प्रेस स्वतन्त्रता सेनानी सम्मान र त्रिभुवन

कोमलनाथ बराल २०८० असार ८ गते १२:१४

लामो समयको अन्तरालपछि यो सानो खेस्राको टुक्रा प्रस्तुत गर्न गइरहेको छु । यति लामो समयको मौनतामा किन रहेँ म आफै ठ्याक्क भन्न सकिरहेको छैन । विषय हो प्रेस स्वतन्त्रता सेनानीको सम्मान प्राप्त गर्दाको क्षण । विक्रम संवत २०७९ साल पुस ८ र ९ गते नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले साधारण सभाको कार्यक्रम कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजना भएको थियो ।

Advertisement


तत्कालीन राष्ट्रपती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालित थियो । देसभरका १५÷२० जना पत्रकारका साथै कास्की जिल्लाका पत्रकार नारायण कार्की, पुण्यप्रसाद पौडेल र यो पंक्तिकार समेत सम्मान प्राप्त गर्ने सूचीमा परेका रहेछौं । सो कुरा त्रिभुवन पौडेलले पुस ६ गते साँझ मलाई फोनमार्फत जानकारी गराएका थिए । भोलिपल्ट बिहानै कास्की शाखाकी अध्यक्ष विमला भण्डारीको फोन आयो, ‘तपाईहरु तीन जना दाजुहरुलाई सुर्खेत जान जहाजको टिकट मिलाएकी छु, १० बजे नै एयरपोर्ट पुग्नुहोला ।’


त्यसपछि हतार हतार खाना खाईवरी एयरपोर्ट पुग्दा साथीहरु पनि पुगिसक्नु भएको रहेछ । दुर्भाग्यवस २ घण्टाको पर्खाइपछि जहाजको उडान क्यान्सिल भएको खबर आयो । जसरी पनि सुर्खेत त जानु नै थियो त्यसैले १२/१५ जनाको समूह माइक्रो रिजर्भ गरेर रातारात कोहलपुरसम्म त पुग्न सकियो तर यात्रा अत्यन्त कठिन थियो । सम्झदा अहिलेपनि ज्यान दुखेको अनुभूति हुन्छ ।


जे होस १२ घन्टे यात्राले थकित भएका हामी चार घन्टे कोहलपुरको आरामबाट रिफ्रेस हुँदै भोलिपल्ट बिहान सुर्खेत पुगेर कार्यक्रममा सहभागी हुन पाउँदा अघिल्लो दिनको थकावट एवं कठिनाई बिर्सिइसकेका थिर्यौ ।

नबिर्सिएर सुखै थिएन पनि । देशैभरबाट जम्मा भएका पत्रकारका प्रतिनिधिले सभाहल भरिभराउ थियो । पत्रकारको कार्यक्रम भिडियो क्यामेरा, क्यामेरा र मोवाइलबाट फोटा खिच्ने लगायत तामझामका बीच राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गरेकी थिइन् । मञ्चमा राजनीतिक दलका नेताहरुका साथै पत्रकार महासंघका केन्द्रीय पदाधिकारी एवं सुरक्षा निकायका प्रमुख समेतको उपस्थिति थियो ।

Advertisement


राष्ट्रपति भण्डारीवाट पत्रकारहरुलाई कदरपत्र, सम्मानपत्र तथा पुरस्कारसमेत वितरण गरिएको थियो । उपस्थित राजनीतिक दलका नेताहरुद्धारा शुभकामना व्यक्त गरिएको सो कार्यक्रमलाई राष्ट्रपति भण्डारीले समेत सम्बोधन गरी पत्रकार जगतलाई हौसला थप्ने काम गरेकी थिईन् ।


कार्यक्रममा हामी कास्कीका ३ पुराना पत्रकारले समेत प्रेस स्वतन्त्रता सेनानीको सम्मान पाउँदा निकै गौरवान्वित भएको महसुस गरियो । हुन त यो प्रेस स्वतन्त्रता सेनानीको सम्मान अन्तरराष्ट्रिय परम्परा नै रहेछ । किनभने हरेक मुलुकमा समाज रुपान्तरणको अभियानमा योगदान पुर्‍याएवापत पत्रकारलाई प्रेस फ्रिडम फाइटर अर्थात् प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरिने रहेछ ।


अतः नेपाल पत्रकार महासंघले पनि विगत वर्षदेखि नै यस्तो प्रचलन चलाएको प्रति हामी अवगत नै छौं । आगामी दिनमा अरु पत्रकार साथीहरुले पनि यो सम्मान प्राप्त गर्दै जाने छन् । यसै सन्दर्भमा मेरो अत्यन्त निकट, स्नेही एवं सहयोगी पत्रकार मित्र त्रिभुवन पौडेलसँगको अन्तिम सहकार्यलाई पनि नजोडी मनले मानेन । पुष ९ गते बिहानै हाम्रो समूह नेपालगञ्ज हुँदै पोखरा फर्कने तयारीमा जुट्यो । मेरो अघिल्लो दिनमै त्रिभुवनसँग नेपालगञ्जहुँदै पोखरा फर्कने सल्लाह भएको थियो ।


अध्यक्ष विमला भण्डारीले हामी तीन जनाका लागि जहाजको टिकट मिलाएकै थिइन् । जहाज उड्ने नउड्ने भने निधो थिएन ।

हाँस्दै र रमाउदै हाम्रो समूह नेपालगञ्ज पुग्दा त्रिभुवन पनि माओवादी नेता महरासँग त्यही पुगेका रहेछन् । नेता कृष्णवहादुर महराले त्यहाँ पत्रकार भेटघाट र कार्यकर्तासँग कुराकानी गर्ने व्यवस्था त्रिभुवनले नै मिलाएका रहेछन् । उनले ती भेटघाटमा मलाई समेत सहभागी गराउने चाँजोपाँजो मिलाए । भेटघाटपछि हामीले सँगै खाना खायौं । सँगै खाना खानेमा नारायण कार्की, पुण्यप्रसाद पौडेल, यो पंक्तिकार, त्रिभुवन, दीपेन्द्र श्रेष्ठ र एक जना पत्रकार बहिनीसमेत थियौं ।


हाँमीसँगै नेपालगञ्ज एयरपपोर्ट पुग्यौ र भिआइपी रुममा बस्नेसमेत त्रिभुवनले नै बन्दोबस्त मिलाएका थिए । भाग्यमा विश्वास नभए पनि त्यो दिन भने भाग्यबस जहाजले प्mलाईट क्यान्सिल गरेन र हामी पाँचै जना एउटै प्mलाइटमा पोखरा फिर्ता भयौं ।

पत्रकार मित्र वद्रीविनोद प्रतीकजी हामीलाई रिसिभ गर्न एयरपोर्ट आउनु भएको रहेछ । हामी सकुशल घरमा पुग्यौं ।


यहा मैले के कुरा जोड्न खोज्दै छु भने पत्रकार त्रिभुवनसँग पुस महिनाको बाँकी २० दिन भौतिक रुपमा भेटघाट तथा सहकार्य हुन पाएन । केवल मााघे संक्रान्तिको अघिल्लो दिन उनीसँग मेरो फोन भएको थियो । म पनि काठमाडौमा थिए । भोलिपल्ट भेट हुने कुरका थियो । तर त्यो फोन अन्तिम रहेछ । त्यो भोलि कहिल्यै आएन ।


२०५६ सालदेखिको सहकार्यको मेरो डोरी त्यसै दिन चुँडिएछ । त्रिभुवनलाई मैले पत्रकार विद्यार्थीदेखि पत्रकार नेताका रुपमा समेत सहकार्य गर्दा कहिल्यै नमीठो र असहयोग भएन । उनले मलाई सधै सम्मानपूर्वक सहयोग गरे । उनले छोटै समयमा शैक्षिक हैसियतमा, राजनीतिक हैसियतमा तथा सामाजिक र आर्थिक हैसियतमा समेत दुनियाँलाई चमत्कार आफ्नो जीवनयात्रा समाप्त गरे । उनको जीवनयात्रा पनि नेपालको वायु सेवाको अव्यवस्थाका कारण अन्त्य हुन गएकोमा अत्यन्त दुःखी छु । यो ७२ जना नेपाली सन्ततीलाई एउटै भंगालमा जलाउने जस्ता भयावह दुर्घटनाप्रति सम्बन्धित संस्था र नेपाल सरकार कहिले कति संवेदनशील एवं गम्भीर होला, नेपाली जनता प्रतीक्षारत छन् ।

तपाईको प्रतिक्रिया