रामजीलाई म्याराथन उपाधि

समाधान संवाददाता २०८० जेठ २८ गते १२:४९

पोखरा ।

Advertisement

शनिबार भएको लेखनाथ हाफ म्याराथनको नेपाल आर्मीका रामजी बस्नेतले जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा खेल भएको हो ।


भण्डारढिक खेल मैदानबाट भएको प्रतियोगितामा निर्धारित २१ किलोमिटर दूरी १ घन्टा १३ मिनेटमा पार गर्दै रामजीले उपाधि जितेका हुन् । प्रतियोगिताको पुरुषतर्फ राष्ट्रिय खुला २१ किमी अन्तर्गत नेपाल आर्मीकै मोहनदेव जिसी दोस्रो बने । उनले उक्त दूरी १ घन्टा १४ मिनेटमा पार गरे ।


अनिश गुरुङ १ घन्टा १८ मिनेटमा सो दूरी पार गरी तृतीय बने । प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १० हजार नगद, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।


कास्कीमा रहेका तालहरुको प्रचारप्रसारमा सहयोग पुग्ने गरी तालदेखि तालसम्म भन्ने मुल नाराका साथ प्रतियोगिता भएको हो ।

Advertisement

३ समूह अन्तर्गत महिलातर्फ राष्ट्रिय खुला १० किमीक दौडमा नारायणी भण्डारी पहिलो बनिन् । उनले २४ मिनेट ५० सेकेन्डमा दूरी छिचोलिन् । मेनुका अधिकारी दोस्रो र एन्जल अधिकारी तेस्रो भए । प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।


विद्यालयतर्फ छात्रछात्राको ५ किमीको सडक दौडमा टेन्जन रोक्का प्रथम, विवेक परियार दोस्रो, सनिल विक तृतीय, सागर निश्वार चौथो र किशोर राना पाँचौ ठहरिए । विद्यालय छात्र छात्रा ५ किमी तर्फको दौडमा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार, तृतीय हुनेलाई ५ हजार, चौथो हुनेलाई १ हजार ५ सय र पाँचौ हुनेलाई १ हजार नगद, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।


करिव ५ सय जना धावकको सहभागिता रहेको प्रतियोगिता पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले सुरुआत गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया