स्थापना दिवसमा युवा संघको अभियान

पोखरा ।
राष्ट्रिय युवा संघ नेपाल कास्कीले संघको ३४ औं स्थापना दिवस १ महिनासम्म सिर्जनात्मक तथा रचनात्मक कार्यक्रम गरी मनाएको छ । वैशाख २८ देखि जेठ २७ गतेसम्म एक महिने अभियान अन्तर्गत ‘विद्यार्थीसँग राष्ट्रिय युवा संघ’, ‘वातावरण र पर्यावरण संरक्षणमा राष्ट्रिय युवा संघ’, ‘ज्येष्ठ नागरिकसँग राष्ट्रिय युवा संघ’, ‘वैचारिक तथा सांगठनिक युवा संघसँग राष्ट्रिय युवा संघ’ लगायतका कार्यक्रम गरेको युवा संघ नेपाल कास्की अध्यक्ष पानबहादुर जिसीले जानकारी दिए ।
विद्यार्थीसँग राष्ट्रिय युवा संघ अभियान अन्तर्गत पालिका स्तरबाट छनोट भएर आएका उत्कृष्ट विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता भएको छ । ‘युवा स्वरोजगार र समृद्ध नेपाल’ शीर्षकमा भएको प्रतियोगितामा साबिक पोखरा महागर पालिकाको अमरसिंह नमुना माध्यमिक विद्यालयकी निलिमा रेग्मी प्रथम भएकी छन् । प्रतियोगितामा माछापुच्छ्रे गाउँपालिकाकी विद्या बुढाथोकी द्वितीय, साबिक लेखनाथ नगर पालिका अन्तर्गतको त्रिभुवन शान्ति माध्यमिक विद्यालयकी प्रशिद्धिका ओझा तृतीय बने ।
प्रतियोगितामा रुपा गाउँपालिकाकी कृपा सुवेदी र अन्नपूर्ण गाउँपालिकाकी मोनिका देवकोटाले सान्वना पुरस्कार पाए । प्रतियोगितामा प्रथम द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीले क्रमशः १० हजार, ५ हजार, ३ हजार र २ नगद पुरस्कार र प्रमाणपत्र पाएका छन् ।
प्रतियोगिताको निर्णायकमा ज्ञानेश्वर सुवेदी, भगवती पहारी र जूना थापा छन् । पालिका स्तरको प्रतियोगितामा द्वितीय भएका विद्यार्थीलाई समेत जनही २ हजार नगद, प्रमाणपत्र र स्टेसनरी प्रदान गरिएको छ । ‘विद्यार्थीसँग राष्ट्रिय युवा संघ अभियान अन्तर्गत भएको प्रतियोगिताका क्रममा कास्कीका १ हजार विद्यार्थीसमक्ष युवा संघ पुगेको छ,’ सचिव नमराज केसीले भने, ‘५५ विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, ३ सय ५० शिक्षक तथा २० जना निर्णायक अभियानमा जोडिएका छन् ।’
उनले जिल्ला कमिटी कास्कीले फोकल पर्सन तोकेर ५ पालिका स्तरबाट छनोट प्रतियोगिता गरेको बताए । कास्कीको मादी गाउँपालिकामा प्रतियोगिता हुन सकेन । कास्कीको अन्नपूर्णमा पानबहादुर जिसी, साबिक पोखरा उपमहानगरमा लक्ष्मी अधिकारी, साबिक लेखनाथमा नमराज केसी, रुपमा सुनील गुरुङ, माछापुच्छे«मा उमेश बिसुंखे र मादीमा शंकर पौडेललाई फोकल पर्सन तोकिएको थियो ।
वैचारिक तथा सांगठनिक युवासँग राष्ट्रिय युवा संघ कार्यक्रम अन्तर्गत कास्कीका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
ज्येष्ठ नागरिकसँग राष्ट्रिय युवा संघ कार्यक्रम अन्तर्गत पोखरा २५ हेमजामा रहेको मानव सेवा आश्रमका १ सय ५ आश्रितलाई खाजा, खाना खुवाएको खुवाइएको छ । ‘वातावरण तथा पर्यावरण संरक्षणमा राष्ट्रिय युवा संघ’ भन्ने नाराका साथ पोखरा १८ जामुनबोटमा रहेको शहिदपार्कमा वृक्षरोपण तथा गोडमेल कार्यक्रम गरिएको छ ।
समग्र अभियान अन्तर्गत भएका सबै कार्यक्रमको समापन कार्यक्रममा नेकपा (एमाले) पोलिटब्युरो सदस्य जगतबहादुर विश्वकर्माले विजयी विद्यार्थीलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । लोक तथा दोहोरी गायक तारापति सुवेदीले गीत गाएका थिए ।
कार्यक्रममा युवा संघ नेपाल जिल्ला कमिटी कास्की अध्यक्ष जिसी, उपाध्यक्ष शंकर पौडेल, सचिव नमराज केसीले कार्यक्रमको विगतको समीक्षा र आगामी दिनको कार्यक्रमलाई व्यवस्थित गर्न १ महिने अभियानका बीचको समयमा मध्यावधि समीक्षा गरेको जनाए ।
तपाईको प्रतिक्रिया