनु सिवाय हामीसँग कुनै उपाय बाँकी रहने छैन किनभने त्यतिबेला हामीले चाहेर पनि केही गर्न सक्ने छैनौं ।

फेवातालको अस्तित्व जोगाउन सबैभन्दा पहिले फेवातालसँगै प्रत्यक्ष जोडिएको फेवाफाँटमा रहेको सिमसार क्षेत्रलाई जोगाउनुपर्ने हुन्छ । त्योसँगै हर्पन खोला लगायत फेवातालमा मिसिने विभिन्न खहरे खोलाहरुले वर्षेनी बगाएर ल्याउने टनका टन माटो फेवातालमा मिसिन नदिने उपायहरु अपनाउनुपर्छ । फेवातालको वरिपरि गैरकानुनी रूपमा बनेका घर, होटेल, रेस्टुरेन्ट लगायत संरचना हटाउने र तालमा प्रदूषण हुन नदिने कुरा त छँदैछ ।

हामीले सुने अनुसार जिजुबाजेको पालामा अर्थात झन्डै एक शताब्दी अगाडी फेवाताल पश्चिम तर्फ घाँटीछिनासम्म फैलिएको थियो । अहिले हामीले फेवाताललाई जुन हालतमा देखिरहेका छौं यस आधारमा सो कुरा पत्याउन हामीलाई गार्हो लाग्छ र हामी अचम्म मान्छौं !

त्यसैगरी ४० को दशकमा पोखरा–बाग्लुङ राजमार्गको नक्सा कोरिंदै गर्दा फेवाताल पुरिन्छ, फेवाताल संरक्षण गर्ने हो भने सराङकोट – कास्कीकोटतर्फबाट राजमार्ग बन्न दिनु हुँदैन भनी अनेक प्रयास गरी उक्त राजमार्ग सराङकोट – कास्कीकोटमा बन्नबाट रोकिएको थियोे ! अहिले हेरौं त फेवाताल वरिपरिका डाँडामा कति धेरै कच्ची सडकहरु निर्माण भए र तिनले फेवातालमा के कति माटो, गेग्रान लगायत फोहोर ल्याएर फेवातालमा मिसाउन भूमिका खेले होलान् भन्ने अनुमान हामी सहजै लगाउन सक्छौं ।

पूर्वाधार निर्माण गरिनुपर्छ र विकासका गतिविधि पनि सुचारू राखिनुपर्छ तर त्यस्ता कार्यले वातावरणलाई, प्राकृतिक सम्पदालाई, मानव जीवनलाई भविष्यमा के कति क्षति पुर्‍याउँछ सोको मूल्यांकन अग्रीम रूपमा गरिनुपर्छ । यो नै दिगो विकासको सिद्धान्त हो मान्यता हो ।

अहिले फेवाफाँटमा रहेको सिमसार क्षेत्रमा दिनदहाडै डोजर र ट्रिपर दौडिरहेका छन्, साँझ र रातमा यो क्रम अझ बढी देखिन्छ । सिमसार क्षेत्रमा बाहिरबाट ढुंगा, माटो, गिट्टी, बालुवा ल्याएर पुर्ने र धमाधम कन्क्रिटका संरचना निर्माण गर्ने कार्य भइरहेको छ । यस किसिमका गतिविधि भइरहँदा पनि स्थानीय प्रशासन बेखबर जस्तै छ भने जनप्रतिनिधि मौन छन् टुलुटुलु हेरेर बसिरहेका छन् ।

यस सम्बन्धमा पोखरा वडा नं २४, वडा नं १८ र सिंगो महानगरका जनप्रतिनिधिहरुको भूमिका शंकास्पद छ । उनीहरू भू–माफियाहरुको अगाडि किन निरीह भइरहेका छन् ? किन भू–माफियाहरुलाई रोक्न सकिरहेका छैनन् ? स्थानीयबासी एवं सबै सरोकारवालाहरुले यस विषयमा गम्भीर प्रश्न गरिरहेका छन् ।

एकातर्फ पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्नुपर्छ भन्ने अर्कोतर्फ भू–माफियाहरुका गतिविधिमा मौन रहने जनप्रतिनिधिको द्वैध चरित्रले पोखराबासीलाई चिन्तित तुल्याएको छ ।
विगतमा पनि फेवाताल संरक्षणका नाममा निकै विवादस्पद रूपमा निर्माण गरिएको सिल्ट्रेसन ड्याम पनि गतवर्षको बर्खे बाढीले भत्काइदिएपछि स्थानीयबासीहरु जनप्रतिनिधिहरुप्रति आश्वस्त हुन सकिरहेका छैनन् ।

अब भने जनप्रतिनिधिहरुले उपरोक्त प्रश्नहरुको टालटुले जवाफ दिएर क्षणिक रूपमा उम्कने प्रयत्न गर्नुभन्दा पनि जिम्मेवार भएर कार्यक्षेत्रमै उत्रिएर समस्याको दिगो समाधानतर्फ लागुन् भन्ने स्थानीयबासी एवं सरोकारवालाहरुको अपेक्षा छ ।

कालान्तरमा गएर फेवा तालको अस्तित्व नै मेटाउने खालका गतिविधि रोक्न हदैसम्म निर्मम बन्नुपरे पनि जनप्रतिनिधि त्यसको लागि तयार हुनुपर्छ । यस विषयलाई पोखरा महानगरपालिकाले गम्भीरतापूर्वक लिई भएका कानुनको प्रयोग गर्ने र आवश्यक परेमा नयाँ निति नियम बनाएरै भए पनि कडाइका साथ लागु गरी फेवाताल संरक्षणमा अग्रसर हुनुपर्छ ।

विभिन्न प्रतिवेदनमा फेवातालको चार किल्लाको रूपमा पूर्वतर्फ ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी–चंखपुर बीचको दम्किलो र दक्षिणमा चिसापानी रानी वन कायम गरिएको छ । फेवातालको क्षेत्रफल मापन गर्न गठित पछिल्लो समितिका अनुसार फेवातालको क्षेत्रफल ५ दशमलव ३ वर्ग किलोमिटर उल्लेख छ ।

तर पानी भएको क्षेत्रलाई मात्रै फेवाताल मान्नुपर्ने तर्क अगाडि सार्दै सिमसारलाई कब्जा गर्न खोजिएको छ ।

विभिन्न निकायका अभिलेख र प्रतिवेदनमा नै फेवातालको क्षेत्रफलमा एकरुपता नभएका कारणले गर्दा भू–माफियाहरुले यसरी खेल्ने मौका पाइरहेका छन् । यसतर्फ पनि हाम्रो ध्यान जानु जरुरी छ ।

फेवाताल जोगाउन फेवा जलाधार क्षेत्रका स्थानीयहरु, पोखराबासी, स्थानीय प्रशासन, जनप्रतिनिधिहरु र सम्पूर्ण सरोकारवालाहरुको साझा प्रयास आवश्यक छ । फेवाताललाई सधैं सफा, स्वच्छ र सुन्दर राख्दै सेताम्मे माछापुच्छ्रे हिमालको आकृति तालमा देख्न सकिने वातावरण बनाइराख्नु नै पोखराको पहिचान बचाइराख्न सक्नु हो भन्ने कुरा हामीले भुल्नु हुँदैन ।

तपाईको प्रतिक्रिया