
असारको उखुम । पोखरा, टुँडीखेलको चौतारोमा एक जना दृष्टिविहीन मान्छे देशभक्तिका गीत गाइरहेका हुन्छन् । जनवादी गीतको प्रचारवाजीमा ट्याक्सी चडेर लोकमान त्यहीँ आइपुग्छन् । ‘आउनुहोस्, आउनुहोस्, जनवादी गीतको आलोकमा रमाऊँ, टिकट दर रु. एक हजार, दुई हजार र पाँच हजारमात्रै… !’ माइकको चर्को आवाज घन्किन्छ ।
महंगो जस्तो स्कार्पियो हाँकेकी हिउँ जस्ती गोरी लोकमाया र सँगैकी हब्सिनी जस्ती रश्मि उत्रिन्छन् । मोटरमा ज्यांगो शरीरका २ विदेशी पुरुष हुन्छन् । लोकमायाले लोकमानसँग कमरेडेली शैलीमा हात मिलाउँछिन्, २० हजार तिरेर ४ टिकट लिन्छिन् ।
आँखाको भाका आँखैले । उनीहरु आ–आफ्ना बाटो लाग्छन् । जनयुद्धका बेला लोकमायाले ६ किलो सुन लोकमानलाई राख्न दिएको हल्ला छ । सानै जागिरका लोकमान अहिले पहाड जत्रै घर ठड्याउँदै छन् । दृष्टिविहीनका भाँडोमा ५/१० का केही नोट हुन्छन् । ऊ मस्तराम भएरै गाइरहन्छ । यहाँ ओशोको एउटा भनाई स्मरण गर्नैपर्छ: एकज ना मगन्ते सुत्ने बेला आफ्नो कटौरा घोप्टो पार्छ । ऊ दाताको सिक्काको ट्यार्याक-ट्यार्याककाे डिस्टर्ब चाहँदैन ।
अचम्म, हाम्रा नेता देशै बेचेर कमाउँदा पनि रमाउँदैनन् । गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङ् सुनाउँछन्, ‘लेखकहरु मरेपछि सम्मान पाउँछन्, हामी कलाकार तत्काल वाहवाहीको ताली भेट्टाउँछौँ । भेलामा, मेलामा डाक्छन् ; गच्छे अनुसार पारिश्रमिक टक्रर्याइयो गाह्राे नमान्नू होला भन्दै खाममा रकम दिन्छन् । हामीलाई हाकिमलाई–नेतालाई झैँ भ्रष्टाचार गर्नै पदैन !’
यत्तिखेर चाहिँ हिरा र कीरा छुट्याउन मुूिकल छ । राजनीतिको डढेलोले चरा बिचराहरु बिचल्लीमा छन् । कुइरोले घाम छेकिएको छ
टुँडीखेल चौतारीको वरपीपलमा सरर्र चिसो हावा बग्छ । उखुमले आत्तिएकाहरुले राहत पाउँछन् । फलफूल र सब्जी बेच्ने–किन्नेको सामान्य चहलपहल हुन्छ । चौतारीमा बूढाखाडाको जमघट बढी छ । दुइटी विद्यार्थी केटी आएर बस्छन् । मोबाइलमा ज्ञानु राणाको स्वरको नयाँ गीत बज्छ:
‘मेरो त्यो सानो गाउँभित्र घर छ
गाउँलाई नचिन्ने तिम्रो सहर छ….!’
आजकल नयाँ गीत सुरुमा प्रायः चल्छ, छिट्टै हराउँछ । ०८० को नयाँ वर्ष लागेयता ज्ञानुको स्वरको सावित्रीको गजल चल्दै छ ।
धेरैले मोबाइलमा त्यही धून राखेको पाइँदैछ ।
अझै पनि गाउँ र सहरको भिन्नता टड्कारै छुट्टिन्छ । मान्छेले सहर, ईश्वरले गाउँ बनाएको भन्ने भनाइमा अझै सत्यता झल्किन्छ ।
हाम्रा देवकोटा, डोरबहादुर विष्ट वा रमेश विकलले जस्तै केही लेखकले नेपाल देखेका छन् । धर्मराज थापा, लोकबहादुर क्षेत्री गाउँ चहार्दै गीत बटुल्थे । साँचो अर्थका यात्री बनेर पूर्णप्रकाश हिँड्थे । रामेश, मञ्जुल, जीवन शर्मा पहिले पहिले गाउँ घुम्न निकै रमाउँथे ।
हरिदेवी कोइराला बिरामी शरीरलाई देशैभरि घिसार्दैछिन् । विनोदले पानी माग्दा मोही दिने गाउँलेको गीत लेखेका छन् । ६९ औँ विनोद स्मृति सभामा ‘ज्ञानु राणा अलि ओझेलमा छन् नि सर ?,’ सावित्री गिरीले छुस्स सुनाइन् । मैले कुनै प्रतिक्रिया जनाइनँ ।
ओझेल र प्रकाशलाई कसरी खुट्याउने ? बिपी कोइराला, गणेशमानसिंह, मनमोहन अधिकारी, प्रचण्ड, विप्लव आदिले आफ्ना छोराको नाम प्रकाश राखे । बिपीपुत्र र विप्लवका छोराले नाम धान्न खोज्दै छन् । अरु प्रकाशहरु अँध्यारोकै थमौतीमा दत्तचित्त देखिए । बच्चुकैलास पटक्कै प्रकाशमा आउन चाहँदैनन् । किरण प्रधानलाई नारायण गोपाल स्वयंले ठूलो अन्यायमा पारे ।
भारतकी सुप्रशिद्ध गायिका सुमन कल्याणपुरका दर्जनौँ गीतलाई लता मङ्गेशकरको भनेर प्रचार गरिन्छ । नेपालमा प्रकाश सपूतको हत्या उद्योग चलाइन्छ । प्रकाश भुजेलको झारफुकमा केही बिरामी थुप्रिँदा सरकार हल्लिन्छ र प्रकाश पक्राउ पर्छन् ।
स्वास्नी बटुल्ने भँडुवा प्रकाशको सालिक ठड्याइन्छ । बत्ती नबाल्दा अँध्यारो हट्दैन ।
केही दिनअघि इन्डियन आइडलको एउटा कार्यक्रममा नेहाले हृदयको बत्ती बालिन् । लामो समयदेखि ओझेलमा रहेका प्रशिद्ध गीतकार सन्तोष आनन्द त्यहाँ डाकिएका थिए । नेहाले अश्रुधारा बगाउँदै इक प्यारका नगमा है गाइन् । सय वर्ष नजिक पुगेका बूढाले पनि आँसु थाम्न सकेनन् । नेहाले एक लाख रुपैयाँको थैली भेट चढाइन् ।
थर्थर काम्दै बूढाले अस्वीकार गरे, नेहाले रुँदै गोडा ढोगिन् । भेला आँसुमा डुब्यो । छातीमा भक्कानो पर्छ । ‘मान्छेको मायाँ यहाँ….!’ हाम्रा गोपाल योञ्जन अब रहेनन् । सँगै गाउने ज्ञानु राणा अझै गाउँदै हुनुहुन्छ । आमाको मन, सावित्रीकी आमाले पनि ज्ञानु राणाप्रति कृतज्ञता जनाइन्, ‘ज्ञानु दिदीको स्वरले हाम्रो सानुको शान बढ्यो हगि सर…!’
पुरानो र नयाँ दुई पुस्ताको यो मिलनलाई पृथक आयाम ठान्न सकिन्छ । हाम्रा केही गीत कोषेढुंगाका रुपमा रहेका छन् । मेरो गीत मेरै प्रतिबिम्ब… हाम्रो संगीत सँसारको अमूल्य निधि हो । ज्ञानु, यो मायाँ लैजाऊँ जीवनभर… नारायण गोपाललाई भन्थिन् ।
च्याङ्बा होई च्याङ्बा…गोपाल योञ्जनलाई जिस्क्याउँथिन् । मन मेरो भुर्रभुर्र उडिरहन्छ… भन्दै हाँस्थिन् ।
१ हजारभन्दा बढी गीत गाएकी ज्ञानु राणालाई कुनै बेला लता मंगेशकरकै हाराहारीमा राखिन्थ्यो । ३० को दशकमा म त सानी सानी गीतमा ननाँच्ने डान्सर नेपालमा नहोलान् । यत्तिखेर चाहिँ हिरा र कीरा छुट्याउन मुश्किल छ । राजनीतिको डँढेलोले चरा बिचराहरु बिचल्लीमा छन् । कुइरोले घाम छेकिएको छ । ज्ञानु राणाका महान् भजनहरु, सुन्दरतम् बालगीतहरु माथिका धूलो सफा गर्न युवा पुस्ताले फूर्सद पाइरहेका छैनन् तर वृत्ति, प्रवृत्ति, परिस्थिति, वस्तु, व्यक्ति बदलिइरहन्छन् ।
बादलले घामलाई सधैँ छेकिरहन सक्दैन । हजारौँ वर्षदेखि बगेर आएको संगीतको धारालाई अब युवा पुस्ताले जनवादी र सामन्तवादीको कित्ताकाट गर्दैनन् । आनन्द सन्तोषको गजललाई ५० वर्षपछि नेहाले उच्च मूल्याङ्कन गर्छिन् । सावित्री गिरी आफ्नो गजलका लागि स्वर खोज्दै ७५ नाघेकी ज्ञानु राणाकहाँ पुग्छिन् । आफ्नी सानीलाई टिठ्याउँदै आमा ठीकै भन्छिन्, ‘ज्ञानुको स्वरमा सानीको शान बढेको छ !’ त्यो शानमा सावित्रीले सान लगाउनै पर्छ ।

मदन भण्डारी
साहित्यकार भण्डारी राजनीतिक क्षेत्रमा पनि विश्लेषणात्मक कलम चलाउँछन्
तपाईको प्रतिक्रिया