गुरुयोजना बनाउँदै पाेखरा महानगर

पोखरा ।
राज्य पुनर्सरचनासँगै बनेको भौगोलिक रुपमा सबैभन्दा ठूलो पोखरा महानगरपालिकाको गुरुयोजना बनाउन थालिएको छ ।
पोखरालाई स्वच्छ, सफा सुरक्षित, सभ्य र आधुनिक सहरको रुपमा विकास गर्ने लक्ष्य हासिल गर्न महानगर गुरुयोजना बनाउन लागेको मेयर धनराज आचार्यले बताए ।
साविक पोखरा उपमहानगरपालिकाको गुरुयोजना बनाइएको थियो । लेखनाथ नगरपालिकासहित भरतपोखरी, निर्मलपोखरी, कृस्ती, पुम्दीभुम्दी, कास्कीकोट, सराङकोट, हेमजा, पुरुन्चौर, लामाचौर, अर्मला, मौजा, आर्वा, काहुँ, भलाम गाविस, र भदौरे तमागी, कालिका, माझठानाका केही वडा समेटेर ३३ वडा बनेको पोखरा महानगरको गुरुयोजना छैन ।
१३ औं नगरसभाको उद्घाटन सभामा मेयर आचार्यले ग्रामीण क्षेत्रका वडा, साविक लेखनाथ र पोखराको सहरी क्षेत्रको भौगोलिक, सामाजिक तथा आर्थिक अवस्थालाई समेटेर आगामी ६ महिनाभित्र गुरुयोजना तयार पारिने सुनाए । ‘महानगरले तर्जुमा गरेको त्रिवर्षीय आवधिक योजनाको समयावधि आर्थिक वर्ष २०८०/०८१ मा समाप्त हुनेछ,’ उनले भने, ‘आगामी आर्थिक वर्षभित्र स्थलगत विशेषतामा आधारित दोस्रो आवधिक योजना तर्जुमा गरिनेछ ।’
विश्व बैंक, एसियाली विकास बैंक, जाइका लगायतका दातृ निकायबाट २८ अर्बभन्दा बढी लगानी जुटेको दाबी
महानगरको प्रोफाइल तयार पार्ने क्रममा रहेको उल्लेख गर्दै उनले प्रोफाइलको ५० प्रतिशत काम सकिएको जानकारी दिए । मेयर आचार्यले दीर्घकालीन सोंच अनुरुप मार्गचित्र आवधिक योजना र क्षेत्रगत रणनीति योजना तर्जुमा गरिने उल्लेख गरे । उनले नेपाल सरकारको १५ औं आवधिक योजना, सन २०३० सम्म हासिल गर्ने दिगो विकास लक्ष्यसँग जोडेर योजना तथा रणनीतिअघि बढाउने जानकारी दिए ।
पोखरामा अहिले सबभन्दा ठूलो विदेशी अनुदान तथा ऋणको व्यवस्थापन गरेको उनले दाबी गरे । मेयर आचार्यले विश्व बैंक, एसियाली विकास बैंक, जाइका लगायतका दातृ निकायबाट २८ अर्बभन्दा बढी अनुदान तथा ऋण सहयोग आएको जनाए ।
उनले सबभन्दा धनी व्यक्ति बस्ने पोखराको प्रतिव्यक्ति आय १ हजार ८ सय ८८ अमेरिकी डलर भएको उल्लेख गरे । सहरी योजना आयोगको कार्ययोजना तयार पारेको जानकारी दिँदै उनले उपाध्यक्षमा पूर्व प्रशासक प्रेमलाल लामिछानेसहित सहरी योजना आयोगको टिम बनाएको उल्लेख गरे । मेयर आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न नेपाल सरकारलाई अनुरोध गरिएकोमा १ हप्ताभित्र मन्त्रिपरिषद्मा पेश हुने गराए ।
उपमेयर मञ्जुदेवी गुरुङले चालु आर्थिक वर्षमा अपेक्षा गरे अनुसारको राजस्व संकलन नभएको सुनाइन् । करको दर घटाएको भएता पनि दायरा बढाउन नसकेको स्वीकार्दै उनले आगामी आर्थिक वर्षमा राजस्व शाखाको संस्थागत सुदृढीकरण गर्ने बताइन् । उनले घुम्ती सेवामार्फत घरदैलो व्यवसाय दर्ता र कर संकलनको व्यवस्था मिलाइने जानकारी दिइन् ।
पोखरा महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका क्रममा महानगरले कठिनाइपूर्वक ल्यान्डफिल साइट व्यवस्थापन गरेको उल्लेख गरे । उनले अहिले वडा स्तरमा कम बजेट गएकोमा सानो मन नगर्न नगरसभा सदस्यहरुसँग अनुरोध गरे ।
नेपाली कांग्रेस दलका नेता तथा वडा नम्बर २ का अध्यक्ष दिवसमान प्रधानांगले सर्वोच्च अदालतको फैसला अनुसार फेवातालको ६५ मिटर मापदण्ड लागू गर्न मेयर, उपमेर तथा व्यक्तिगत रुपमा कसैले केही गर्न नसक्ने बताए । यसका लागिसबै जनप्रतिनिधि तथा नागरिक समाजको साथ र समर्थन आवश्यक पर्ने औंल्याए ।
सभामा नेकपा (एमाले) दलका नेता तथा वडा नम्बर १७ की अध्यक्ष राधिका शाही योगीले आधारभूत तहका जनताको जीवनस्तरमा सुधार तथा मानवीय विकासमा ध्यान दिनुपर्ने बताइन् । महानगरका सबै काम नीतिगत तथा विधिवत रुपमा हुनुपर्ने उल्लेख गर्दै उनले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि जनप्रतिनिधिका अलवा सबै महाशाखा सक्रिय हुनुपर्नेमा जोड दिइन् ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले नगर सभामा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम, आर्थिक विधयेक २०८०, विनियोजन विधेयक २०८०, बजेटका अलवा कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि ऐन २०८०, न्यायिक समितिको प्रतिवेदन २०८० पेश हुने जानकारी दिए ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया