क्यान्सर पीडितलाई सहयोग अभियान

समाधान संवाददाता २०८० असार ४ गते ११:३८

पोखरा ।
पोखरा ३१ बेगनासतालका स्थानीय युवाहरुले स्थानीय विपन्न परिवारका क्यान्सर पीडित बिरामीलाई सहयोग अभियान चलाएका छन् । यसका लागि संस्थागत र व्यक्तिगत रुपमा रकम संकलन गरी बिरामीका परिवारलाई हस्तान्तरण गरिएको छ ।

Advertisement


स्थानीय सामाजिक संस्था पोखरा हर्ट ग्रुपले पोखरा ३१ किमबेसी निवासी ४० वर्षकी हरिमाया नेपालीलाई पाठेघरको क्यान्सर उपचारका लागि स्थानीयबाट संकलन गरेको ३१ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त रकम पोखरा हर्ट ग्रुपको तर्फबाट स्थानीय युवा समाजसेवी पुरुषोत्तम अधिकारी, शोभा लामिछाने, सरु बराल लगायतको सक्रियतामा संकलन गरिएको हो ।

रकम हस्तान्तरण कार्यक्रममा वडा नम्बर ३१ का जनप्रतिनिधि देवेन्द्रराज अधिकारी, विनोद लामिछाने, वीरेन्द्र ढकाल लगायत सहभागी थिए ।


पोखरा ३१ कै सामाजिक व्यक्ति ज्ञानेन्द्र कोइराला अधिकारीको नेतृत्वमा पोखरा २९ की ५ वर्षीय क्यान्सर पीडित बालिका स्मारिका थापाका लागि रकम संकलन अभियान सञ्चालन गरिएको छ । पोखरा वडा नं १८ घर भई वडा नम्बर २९ बस्दै आएका देवबहादुर थापा र किस्मिता श्रेष्ठ थापाकी छोरी स्मारिका थापालाई ब्लड क्यान्सर भएको हो ।

स्थानीय लिटिल गार्डेन मन्टेसरीमा अध्ययनरत, पीडित बालिकाको आर्थिक अवस्था अत्यन्तै नाजुक भएका कारण सहयोग रकम संचालन गरिएको अभियान संयोजक ज्ञानेन्द्र कोइराला अधिकारीले बताइन् । स्मारिका काठमाडौंको जावलाखेलस्थित ब्लड हस्पिटलमा उपचाररत छिन् ।

Advertisement

तपाईको प्रतिक्रिया