रेडियो तरंग: महत्वपूर्ण प्राकृतिक स्रोत

जुद्धबहादुर गुरुङ २०८० असार ११ गते १२:१६

रेडियो फ्रिक्वेन्सी (आवृत्ति) वा तरंगबारे नसुनेको मानिस नेपालमा कमै होलान् तर यो प्राकृतिक स्रोत भनी परिभाषित गर्दा धेरै प्राकृतिक स्रोत विज्ञहरूलाई पनि अनौठो वा अचम्म लाग्न सक्छ । सामान्य बोलीचालीको भाषामा प्राकृतिक स्रोत भन्नाले प्रकृतिमा उपलब्ध सजीव तथा निर्जीव वस्तुलाई चिनिन्छ । परिस्थिति र सान्दर्भिकताअनुसार प्राकृतिक स्रोतको परिभाषा धेरै तरिकाले गरिए । तापनि संयुक्त राष्ट्र संघ र सहकार्य संस्थाहरूले दिएको परिभाषाअनुसार प्राकृतिक स्रोत भन्नाले प्रकृतिमा विद्यमान जीवित तथा निर्जीव स्रोतहरू छन् । जसलाई मानिसको न्यूनतम श्रम, समय र सीप वा प्रविधिको प्रयोग पछि वित्तीय पुँजीमा परिणत गराउन सकिने वस्तु तथा पदार्थहरूलाई प्राकृतिक स्रोत भनिन्छ भनि परिभाषित गरेको छ ।

Advertisement


प्रकृतिमा पाइने यस किसिमका पुँजी, सम्पदा तथा सम्पत्तिले आर्थिक गतिविधिमा कच्चामाल र ऊर्जाका रूपमा मानव समुदायलाई मनग्ये लाभ प्रदान गर्न सक्छ । सौर्य तथा वायु ऊर्जा, पानी, जमिन वा ढुंगामाटो, खानी, जीवजन्तु, वन, जीवाश्म इन्धनलगायत पदार्थलाई प्राकृतिक स्रोतको विभिन्न रूपमा लिइन्छ । प्राकृतिक स्रोतहरूलाई मूर्त तथा अमूर्त प्राकृतिक स्रोत वा नवीकरणीय तथा अनवीकरण भनी वर्गीकरण गरिए पनि रेडियो तरंगलाई नवीकरणीय प्राकृतिक स्रोतमा वर्गीकृत गरिन्छ । तर, यो पृथ्वीको वातावरण र अन्तरिक्षवरपर उपलब्ध हुने महत्वपूर्ण प्राकृतिक स्रोत हो ।


खनिज तथा पेट्रोलियम पदार्थ रित्तिए पनि यो स्रोत रित्तिँदैनन् । यसको भण्डार असीमित छ । यस स्रोतलाई नदीको पानी सामान हो जसलाई खानेपानी, सिँचाइ, विद्युत्, मनोरञ्जन, माछापालन, यातायात, धार्मिक कार्यलगायतका विविध उद्देश्यका लागि उपयोग गरेजस्तै यस स्रोतलाई पनि मोबाइल, टेलिभिजन, टेलिफोन, हवाई सेवा, अन्तरिक्ष, सामुद्रिक क्षेत्रको सेवालगायत अनेकौं क्षेत्रमा प्रयोग हुन्छ । यसलाई पानी र हावाजस्तै प्रदूषित गराउन सक्ने र पृथ्वीको अन्य प्राकृतिक स्रोतजस्तै दुरुपयोग तथा विकृति पनि गर्न सक्छ भनी अमेरिकन वातावरण कानुनका विज्ञ तथा कूटनीतिज्ञ क्रिस्टिन ए. हर्टर जुनियरले भनेका छन् ।


विगतमा रेडियो तरंग प्राकृतिक स्रोत हो वा होइन भनी विश्व समुदाय नै द्विविधामा थिए । नेपालको सन्दर्भमा केही समयअघि दूरसञ्चार सेवासित सम्बन्धित रेडियो तरंगलाई प्राकृतिक स्रोत हो वा होइन भनी सर्वोच्च अदालतमा दर्ता भएको मुद्दालाई तत्कालीन कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र माननीय न्यायाधीश तर्कराज भट्टको संयुक्त इजलासले २०७० असोज १ मा रेडियो तरंगलाई प्राकृतिक स्रोतसरह भन्ने आशयको फैसला भएको छ । यसैगरी अमेरिकी सर्वोच्च अदालतले विभिन्न समयमा धेरैपटक रेडियो तरंग दुर्लभ प्राकृतिक स्रोत हो भनी फैसला गरेको छ । अमेरिकी राष्ट्रपति जर्ज बुसले पनि रेडियो तरंगलाई महत्वपूर्ण तथा सीमित प्राकृतिक स्रोत हो भनी स्वीकारेको छ ।


युरोपियन युनियनका सदस्य मुलुकका संसद्हरूमा हरित पत्रको खेस्रा तयार हुँदा रेडियो तरंगलाई दुर्भल तथा महत्वपूर्ण प्राकृतिक स्रोत हो भनी चित्रण गरिएको छ । आइरिस सरकारले यस रेडियो तरंगलाई अन्तर्राष्ट्रिय प्राकृतिक स्रोत हो भनेको छ ।

Advertisement

चेक गणतन्त्रको संविधानअनुसार युरोपियन संसद्लाई रेडियो तरंगलाई सीमित किसिमको प्राकृतिक स्रोत हो भनी जानकारी गराएको छ । अझ फिनिस सरकारले रेडियो तरंगको उपलब्ध स्रोतमा प्रयोगकर्ताबीच प्रतिस्पर्धा बढिरहेकाले यो दुर्लभ प्राकृतिक स्रोत हो भनी युरोपियन युनियनलाई सूचित गरेको छ ।


जसरी शान्त तलाउमा ढुंगा फाल्दा पानी हलचल भई निरन्तर रूपमा केही समय तरंगहरू सिर्जना हुन्छ, त्यसरी नै ध्वनिका तरंगहरू वातावरणमा तरंगित भई कुनै एक निश्चित बिन्दुमा पुगेपछि बिलाउँछ । तर, विद्युत् चुम्बकीया वर्णपटमा प्रसारण हुने भएकाले ध्वनि वा आवाज लामो दूरीसम्म भ्रमण गर्छ वा पुग्छ । त्यसैले रेडियो तरंग दूर देश वा महादेशसम्म सुनिन्छ । विश्वको कुनै पनि कुनबाट टेलिभिजन, टेलिफोन वा भाइबर, म्यासेन्जर, ह्वाट्सएप आदि प्रविधिबाट बोल्न र दृश्यसहित वार्ता सकिने परिस्थिति रेडियो तरंगको कारणले नै हो ।

यसैगरी पृथ्वीको सतहमा हुने गतिविधि दूर संवेदन प्रविधिबाट गाडीको ढोका खोल्ने, टिभी खोल्न वा बन्द गर्न, घरको ताला खोल्ने वा बन्द गर्ने, माइक्रो ओभनमा खाना तताउने, विद्युतीय हाजिरीलगायत भीड, बजार कार्यालयका वा व्यापारको गतिविधि निगरानी राख्ने सीसीटिभीसहित अनेकौं विद्युतीय उपकरणलगायत अन्तरिक्षसम्मको सम्पर्क गर्ने प्रमुख कारण रेडियो तरंग नै हो । वातावरणमा रेडियो तरंगको प्रमुख स्रोत वा माध्यम हो ।


रेडियो तरंगले कसरी काम गर्छ भनी जिज्ञासा हुनु स्वाभाविक हो । जसरी ध्वनि वा आवाजहरू तार वा टेलिग्राम खासगरी तामा वा फाइबर केवलमा प्रसारण हुन्छ, त्यसरी नै रेडियो तरंग प्रसारण हुन्छ । यसले आवाज बोक्ने वा ओसार्ने काम गर्छ । ध्वनि रेडियो तरंगमा अधिरोपित भई सिर्जना भएको अवस्थालाई लय वा ताल भनिन्छ । यही लय आवश्यकताअनुसार विभिन्न प्रविधिमा प्रयोग गरी प्रसारण हुन्छ । तारहरूका दुई निश्चित बिन्दु खासगरी उत्पतिको केन्द्रबाट प्रापक वा पाउने बिन्दुबिचमा सम्पर्क गरी प्रयोग भएजस्तै रेडियो तरंग पनि त्यसरी जोडिएर गतिशील सञ्चार, रेडियो प्रसारण आदिमा प्रयोग गरिन्छ । यस रेडियो तरंगको विकासित रूपमा प्रविधिको प्रयोगद्वारा टेलिफोन, टेलिभिजन, मोबाइल, इन्टरनेटजस्ता रेडियो तरंगमा आधारित ठूलो सेवा उद्योगका रूपमा स्थापित भएको छ ।


रेडियो तरंगको इतिहास केलाउँदा सन् १८८७ मा जर्मन भौतिकशास्त्री हेनरिच रुडोल्फ हर्जले पहिलोपटक वातावरणमा रेडियो तरंगको अस्तित्वबारे निर्णय पुगी प्रदर्शनीसमेत गरेका थिए । सन् १९०१ मा इटालीयन वैज्ञानिक गुग्लिइमो मार्कोनीले मानव जीवनमा सञ्चारका लागि महत्वपूर्ण साधन हो भनेको थिए । यसलाई धेरै प्रयोगात्मक अभ्यासले समेत प्रमाणित गरेका थिए । यो प्रविधि पहिलो विश्व युद्धताका सैनिकहरूले व्यापक प्रयोग गरेका थिए । बोलीचालीको भाषामा विद्युत् चुम्बकीय वर्णपटलाई रेडियो तरंग पनि भनिन्छ । रेडियो तरंग लम्बाइलाई आवृत्ति भनिन्छ । यही आवृत्ति मापन गर्नेे एकाइको नाम तरंग अविष्कारक उनै हेनरिच रुडोल्फ हर्जको सम्झनामा हर्ज भनी नामकरण गरिएको छ ।


अन्तर्राष्ट्रिय दूरसञ्चार संघले तरंग लम्बाइको आधारमा सुष्म तरंग, लघु तरंग, मध्यम तरंग र दीर्घ तरंगमा वर्गीकरण गरिन्छ ।

सामान्यतय १ मिमिदेखि १० सेन्टिमिटर तरंग लम्बाइलाई सुष्मतरंग भनिन्छ । १ देखि १०० मिटर तरंग लम्बाइ भएको रेडियो तरंगलाई लघु तरंग भनिन्छ । १०० मिटरभन्दा बढी ९९९ मिटर बीचको लम्बाइलाई मध्यम तरंग र १ देखि १० किलोमिटरसम्म लामोे तरंग लम्बाइ भएको रेडियो तरंगलाई दीर्घ तरंग भनिन्छ ।


वातावरणमा रहेको रेडियो तरंगलाई क्षमताअनुसार विभिन्न वर्गमा वर्गीकृत गरिएकाले सैनिक तथा गैरसैनिक क्षेत्रहरूमा व्यापारिक प्रयोजनका लागि उपलब्ध रेडियो तरंग भिन्न भिन्न हुन्छ । देशको विभिन्न भागमा रहेको अडियो, भिडियो अर्थात् रेडियो, टेलिफोन, टेलिभिजन, मोबाइलमा प्रयोग हुने तरंग लम्बाइहरू फरक–फरक हुन्छ । यसअनुसार ३ हर्जदेखि ३ हजार गेगा हर्जबीचको एकाइलाई रेडियो तरंग भनिन्छ । यसपछिको वर्णपटबाट प्रकाश तरंग सुरु हुन्छ । यसबीचको हिस्सालाई आवश्यकताअनुसार विभाजन गरी विभिन्न उद्देश्यका लागि उपयोग गरिन्छ । उदाहरणका लागि अडियो, भिडियो तथा डिजिटल आदि ।


रेडियो तरंग अधिकतम उपयोग हुँदा व्यावहारिक रूपमा यो धेरै कारणले अत्यन्तै सीमितता हुन्छ । यसका लागि निश्चित प्रविधिको उपकरण बनाई केही निश्चित दायराका वर्णपट प्रयोग गरिन्छ । उदाहरणका लागि ७० गिगाहर्ज रेडियो तरंग उपयोग गर्न व्यावहारिक प्रविधिहरू विकास गरी उच्चतम आवृत्तिपटि उपयोग गर्दै आएको छ । प्रसारण चरित्र र कार्य सम्पादनको आधारमा रेडियो तरंग आवृत्तिलाई अझ ८ वर्गमा अर्को किसिमले वर्गीकरण गर्ने प्रचलन छ ।


सबैभन्दा पहिले १. अति कम आवृत्तिमा धेरै लामो तरंग लम्बाइ (१०० किमिदेखि १० किमि) हुन्छ । यस रेडियो तरंगलाई ब्यान्ड अंक ४ मा राखिएको छ । यो व्यान्डको तरंगले लामो दूरीसम्म पुग्छ । २. कम आवृत्तिमा कम तरंग लम्बाइ (१० देखि १ किमी) लामोलाई ब्यान्ड अंक ५ मा राखिन्छ । यो जमिनको नजिक लामो दूरसम्म प्रसारण हुन्छ । यस तरंगले भौतिक तथा विद्युतीय हस्तक्षेप भई थोरै सूचना बोक्ने भएकाले बैमानिक क्षेत्रमा बढी प्रयोग हुन्छ । ३. मध्यम आवृत्तिमा तरंग लम्बाई (१ किमिदेखि ५०० मिटरसम्म) लामो हुन्छ ।


रेडियो आवृत्तिलाई प्रसारण किसिम वा कार्यक्षेत्रको १२ ब्यान्डमा विभाजन गरेको छ । ब्यान्डविथ भन्नाले दुई कम्प्युटरबीच टेलिफोनको माध्यमबाट सूचनाको परिमाण मापन गरिने विधि हो । यस ब्यान्डको कार्य क्षेत्रमा उपयोगको दृष्टिकोणले प्रसारण, हवाई ब्यान्ड, सामुद्रीक ब्यान्ड, सेवामूलक वा एम्याटर रेडियो आवृत्ति, नागरिक वा निजी रेडियो सेवा ब्यान्ड, औद्योगिक, वैज्ञानिक तथा चिकित्सिय सेवा ब्यान्ड, स्थलगत घुमन्ते ब्यान्ड, रेडियो ब्यान्ड र राडर ब्यान्ड गरी नौ प्रकारमा रेडियो तरंगलाई विभाजन गरिएको छ ।


विश्वमा रेडियो तरंगको उपयोग गर्ने क्षेत्र बृहत छ । उदाहरणका लागि रेडियो तरंग सबै क्षेत्रमा खासगरी सार्वजनिक क्षेत्रदेखि जलीय क्षेत्रका सागर वा महासागरमा जलयानहरू, वायुमण्डलमा उड्ने वायुयान वा विमान वा बैमानिक क्षेत्र, स्थलीय वातावरण वा भूमिमण्डलका विविध जीवन क्षेत्रहरू खासगरी रेडियो प्रसारण, सैनिक, अर्धसैनिक, पुलिस, यातायात, स्वास्थ्य सेवा, विद्युतीय क्षेत्र, वातावरणलगायत क्षेत्रमा प्रयोग गर्दै आएका छन् । पहिलो विश्व युद्धमा सैनिक क्षेत्रले अधिक प्रयोग गरे भने पछिल्ला समयमा गैरसरकारी क्षेत्रमा पनि अधिक उपयोग भई हाल दूरसञ्चार क्षेत्रमा आधारित ठूला उद्योग स्थापित भइसकेको छ ।


रेडियो तरंगबिना आजको आधुनिक संसार असम्भवजस्तो भएको छ । कुनै आवाज रेडियो तरंगमा परिणत भई वायुमण्डलमा तरंगित भएर उत्पत्तिको स्रोतबाट अर्को बिन्दु (प्रापक) सम्म पुर्‍याउने वा पुग्ने शक्ति नै रेडियो तरंग हो । त्यसैले हामीले दैनिक रुपमा प्रयोग गरिने विद्युतीय तरंगमा आधारित उपकरणहरू छन् । जस्तै, अधिकांश मानिसको हातमा हुने मोबाइल फोन, सुन्ने रेडियो तथा हेर्ने टेलिभिजन, पराम्परादेखि प्रचलनमा रहेको स्याटलाइट टेलिफोन, शिक्षित समुदायको लोकप्रिय साधन इन्टरनेट आदि विद्युतीय उपकरणबाट प्राप्त सेवा रेडियो तरंगमा आधारित छ ।


रेडियो तरंग वर्णपट एक किसिमको ऊर्जाको रूप हो । ऊर्जालाई न त सिर्जना न त नष्ट गर्न सकिन्छ । यसको उपयोगका लागि नियमगन जरुरी छ । सामान्य भाषामा रेडियो तरंग व्यवस्थापन र नियमगन गर्न अरूभन्दा भिन्न भएकाले त्यति सहज छैन ।

रेडियो तरंग उपयोग गर्ने माध्यमबीच हस्तक्षेत्रको सम्भावनालाई नियमगन गर्न यसको प्राविधिक चरित्र, प्रसारण केन्द्र र वातावरणबारे गहिरो विश्लेषण गर्ने विशेष किसिमको नियमगन संरचना आवश्यक पर्छ ।


यी सबैका लागि विश्वमा अन्तर्राष्ट्रिय दूरसञ्चार संघ छ भने राष्ट्रियस्तरमा दूरसञ्चार प्राधिकरणले नियमगन गर्दै आएको छ । नेपाल दूरप्रञ्चार प्राधिकरणले राजस्व, फ्रिन्यून्सी फि, ग्रामीण दूरसञ्चार विकास कोषको शीर्षकमा बर्सेनि अरबौ रुपैयाँ राजस्व संकलन गर्दैै आएको छ । यो प्राकृतिक स्रोतको रोयल्टी भएकाले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार वितरण हुनु जरुरी छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।

गुरुङ संरक्षणविद् हुन्

तपाईको प्रतिक्रिया