सम्पादकीयः डिजिटल भुक्तानी सबैतिर होस्

अचेल मानिसहरु नगद लिएर हिँड्दैनन् । मोबाइलबाट डिजिटल वालेटमार्फत नै पैसा लिनेदिने गर्न मिल्ने भएपछि किन नगदको जोखिम लिइहिँड्नु ? नेपालमा भन्दा भारत, चीनमा पनि डिजिटल भुक्तानीको संस्कृति धेरै छ । त्यसैले त हालै प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला दुई देशबीच डिजिटल भुक्तानीको सहकार्य सम्बन्धी सम्झौतासमेत भयो ।
नेपालीहरुले भारतले मोबाइलमार्फत नै डिजिटल वालेटबाट भारतमा र भारतीयले नेपालमा भुक्तानी गर्न सक्ने व्यवस्थाले दुवैलाई सजिलो बनाउँछ । नेपालमा आउने भारतीय पर्यटकले नगद नबोकी आए पनि मोबाइलबाटै आफ्नो खर्चपानी चलाउन सक्छन् । त्यस्तै चीनमा निकै चल्तीमा रहेको विच्याट एपमार्फत पनि नेपालमा भुक्तानी गर्न मिल्ने सुविधा हालै एनएमबी बैंकको सहकार्यमा सुरु भएको छ । यो खुसीको कुरा हो ।
विच्याटबाट पनि नेपालमा भुक्तानी सहज हुनु भनेको चिनिया पर्यटकले नेपालमा खर्च गर्न सजिलै सक्नु हो । पर्यटकहरु डिजिटल भुक्तानीमा अभ्यस्त हुनु तर नेपालमा त्यस्तो सेवा नहुनु भनेको पर्यटकलाई विकर्षण गर्नु हुन्थ्यो । तसर्थ पनि भारतीय, चिनिया या अरु जुनसुकै पर्यटकले पनि भुक्तानी गर्न सक्ने सुविधा हुनुपर्छ ।
अर्काेतिर नेपालकै सबैथरी सेवा सुविधाको शुल्क पनि डिजिटल भुक्तानीमार्फत गर्दै लैजानु आवश्यक छ । राष्ट्र बैंकले तरकारी बजारसम्म पनि डिजिटल भुक्तानीको सेवा सुरु गर्न प्रेरित गरेको पनि हो । तर पनि नेपालका ठूलाठूला व्यवसायमा पनि अझै डिजिटल भुक्तानी सेवा सर्वसुलभ छैन । पसलपसलमा डिजिटल भुक्तानी हुने व्यवस्था आवश्यक छ ।
डिजिटल भुक्तानी हुँदा कारोबार पारदर्शी बन्छ । कारोबार बैंकिङ प्रणालीमा जान्छ । अनौपचारिक अर्थतन्त्र बन्न पाउँदैन ।
सरकारलाई कर प्राप्त हुन्छ । कर छलीको सम्भावना कम हुन्छ । सुरक्षा त झनै हुने नै भयो । छिमेकी भारतमै फुटपाथका पसलमा पनि डिजिटल भुक्तानी हुन थालिसकेको छ । पानपसल, चियापसल र ढाबाढाबामा पनि डिजिटल भुक्तानी हुन्छ । तर नेपालमा ठूलाठूला व्यवसायमा पनि अझै अभ्यासमा आएको छैन । प्रविधिको युगमा पनि अझै नगदै कारोबार गर्न पछि पर्नु हो ।
अझ नगद पैसा प्रकाशन गर्दा राष्ट्र बैंकलाई जुन आर्थिक भार छ, त्यसलाई कम गर्न पनि डिजिटल भुक्तानी प्रणालीमा जानुपर्छ ।
संसार डिजिटल मुद्रामा गइसकेको छ, हामी भने अझै डिजिटल भुक्तानीमा सम्म जान हिच्किचाउनु भनेको पछौटेपनबाहेक केही होइन । तसर्थ डिजिटल भुक्तानी सेवा सर्वसुलभ हुनुपर्छ, सबैतिर हुनुपर्छ ।
तपाईको प्रतिक्रिया