
जोमसोम ।
मुस्ताङ सदरमुकाम जोमसोमको नवनिर्मित बसपार्क पालिकालाई हस्तान्तरण भएको छ । बसपार्क निर्माणको अख्तियारी लिएको सघन सहरी विकास तथा भवन डिभिजन आयोजना कार्यालय बागलुङले जोमसोममा निर्माण गरिएको बसपार्कको स्वामित्व मुस्ताङको घरपझोङ गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
सहर विकास तथा भवन डिभिजन आयोजना कार्यालय बागलुङले ८ जेठमा बसपार्कसहितको भौतिक संरचना हस्तान्तरण गरिएको पत्र घरपझोङ गाउँपालिका कार्यालय मुस्ताङलाई पठाएको थियो । जोमसोममा बसपार्क निर्माण सम्पन्न र हस्तान्तरण भएसँगै अब बसपार्क सञ्चालनको बाटो खुलेको छ ।
संघीय सरकारले निर्माण गरेका पूर्वाधार स्थानीय तहलाई हस्तान्तरण गर्ने क्रममा कार्यालयले घरपझोङलाई जोमसोम बसपार्क हस्तान्तरण गरिएको सहरी विकास तथा भवन डिभिजन आयोजना कार्यालय बाग्लुङका इन्जिनियर योगेन्द्र बस्ताकोटीले जानकारी दिए । ‘हामीले बसपार्कका सबै पूर्वाधार सकिसक्यौं । बसपार्कको स्वामित्व पनि पालिकालाई हस्तान्तरण गर्यौं,’ बस्ताकोटीले भने, ‘अब सम्वन्धित पालिकाले नै यसको अपनत्व ग्रहण गर्ने हो, उसैले बसपार्क सञ्चालन गर्ने हो ।’
बहुवर्षीय आयोजना अन्तर्गत २०७३ सालमा निर्माण सुरु गरिएको जोमसोम बसपार्क कार्यालय हेरफेर, बजेट विनियोजनमा अन्योल, ठेकेदारको ढिलासुस्ती, कोरोना कहर लगायतका कारण ढिलो बनेको हो । बसपार्कको लागत २ करोड ५१ लाख छ ।
जोमसोम बसपार्क संघीयतापछि संघीय आयोजना इकाइ पोखरालाई हस्तान्तरण भएकोमा त्यसपछि बसपार्क निर्माणको अख्तियारी सघन सहरी विकास तथा भवन डिभिजन आयोजना बागलुङले लिएको थियो । बसपार्क निर्माणको जिम्मा पाएको सहरी विकास तथा भवन डिभिजनले निर्माण बसपार्कका लागि एकीकृत पूर्वाधार विकास कार्यक्रम अन्तर्गत अधुरा संरचना सकेको छ ।
सहरी विकासले बसपार्क एकिकृत पूर्वाधार निर्माणका लागि आर्थिक वर्ष २०७७/०७८ मा १ करोड ३६ लाख बजेट विनियोजना भएकोमा ९५ लाखमा दामोदरकुण्ड कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । पछिल्लो बजेटले नयाँ निर्माण गरिएको बसपार्कमा टर्मिनल भवन, सुरक्षा गार्ड र कम्पाउन्ड वालसहित तारजाली लगाइएको छ ।
यसअघि संघीय आयोजना अन्तर्गत मुस्ताङको घरपझोङ ४ जोमसोम स्थित जनहित माध्यमिक विद्यालयको उत्तरतर्फको भिरोलो सतह कटिङ गरी बसपार्कको ग्रेड मिलाउने काम रोशन अमित जेभी निर्माण कन्ट्रक्सनले गरेको थियो । जोमसोम बसपार्कको लम्बाइ २ सय मिटर र चौडाई १ सय मिटर छ । बसपार्कमा करिब ५० सवारी साधन अटाउने क्षमता छ । अहिले जोमसोम बसपार्कको रनवे ग्राभेल भइसकेको छ ।
नवनिर्मित बसपार्क यथाशीघ्र सञ्चालनमा ल्याउन नागरिक समाज जोमसोमका अगुवा चन्द्रबहादुर थकालीले सुझाएका छन् ।
उनले बसपार्क नहुँदा र जोमसोम क्षेत्रमा सवारी पार्किङ अव्यवस्थित हुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै मुकामको सौन्दर्यसमेत खल्बलिएकाले बसपार्क कार्यान्वयनमा ल्याउनुको विकल्प नभएको उल्लेख गरे ।
यता, घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले बसपार्क पालिका मातहतमा आइ्सकेकाले अब चाँडै बसपार्क सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिए । ‘बसपार्क पालिका मातहतमा आएको छ, हामी बसपार्क सञ्चालन गर्न कार्यविधि निर्माणको चरणमा गछौं,’ प्रशासकीय अधिकृत आचार्यले भने, ‘खानेपानी र बिजुली जडान गर्ने काम बाँकी छन्, त्यो सकेपछि बसपार्क सञ्चालनको ठेक्का प्रक्रियामा जानेछ ।’
राष्ट्रिय गौरवको जोमसोम कोरला सडकको नजिक बसपार्क निर्माण गरिएको हो । यो बसपार्क झन्डै ७ वर्षपछिको अन्तरालमा निर्माण सम्पन्न भएको हो । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा स्थानीय रुटमा चल्ने सवारी साधन र जिल्ला बाहिरबाट दिनहु सयौंको संख्यामा भित्रिने सवारी सधानको चापले जोमसोम र पुथाङ एअरपोर्ट क्षेत्रमा सवारी पार्किङको चरम समस्या छ । पार्किङ नहुँदा पछिल्लो समय जोमसोम बजार अव्यवस्थित देखिएको छ भने पैदलयात्रीलाई आवतजावतमा समेत समस्या पर्दै आएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया