
पोखरा ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले यातायात व्यवस्था कार्यालयसँगको समन्वयमा गत वैशाख ३० गते सवारी साधनको प्रदूषण जाँच ग¥यो । ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत कास्की ट्राफिक प्रहरीले गरेको २५ सवारीको प्रदूषण चेकजाँच गर्दा ३ सवारी साधनमात्रै चलाउन मिल्ने मापदण्डभित्र परे ।
अर्थात् जाँच गरिएका २२ सवारी साधन चलाउन नमिल्ने अवस्थामा देखिए । सवारीको धूँवा ३० ओपासिटीभन्दा माथि पुग्यो भने त्यस्ता सवारी चलाउन अयोग्य हुन्छन् । यातायात व्यवस्था कार्यालय, सवारी कास्कीका इन्जिनियर नवीन पौडेलका अनुसार ३० ओपासिटीभन्दा माथिका सवारी साधन चलाउन पाइँदैन । तर, प्रहरीले चेकजाँच गरेको अधिकांश सवारी साधनमा धूँवाको मात्रा ५० ओपासिटीभन्दा बढी थियो ।
कुनै सवारी त ८०/९० ओपासिटीसम्म पुगेका थिए । ‘डिजल इन्जिन स्मोक एनलाइजरले ओपासिटीमा जाँच गर्छ । यसमा ३० ओपासिटीसम्मलाई पास गरिन्छ, फेल भएका २२ सवारीसाधन ५० ओपासिटीभन्दा बढी थियो,’ इन्जिनियर पौडेलले सुनाए ।
त्यो रिपोर्ट यातायात व्यवस्था कार्यालय, पोखरा महानगरदेखि मन्त्रालयसम्म पुग्यो । छलफल पनि भयो । तर, त्यसपछि भने न कुनै चेकजाँच भयो, न कुनै रोकतोक नै । अहिले पनि पोखरामा चल्ने अधिकांश सवारी साधन आँखै पोल्ने गरी कालो मुस्लो निकाल्दै हुइँकिन्छन् ।
सवारी धनी र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए पनि पोखरामा धूँवा निकाल्दै हुइँकिने सवारी साधनमा कमी आउन सकेको छैन । जसले मानिसको स्वास्थ्यलाई असर पारेको छ नै, वातावरण प्रदूषणसमेत बनाएको छ ।
वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले सवारी प्रदूषण जाँचपाससम्बन्धी नियमन गरेको पाइन्छ । २०७९ पुस १ पछि विभागको परीक्षणमा प्रदूषण जाँचपास हुन नसक्ने सवारी साधनलाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१(२) बमोजिम १ लाखसम्म जरिवाना हुने उल्लेख गरिएको थियो । यो नियम काठमाडौंमा लागू भए पनि अन्य सहरमा भने कुनै प्रभाव परेका देखिँदैन ।
पोखरामा मापदण्डभन्दा बाहिर रहेका सवारी साधनलाई कारवाही गर्न पटक पटक आवाज उठे पनि कारवाही हुन सकेको छैन । बेला बखत सवारीको प्रदूषण चेकजाँच गरिए पनि फेल भएका सवारी साधनलाई कारवाही भएको पाइँदैन ।
यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्लीराम रिज्यालले पोखरामा सवारीको प्रदूषण जाँच अनिवार्य नभए पनि जाँच गर्ने कार्य सुरुवात भइसकेको बताए । ‘विगतमा स्मोक एनलाइजरले काम गर्न छाडेपछि गत वर्ष हामीले २ वटा किनेपछि पुनः प्रदूषण जाँच सुरु भएको छ,’ रिज्यालले भने, ‘अहिले इच्छुकहरु जो प्रदूषण चेक गर्नुपर्यो भनेर आउनुहुन्छ, उहाँहरुको गरिदिएका छौं तर अनिवार्य गर्ने भन्ने काठमाडौंमा जस्तो पोखरामा छैन ।’
चालु आर्थिक वर्षमा १ सय ३८ सवारीको प्रदूषणको अवस्था जाँच गरिएको कार्यालय प्रमुख रिज्यालले जानकारी दिए । पोखरामा केही निजी सवारीसाधनले मात्र जाँच गर्ने गरेको उनको भनाइ छ । ‘यहाँ हामीलाई धूँवा फाल्ने सवारी कसरी जाँच पास भयो भन्ने प्रश्न आउन सक्छ । प्रदूषण चेक गर्ने ट्रेन्ड नभएकाले हामीले नै प्रदूषण टेस्ट नगरिएको भनेर दिन्छौं,’ उनले भने, ‘सवारी नवीकरण गर्दा नै प्रदूषण जाँच गर्नुपर्ने नियम हुनुपर्छ ।’
बजार क्षेत्रमा चल्ने अधिकांश सवारी फेल हुने अवस्था देखिएकाले आगामी वर्षमा जाँचपास गर्दा प्रदूषण जाँच अनिवार्य गर्ने योजना बनाएको कार्यालय प्रमुख रिज्यालको भनाइ छ ।
सवारीले फाल्ने धूँवा घातक
वन विज्ञान अध्ययन संस्थान पोखराका क्याम्पस प्रमुख विनोद हेजु सवारी साधनले फाल्ने धूँवा मानव स्वास्थ्यका लागि एकदमै घातक हुने बताउँछन् । ‘यो धूँवाले रुघाखोकी, आँखा चिलाउने, टन्सिल, एलर्जीदेखि दीर्घकालमा मुटुसम्बन्धी रोग देखा पर्ने, हृदयघात, फोक्सो, श्वासप्रश्वासमा समस्या देखिन सक्छ,’ उनी भन्छन् ।
पर्यटकीय सहर पोखरामा धूँवा फाल्ने सवारी साधन नियन्त्रणमा ध्यान दिनुपर्नेमा क्याम्पस प्रमुख हेजु जोड दिन्छन् । उनी भन्छन्, ‘सहरीकरणसँगै सवारी संख्या पनि बढ्दै जाँदा जलवायु परिवर्तनका लागि कार्बन बढाउँछ । पोखरामा यो विषयमा अहिलेसम्म सोचिएको छैन तर सोच्नुपर्ने बेला आएको छ ।’

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया