वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा २५ करोड ६२ लाखको बजेट सार्वजनिक

समाधान संवाददाता २०८० असार १० गते १८:५५

जोमसोम—मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आईतबार २५ करोड ६२ लाख बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १७ औं गाउँ सभा अधिवेशन तथा आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट अविशेनमा उपाध्यक्ष ढिकी गुरुङले उक्त परीमाणको बजेट खाँका प्रस्तुत गरेकी हुन् ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका कार्यालयको सभाहलमा आयोजित नीति तथा कार्यक्रम र बजेट अधिवेशनमा उपाध्यक्ष ढिकी गुरुङले कुल बजेटको चालु खर्चतर्फ १६ करोड ५ लाख ४४ हजार र पुंजिगत विकास खर्चतर्फ ९ करोड ५६ लाख ३९ हजार रहेको जानकारी दिईन् । उनले प्रस्तुत गरेको कुल बजेटको ६२ दशमलव ६७ प्रतिशत र पुँजिगत विकास खर्चतर्फ ३७ दशमलव ३३ प्रतिशत रहेको छ ।

Advertisement


संघीय सरकारबाट प्राप्त अनुदान अन्तर्गत वित्तिय समानिकरण ६ करोड उनानब्बे लाख लाख ,सर्शत अनुदान ७ करोड ७४ लाख, विशेष अनुदान १ करोड ५० लाख र राजश्व बाँडफाँडतर्फ ४ करोड २९ लाख रहेको उपाध्यक्ष ढिकी गुरुङले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।


संघीय सरकारको अनुदान अन्तर्गत सर्शत पुँजिगत अनुदान १ कराृड ३३ लाख छ भने चालुतर्फको सशर्त अनुदान ६ करोड ७१ लाख रहेको छ ।


यसैगरी बजेटमा गण्डकी प्रदेश अन्तर्गत वित्तिय समानिकरण अनुदान ५२ लाख १३ हजार, विशेष अनुदान ३० लाख ,प्रदेश समपुरक अनुदान ३० लाख र प्रदेश राजश्व बाँडफाँड ४८ लाख ४४ हजार रहेको छ । बजेटमा १ करोड ७ लाख आन्तरिक मौज्याद समेटिएको उपाध्यक्ष ढिकी गुरुङले सार्वजनिक गरेको बजेट वक्तव्यमा उल्लेख गरिएको छ । यस्तै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आगामी आर्थिक वर्ष करिव ३५ लाख १० हजार संकलन गर्ने प्रक्ष्येपण गरेको बताईएको छ ।
वारागुङले पेश गरेको बजेट कार्यान्वयनमा गाउँपालिकाको आर्थिक,सामाजिक,भौतिक तथा मानवीय क्षमता विकासका गतिविधि सम्पादन गरी पालिकालाई सक्षम र समृद्ध गाउँपालिका बनाउनेतर्फ अग्रसर रहने उल्लेख गरिएको छ ।
वारागुङको १७ औं अधिवेशन तथा बजेट अधिवेशनको यसअघिका पालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङ(धारा)ले उद्घाटन गरेका थिए ।बजेट अधिवेशनको उद्घाटनमा पूर्व अध्यक्ष गुरुङले पालिकाको समग्र विकासका लागि राजनीति आग्रह र पूर्वाग्रह छोडेर अघि बढ्नु पर्ने बताए । कागबेनी छोदे गुम्बाका खेम्बो फन्चोक गुरुङले स्थानीय तहले प्रस्तुत गरेको बजेटमा धार्मिक बुद्धिस पाठशालाहरुलाई समेट्न नसकेको दुखेसो सुनाए ।उनले बुद्धिस पाठशालाहरुलेनै धार्मिक दर्शनको विस्तार संस्कृति संरक्षणमा योगदान पुग्ने भएकाले यसतर्फ पालिकाको ध्यान जान आवश्यक रहेको औल्याए ।
यसैगरी वारागुङ—५ का वडाध्यक्ष प्रमेश गुरुङले संघीय र प्रदेश अनुदान घट्दै गईरहेकाले आन्तरिक श्रोत बढाउन सबै व्यवसायीहरु सकारात्मक रहनुपर्ने सुझाए ।
यसअघि वारागुङको नीति तथा कार्यक्रम पालिका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा पूर्वाधार विकाससहित शिक्षा,स्वास्थ्य,विपद् व्यवस्थापन ,संस्कृति संरक्षण र पर्यटन विकासका लागि विभिन्न योजना समेटिएको पालिका अध्यक्ष गुरुङले बताए । नीति तथा कार्यक्रममा कर्मचारी कार्यसम्पादनलाई प्रोत्साहित गर्दै लगिने जनाईएको छ ।
अधिवेशनमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर थापाले स्वागत मन्तब्य दिएका थिए ।
गाउपालिकाको १७ औं अधिवेशनमा पालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिहरुले सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया