‘एकाधको बदमासीले सबै सहकारीलाई सकस’

समाधान संवाददाता २०८० जेठ २८ गते १४:३७

पोखरा ।
अध्ययन अवलोकन भ्रमणमा पोखरा आएको मणिमुकुन्द सेन बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको प्रतिनिधि मण्डलसँग पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखरा ९ न्युरोडले शनिबार अन्तक्र्रिया गरेको छ ।

Advertisement


कार्यक्रममा पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले केही गलत काम गर्ने सहकारी सञ्चालक तथा व्यवस्थापकको कारण राम्रो काम गर्ने सहकारीलाई समेत असर परेको बताए । उनले सहकारी अभियन्ता भन्नसमेत कठिनाइ भएको उल्लेख गरे ।


मणिमुकुन्द सेन बचत तथा ऋण सहकारीका अध्यक्ष सुरेन्द्रमुनि शाक्यले सहकारी क्षेत्रको वर्तमान असहज अवस्थालाई सबै मिलेर पार लगाउनुपर्ने विचार राखे । आर्थिक क्षेत्रको मन्दीका कारण सहकारीहरु संक्रमणकालमा टिकिरहन परेको उल्लेख गर्दै उनले लगानी उठाउन कठिनाइ भएको र सेयर सदस्यबाट नियमित बचत हुन नसकेको जानकारी दिए ।


उनले सहकारीहरुले मुनाफा आर्जनमा केन्द्रीत नभएर उद्देश्य अनुरुप संस्थागत सामाजिक उत्तरदायित्वको काम गर्नुपर्ने बताए । सोही अनुसार सहकारीले ज्येष्ठ नागरिक तथा एकल महिला भत्ता, किरिया खर्च तथा महिला सेयर सदस्यका लागि सुत्केरी प्रोत्साहन भक्ताको योजना ल्याएको उनले उल्लेख गरे ।


उनले अपांगता भएका बालबालिकाको रेखदेखका लागि दिवा सेवा केन्द्र सञ्चालनदेखि तानसेनको भगवती जात्राको लागि सहयोग प्रदान गर्दै आएको जानकारी दिए । कार्यक्रममा पाल्पाली बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष कुलप्रसाद घिमिरे, सचिव रेशमराज थापा, शिक्षा समितिका संयोजक तथा पाल्पाली समाज पोखराका अध्यक्ष बालचन्द्र परियार, मणिमुकुन्द सेन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष सुशील प्रधान लगायतले सहकारीका समस्याका बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया