पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान

सञ्जय रानाभाट २०८० असार ७ गते १०:५७

सञ्जय रानाभाट, पोखरा ।
नयाँ अंग्रेजी वर्षको अवसरमा गत पुस १७ गतेबाट नियमित आन्तरिक उडान सुरु भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान भयो । चार्टड गरी चीनको छेन्दु तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको विमान बुधबार बिहान ९ बजेर ६ मिनेटमा पोखरा विमानस्थलमा अवतरण भएको हो ।

Advertisement


पहिलो अन्तर्राष्ट्रिय उडान हेर्न बुधबार विमानस्थलमा पुगेका सरोकारवाला निकाय, नागरिक समाज र पर्यटन व्यवसायी निकै हर्षित देखिन्थे । सबैभन्दा बढी पर्यटन व्यवसायी उत्साहित थिए । अब पोखरामा चिनियाँ पर्यटक बढ्ने उनीहरुको अपेक्षा छ ।

तर, बुधबार नियमित उडानको कुनै छेकछन्द छैन । नागरिक उड्डयान प्राधिकरणले पनि पोखरा—चीन, चीन—पोखरा नियमित उडान कहिले हुन्छ तोक्न सकेको छैन ।


अन्तर्राष्ट्रिय उडानपछि भएको कार्यक्रममासंस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले बारम्बार एउटै कुरा दोहो¥याइरहे—‘चार्टर उडानले उत्साहित बनाएको छ । अब नियमित उडान गर्नेगरी काम गर्ने र्छौं ।’ मन्त्री किराँतीले नेपाल र भारतबीचको सम्बन्ध सुदृढ रहेकाले नियमित उडान पनि छिट्टै उनले विश्वास व्यक्त गरे ।


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि चार्टड उडानले पोखरेलीलाई उत्साहित बनाएको सुनाउँदै नियमित उडान छिट्टै हुने विश्वास व्यक्त गरे । ‘चीनसँग हामी सडक कनेक्टिभिटी पनि विस्तार गर्दै छौं । हवाई उडान पनि नियमित भए हामीले सोचे जस्तो पर्यटक वृद्धि गर्न सकिनेछ,’ पाण्डेले भने ।

Advertisement


नेपाल पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मीले चार्टर उडानले पोखरा सुरक्षित छ भन्ने सन्देश प्रवाह गरेको सुनाए । ‘विश्व बजारमा पोखरा विमानस्थल सुरक्षित छ भन्ने सन्देश गएको छ । अब चार्टडमात्र होइन, नियमित हुन्छ भन्ने विश्वास हामी सबैको छ,’ सिइओ रेग्मीले भने ।


पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यो उडानले नयाँ अन्तराष्ट्रिय विमानस्थल सुरक्षित भएको सन्देश विश्व बजारमा पुगेको बताए । उनले अब विश्वका विभिन्न देशबाट पोखरासँग सीधा उडान हुने विश्वास सुनाए ।


राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सबै सम्बन्धित पक्षले जागरुकता देखाउनुपर्ने विचार राखे । उनले उडान नियमित गर्न सकेमात्रै पर्यटन प्रवद्र्धन हुने बताए । उनले बुधबारको खुसीयालीलाई नियमित बनाउन पोखरा महानगर, पर्यटन व्यवसायी, केन्द्रीय सरकार, प्रदेश सरकार र मित्र राष्ट्रहरुले साझा प्रयत्न आवश्यक हुने सुनाए ।


‘अब तयारी गरेर यो उडानलाई नियमित गर्नु छ । उद्घाटन भएको ६ महिनापछि एउटा अन्तर्राष्ट्रिय चार्टड उडान गरेर अर्को ६ महिनामा अर्को चार्टड विमान आउने भयो भने केही अर्थ हुँदैन । आजको खुसीयाली धेरै टिक्दैन,’ उनले भने ।


कोरला नाकामा चिनियाँ पक्षले सबै पूर्वाधार निर्माण गरिसके पनि नेपालले चासो नदेखाएको उनले औंल्याए । चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहितको टोली बुधबार चीनबाट आएको चार्टड विमानबाटै पोखरा झरेका हुन् ।

सांसदहरू प्रदीप यादव, धवलशम्शेर जबरा, दीपा गुरुङ, उदयबहादुर बोहरा, हरिशंकर चौधरी, जीवन परियारसहितको टोली जेठ २७ चीन पुगेको थिए ।


सिचुवान एयरलाइन्सबाट बुधबार १ सय ३० यात्रु पोखरा विमानस्थलमा ओर्लिएका हुन् । दक्षिण एसियामै पहिलोपटक पोखरामा आयोजना गरिएको ड्रागन बोट रेस फेस्टिबलको अवसरमा चार्टर्ड फ्लाइटबाट चिनियाँ नागरिकहरु पनि पोखरा आइपुगेका छन् । पोखरा महानगरपालिका, चिनिया दूतावास र पर्यटन बोर्डको संयुक्त कार्यक्रममा असार ८ र ९ गते पोखरामा बोट रेस आयोजना हुँदै छ ।


बोट रेसका लागि खेलाडीसहित १ सय २० भन्दा बढी चिनियाँ पर्यटक आएका हुन् । उनीहरुलाई बुधबार विमानस्थलमा नेपाली टोपी लगाएर स्वागत गरिएको छ । पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानतर्फ बुद्ध एयरले भारतका ३ गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने योजना बनाए पनि भारतले रुट नदिँदा सफल भएको छैन ।


पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न कोरियन एयर, बिज एयर, हिमालय, नेपाल वायुसेवा निगम लगायतले चासो देखाएको प्राधिकरणले जनाएको छ । यो विमानस्थलबाट १ सय ५० देखि १ सय ८० जना यात्रु बोक्ने एयर बस ३२० र बोइङ ७५७ ले यहाँ उडान भर्न सक्छन् । विमानस्थल फोर डी श्रेणीको भएकाले रनवेको लम्बाइ २ हजार ५ सय मिटर छ । अन्तर्राष्ट्रिय जहाजले पूर्वपट्टीबाट मात्रै उडान र अवतरण गर्ने छ । चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा विमानस्थल बनेको हो ।

एकै दिन भारतीय र चिनियाँ राजदूत पोखरामा
पोखरामा बुधबार २ छिमेकी देशका राजदूत २ फरक कार्यक्रममा सहभागी भए । भारतीय राजदूत नवीन श्रीवास्तव नवौं अन्तर्राष्ट्रिय योग दिवस मनाउन पोखरा आइपुगेका हुन् भने चीनका राजदूत छन् सोङ अन्तर्राष्ट्रिय उडान अन्तर्गत चीनबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक विमान अवतरणपछि आयोजित कार्यक्रममा सहभागी हुन आएका हुन् ।


१ जनवरी, २०२३ देखि सञ्चालनमा आएको विमानस्थलमा बुधबारअघि अन्तर्राष्ट्रिय उडान भएको थिएन । चिनियाँ राजदूत सोङले चार्टर्ड उडानले सबैलाई हर्षित र रोमाञ्चित बनाएको सुनाए । उनले पोखरा विमानस्थल बिआरआई परियोजना अन्तर्गत बनेको जिकिर गरे ।


‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा बिआरआई परियोजना अन्तर्गत भएको हो,’ उनले भने, ‘यो बहुआयामिक कनेक्टिभिटीले चिनियाँ इन्जिनियरिङको गुणस्तरलाई मूर्त रूप दिन्छ भन्ने विश्वास लिएको छु ।’


चार्टर्ड उडानलाई वास्तविकतामा परिणत गरेकोमा सिचुआन एयरलाइन्सलाई उनले धन्यवाद दिए । चीनबाट ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुन पोखरा आएका प्रतियोगीलाई राम्रो नतिजा हासिल गर्नसमेत उनले शुभकामना दिए । नेपाल र चीनको सम्बन्ध १५ सय वर्षदेखि रहेको र यो निरन्तर चलिरहने उनको भनाइ छ ।


अर्कोतिर, भारतीय राजदूत नवीन श्रीवास्तवले पनि नेपाल र भारतको सम्बन्ध सदिऔंदेखि रहँदै आएको सुनाए । उनले भारतसँग नेपालको सडक कनेक्टिभिटी विस्तार भइरहेकाले थप विस्तार गर्न नेपाल र भारत सरकार लागिपरेको उल्लेख गरे । तर, पोखरा–भारत सिधा हवाई उडानबारे उनले केही बताएनन् ।


उनले पोखरामा योग गराउने गरी पर्यटन प्रवद्र्धन भइरहेकोमा खुसी लागेको सुनाए । ‘नेपालमा धार्मिक पर्यटनको विकास भइरहेको छ । यहाँबाट पनि थप सांस्कृतिक सम्बन्ध अझै गाढा हुँदै जान्छ भन्ने विश्वास गरेको छु,’ उनले भने, ‘विश्वका धेरै मानिसको योगमा आकर्षण छ । यसमाथि पोखरामा धेरै भारतीय पर्यटक आउने गर्छन् ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया