अफगानिस्तानमा सुरक्षामा खटिएकाहरुसँग पूर्व व्यवस्थापक म्याककार्थीको पुनर्मिलन

समाधान संवाददाता २०८० जेठ २२ गते १२:००

पोखरा ।
अफगानिस्तान जहाँ युद्धको त्रासदि थियो । त्यही देशमा सुरक्षाको जिम्मेवारी सम्हाल्नु निकै चुनौतीपूर्ण हुन्थ्यो । अमेरिकी र बेलायती सुरक्षा कम्पनीहरु सुरक्षामा अब्बल जनशक्ति खोजीखोजी लैजान्थे । त्यसमा उनीहरुको पहिलो रोजाइ नेपाली हुन्थे ।

बेलायती, भारतीय र नेपाली सेनामा काम गरेर अवकासप्राप्त सैनिकहरु तिनै बेलायती र अमेरिकी सुरक्षा कम्पनीमार्फत अफगानिस्तान पुगेर सुरक्षामा खटिन्थे । त्यस्तैमध्ये एक थियो बेलायती सुरक्षा कम्पनी ‘आइडिजी’ । त्यसमा व्यवस्थापक थिए न्युजिल्यान्डका नोल म्याककार्थी । उनीसँग पोखराका जंगबहादुर थापा लगायत काम गर्थे ।

जंगहरुले अफगानिस्तानको काम छोडेर आएको पनि १५ वर्ष भइसक्यो । तर उनीहरुले आफ्ना व्यवस्थापक भुलेका थिएनन् । व्यवस्थापकले पनि कहाँ बिर्सन्थे र ! जसै म्याककार्थी शुक्रबार नेपाल आए जंगहरुको टोलीसँगै भेट भयो । उनीहरुले आफ्ना पूर्व व्यवस्थापकका दम्पत्तिलाई पोखरा विमानस्थलमा भव्य स्वागत गरे ।

Advertisement

पूर्वव्यवस्थापक म्याककार्थीलाई पोखराका रमणीय पर्यटकीयस्थल डेभिजफल, गुप्तेश्वर गुफा, पुम्दीकोट, गोर्खा र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय घुमाए । संयोग कस्तो भने म्याककार्थको जन्मदिन ४ जुन (२१ जेठ)मा थियो । सोही उपलक्ष्यमा आइतबार बिरौटा र मुस्ताङचोकबिचको पुइमे रेस्टुरेन्टमा म्याककार्थीको जन्मोत्सव मनाए ।

त्यस अवसरमा म्याककार्थीले नेपालको सुन्दरताबाट आफू प्रभावित भएको बताए । सहभागीहरुले पनि पूर्वसहकर्मी र व्यवस्थापकसँगको पुनर्मिलन आनन्ददायक भएको सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया