मदरल्यान्डमा प्रदेश स्तरीय फुटसल सुरु

पोखरा ।
पोखराको मदरल्यान्ड माध्यमिक विद्यालयको आयोजनामा शनिबारबाट प्रदेश स्तरीय फुटसल प्रतियोगिता सुरु भएको छ ।
स्कुल प्रांगणमा पश्चिम पृतना हेडक्वाटर विजयपुरका पृतनापति दीपककुमार बानियाँले प्रमुख रेफ्री फुटबल रेफ्री संघ कास्की अध्यक्ष सुशील केसीलाई बल हस्तान्तरण गरी प्रतियोगिता सुरुआत गरे ।
कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी उत्कृष्ट महिला खेलाडी सावित्रा भण्डारी (सम्बा) लाई विद्यालयले नगद २५ हजार, प्रमाणपत्र र दोसलाले सम्मान गरेको छ । २०६९ बाट औपचारिक फुटबल खेल जीवन सुरु गरेकी भण्डारीले कठोर अतीत सम्झँदै असम्भव केही नभएको जनाइन् । उनले समुज्ज्वल भविष्यको सम्भावना आफैंले खोज्नुपर्ने उल्लेख गरिन् ।
पृतनापति बानियाँले विद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा शैक्षिक एवं अतिरिक्त क्रियाकलापमा ऐतिहासिक उपलब्धि हासिल गरी उत्कृष्ट विद्यालय बनेकोमा बधाइ दिए । उनले एसइई दिएर बसेका विद्यार्थीको खाली समय सदुपयोग गरी विद्यालयले प्रदेश स्तरीय फुटसल प्रतियोगिता राख्नु सराहनीय काम भएको बताए ।
विद्यालयका प्रचार्य नारायण बरालले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालयले गरिरहेका शैक्षिक तथा सहकार्यकलापबारे प्रकाश पारे । ३ दिनसम्म चल्ने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ३० हजार, २० हजार र १० हजारका साथ मेडल, सिल्ड र प्रमाणपत्र पाउने छन् ।
विद्यालयका निर्देशक त्रिभुवन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा अंग्रेजी विभागीय प्रमुख बामनकुमार घिमिरेले पनि बोलेका थिए ।
विद्यालयमा शनिबार नै विद्यार्थीको आचरण, व्यवहार र शैक्षिक गतिविधिको जानकारी दिने तथा लिने उद्देश्यका साथ मावितर्फ (कक्षा ९ र १०) का शिक्षक अभिभावक अन्तरक्रिया भएको मावि इन्चार्ज डिल्लीराम भट्टराईले जनाए ।
तपाईको प्रतिक्रिया