मुख्यमन्त्रीकाे आदेशः उजुरी दर्ता गर्न नेताको फोन नकुर्नुहोस्

समाधान संवाददाता २०७६ जेठ १७ गते ८:४६

समाधान संवाददाता

नेपाल प्रहरीको बिग्रिएको छवि सुधारोन्मुख भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । २००७ सालपछिको प्रजातन्त्रले प्रहरी संगठनको खाँचो औल्याई सञ्चालनमा ल्याएपनि पञ्चायत व्यवस्थाले प्रहरीलाई राजनीतिक मुद्दामा प्रयोग गरेका कारण नागरिकसँगको सम्बन्ध भत्किएको दृष्टान्त उनले उल्लेख गरे ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गत निर्माण भएको व्यायामशाला उद्घाटन पछि बोल्दै मुख्यमन्त्री गुरुङले प्रहरीको व्यावसायिक आचरण निरन्तर सुधार हुँदै गइरहेको सुनाए ।

Advertisement

‘नेपाल प्रहरी सबैभन्दा राजनीति हुने थलो हो,’ उनले भने, ‘व्यवस्था बद्लियो, संरचना बद्लियो अब पनि एउटै व्यक्ति माथि आस्थावान् हुने परिपाटीको अन्त्य हुनुपर्छ ।’ अनुसन्धानमा अब्बल हुन हाइटेक प्रविधिमा आधारित तालिम प्रदान गरी व्यावसायिक रुपमा सक्षम बनाउनुपर्ने उनले सुनाए ।

प्रहरी सञ्चालन संविधान अनुसार प्रदेश सरकारलाई अधिकार भएपनि संघीय सरकारले बाटो नदिँदा बिलम्ब भएको जानकारी दिए । प्रहरीको संख्यात्मक भन्दा पनि गुणात्मक विकासमा जोड दिनुपर्ने आजको आवश्यकता रहेको मुख्यमन्त्री गुरुङले बताए ।

Advertisement

नेपाली प्रहरी लगायतका सुरक्षा निकाय अन्य देशसँग तुलनात्मक रुपमा ज्यादै कमजोर नभएको पुष्टि गएको ०७२ को भूकम्प पछिको मानव उद्दारमा गरिसकेको भन्दै प्रशंसा व्यक्त गरे । उनले भने, ‘जोमिख मोल्न हाम्रा सुरक्षाकर्मी कम छैनन, अझै गुणात्मक विकासमा जोड दिनुपर्छ । प्रहरीलाई क्षमतावान बनाउन प्रदेश सरकारले सहयोग गर्छ ।’

प्रहरी कहाँ उजुरी आएपछि दर्ता नगरी अल्झाउने काम बन्द गर्न समेत मुख्यमन्त्री गुरुङ निर्देशन दिए । ‘पीडित उजुरी लिएर न्याय खोज्दै प्रहरीकहाँ आउँछ । प्रहरीले उजुरी नै दर्ता नगरी यो कसको मान्छे रहेछ, कोसँग आबद्ध छ भनेर खोज्न थाल्छ,’ उनले भने, ‘को नेताको फोन आउँछ भनेर उजुरी दर्ता गर्न कुरेर बस्ने होइन । पीडितको उजुरी तत्काल दर्ता गर्ने र अनुसन्धान थाल्ने काम प्रहरीले गर्नुपर्छ ।’

पहुँचबिना उजुरी दर्ता हुन नसकेको गुनासो आफूसँग आउने गरेको सुनाउँदै मुख्यमन्त्री गुरुङले सामान्य नागरिकका समस्यालाई प्राथमिकतामा राख्न सुझाव दिए । कानुन नै परिवर्तन भइसकेको अवस्थामा समेत प्रहरीले आफूलाई परिवर्तन गर्न नचाहनु विडम्बना भएको उनले बताए ।

समुदायमा आधारित संस्थाहरुले देखाएको उदारताले प्रहरीसँग नागरिकको सम्बन्ध सुधार हुँदै गइरहेकोप्रति मुख्यमन्त्री गुरुङले ‘प्रहरी समुदाय साझेदारी कार्यक्रम’ सफल भएको बताए ।

प्रहरी कार्यालयमा व्यायामशाला
जिल्ला प्रहरी कार्यालय कास्कीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत व्यायामशाला निर्माण गरिएको छ । सुरक्षा दिन खटिने प्रहरी कर्मचारीलाई स्वस्थ र फुर्तिलो बनाउन व्यायामशाला निर्माण गरिएको हो । व्यायामशाला निर्माणका १३ लाख ५० हजारभन्दा बढी खर्च भएको निर्माण समितिका कोषाध्यक्ष अमृत भट्टराईले जानकारी दिए ।

शान्ति सुरक्षाका लागि खटिने प्रहरीको शारीरिक रुपमा तन्दुरुस्त बनाउन व्यायामशाला निर्माण गरिएको समितिका उपाध्यक्ष शिव न्यौपानेले बताए । व्यायामशाला गौतम थापाको संयोजकत्वमा निर्माण भएको हो । निर्माणमा सहयोग गर्ने दाताहरुलाई मुख्यमन्त्री मार्फत प्रशंसापत्र वितरण गरियो ।

तपाईको प्रतिक्रिया