जुम्ली मामाभाञ्जीलाई म्याराथन उपाधि

समाधान संवाददाता २०८० जेठ २१ गते १३:१२

पोखरा ।

Advertisement

जुम्लाका धीराबहादुर बुढा र गणना भण्डारी नाताले मामाभाञ्जी हुन् । अन्नपूर्ण आधार शिविरबाट पर्यटकीय गाउँ घान्द्रुकसम्मको ‘अन्नपूर्ण म्याराथन’मा पुरुषतर्फको बुढाले र महिलातर्फको उपाधि भण्डारीले हात पारे।

अन्नपूर्ण आरोहण दिवसका अवसरमा आयोजित तेस्रो संस्करणमा यो प्रतियोगिता भएको हो । निर्धारित ४२ दशमलव १ सय ९५ किमी दूरी बुढाले ४ घण्टा १० मिनेट ५१ सेकेण्डमा पार गरे ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका १ की भण्डारीले मामा धीराबहादुरको साथ र हौसलाले म्याराथनमा आएको सुनाइन् । भण्डारीले ५ घण्टा ४३ मिनेट दुई सेकेन्डमा दूरी पार गरिन् । ४ हजार १ सय मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट शनिबार बिहान ७ बजे म्याराथन सुरु भएको थियो । माछापुच्छ्रे आधार शिविर, बगर, देउलारी हुँदै कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्दु्रकमा आएर म्याराथन सकिएको थियो ।

भण्डारीले यसअघि जुम्ला र मुगुको रारातालमा भएको म्याराथनमा दोस्रो स्थान हासिल गर्नुभएको थियो । १२ कक्षा उत्र्तीण उहाँले म्याराथनलाई निरन्तरता दिने उल्लेख गरे । उपाधि विजेता बुढाले नगद रु एक लाख ५० हजार र भण्डारीले रु ७५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । पुरुषतर्फ नेपाली सेनाका होमलाल श्रेष्ठले चार घण्टा १२ मिनेट १९ सेकण्डमा उक्त दूरी पार गर्दै उपविजेता बने ।

Advertisement

तेस्रो स्थान बनाउन सफल नेपाली सेनाकै वेदबहादुर सुनवारले चार घण्टा १६ मिनेट ४८ सेकेण्डमा दूरी पार गरेका थिए । उपविजेता बन्न सफल श्रेष्ठले रु एक लाख र तेस्रो स्थान हासिल गरेका सुनुवारले रु ७५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

महिलातर्फ धादिङकी रशिला तामाङले छ घण्टा पाँच मिनेट दुई सेकेण्डमा निर्धारित दूरी पार गर्दै उपविजेता बनिन् । छ घण्टा ११ मिनेट १६ सेकेण्डमा दूरी पार गर्दै ओखलढुङ्गाकी चोकी शेर्पाले तेस्रो स्थान हासिल गरिन्। उपविजेता तामाङले नगद रु ५० हजार र तेस्रो स्थान बनाउन सफल शेर्पाले नगद रु २५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् । विजेता खेलाडीलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले पुरस्कार प्रदान गरेका थिए ।

म्याराथन प्रतियोगितामा पुरुषतर्फ ४२ र महिलातर्फ नौ धावकले सहभागिता जनाएका थिए । अन्नपूर्ण आरोहण दिवसको अवसर पारेर अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवसँगै म्याराथन प्रतियोगिताको आयोजना गरिएको अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले बताए ।

गत बुधबारदेखि सुरु भएको पर्यटन महोत्सवमा भलिबल, बास्केटबललगायतका प्रतियोगिता पनि आयोजना गरिएको थियो । पछिल्ला दुई वर्ष कोभिड–१९ महामारीका कारण रोकिएको पर्यटन महोत्सव र म्याराथनलाई यो वर्षदेखि पुनः निरन्तरता दिइएको हो । सन् १९५० जुन ३ तारिखमा पहिलोपटक फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण हिमाल आरोहण गरेको सम्झनामा बर्सेनि जुन ३ तारिखमा अन्नपूर्ण आरोहण दिवस मनाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया