गर्मीको सकस र सावधानी

समाधान संवाददाता २०८० जेठ ३० गते १२:००

केही दिनदेखि देशैभर तपक्रम निकै बढेको छ । धेरै स्थानमा तापमानले नयाँ रेकर्ड बनाएको छ । तराइका धेरै ठाउँ र पहाडमा समेत केही ठाउँमा गर्मी छल्न स्कुलसमेत बिदान गरिएका छन् । अझै केही दिन गर्मी कायम रहने देखिन्छ । जल तथा मौसम विज्ञान विभागले ‘लू’ चल्न सक्ने सम्भावना औंल्याएको छ । मौसमी पूर्वानुमान धेरै दिनका लागि गर्न सकिँदैन ।

Advertisement

मनसुन सुरु हुनुअघि देशैभर उच्च तापक्रम बढेको हो । गर्मी बढेपछि दिउँसो मानिसको चहलपहल बढेको छ भने मानवीय गतिविधिमा पनि कमी आएका छन् । पानी नपर्ने र टन्टलापुर घाम लाग्दा कतिपय स्थानमा खेतबारीमै मकै सुकेका खबरहरु पनि आएका छन् । मौसमलाई मानिसले काबुमा राख्न सक्दैन, सावधानी अपनाउन भने मिल्छ ।


लुका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुःख्ने, खुट्टा बाउँडिने हुन सक्छ । यस्तै, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आउने जस्ता समस्या देखिने भएकाले अहिले उच्च सतर्कता जरुरी छ । ‘लु’ पनि एक प्रकारको रोग नै हो । शरीरमा नून र पानीको कम हुँदा ‘लू’ लाग्ने विज्ञहरु बताउँछन् । यस्तो मौसममा टाउको भारी हुने, नाडीको गति बढ्ने, कमजोर अवस्थामा रहेकाहरु बेहोस हुनेसम्म हुन सक्छ ।

उच्च रक्तचाप, मधुमेह, ज्वरो, झाडापखाला, मेनेन्जाइटिस जस्ता समस्या भएका मानिसलाई यस्तो गर्मी र लुले बढी असर गर्छ । नेपालमा हरेक वर्ष तीन पटक मौसम परिवर्तन हुने भएकाले यसको मार पर्ने गरेको छ । मौसम परिवर्तनका कारण हुने प्रकोपले विपतका घटना बढ्ने र मानवीय क्षतिसमेत हुने खतरा रहन्छ ।


जाडोमा शीतलहर, वर्षातमा बाढी पहिरो र गर्मीमा ‘लू’लगायतका रोग तथा आगलागी लगायतले नेपालीलाई दुःख दिने गरेका छन् । गर्मीका बेला खोला, नदीमा नुहाउने जानेहरुले असावधानीका कारण ज्यानसमेत गुमाउने गरेका छन् । गर्मी होस् कि जाडो मौसमको पहिलो मारमा विपन्न नै पर्छन् । सुविधासम्पन्न र स्तरीय जीवन बाँच्न नसक्नेहरुलाई प्राकृतिक विपतले समेत हावाकावा पार्छ । जस्तोसुकै गर्मी भए पनि काम नगरी दिनचर्या नचल्नेहरु यसबाट सबैभन्दा धेरै प्रभावित भएका छन् ।

Advertisement

यस्तो मौसममा प्रशस्त पानी पिउन र यथाशक्य घरभित्र बस्न विज्ञहरु सल्लाह दिन्छन् । बाहिर निस्कँदा वा काम गर्दा टाउको छोप्न, टोपी लगाउने, झोल पदार्थहरु निकै पिउन उनीहरुको सल्लाह छ । गर्मी मौसममा रुघाखोकी, ज्वरो लगायतका समस्याले पनि सताउँछन् । सँगसँगै लामखुट्टे, सर्पहरुको घर पनि बढी हुन्छ । सकसपूर्ण गर्मीबाट बाच्न सावधानी र चर्काे घाममा यथासक्य कम निस्कने उपाय गर्नु जरुरी छ ।

तपाईको प्रतिक्रिया