निर्दोष रवीन्द्रलाई भुइँफुट्टाहरुले बदनाम गरेः प्रधानमन्त्री ओली

समाधान संवाददाता २०७६ जेठ १९ गते ८:५२

समाधान संवाददाता

पोखरा सभागृहको हल खचाखच भरिएको थियो । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारको स्मृतिमा खोलिएको प्रतिष्ठानको घोषणा कार्यक्रम थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको घोषणा गर्ने भएपछि धेरैको चासो थियो, ‘प्रधानमन्त्रीले रवीन्द्रबारे के भन्लान् ।’

Advertisement

मान्छेका विभिन्न अड्कलबाजी पनि थिए, ‘यही मौकामा रवीन्द्र पत्नी विद्यालाई उपनिर्वाचनमा उठाउन बल पुग्ने गरी ओलीले केही संकेत गर्नेछन् । विभिन्न चासोबीच प्रधानमन्त्री बोल्न मञ्चमा पुगे । ओलीले रवीन्द्रबारे घरि भावुक बनाए, घरि उनीमाथि आक्षेप लगाउनेमाथि कटाक्ष गरे । पार्टीको मुख्य विचार के हुने भन्ने विषयमा पनि ओलीले स्पष्ट पारे ।

ओलीले रवीन्द्रजस्तो नेता पोखराले जन्माएकोमा गर्व गर्न आग्रह गरे । वाइडबडी जडाज काण्डमा रवीन्द्रलाई जोडेकाे प्रति खनिएनन् मात्र, वास्तवमै निर्दोष रहेको दाबी गरे ।
छुद्र मानसिकता भएका मान्छेहरुले रवीन्द्रको नाम जोडेर बद्नाम गराउने काम गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘वाइडबडी काण्डमा उहाँको नाम बद्नाम गर्ने काम भयो र भनें, उहाँ त्यस मामलामा निर्दोष हुनुहुन्छ । एकथरी अत्यन्त छुद्र मतिका मान्छेहरुलाई यो कुराले साह्रै पोलेछ,’ ओलीले भनें, ‘उहाँ वास्तवमै निर्दोष हुनुहुन्छ ।’

Advertisement

रवीन्द्र निर्दोष हुन् भन्दा केटी भुईंफुट्टा मान्छे र भुइँफुट्टा संस्थाहरुले अदालतले फैसला नगरेको कुुरालाई प्रधानमन्त्रीले त्यसो भन्न पाइन्छ भन्नेहरुप्रति ओलि कडारुपमा प्रस्तुत भए । ‘अदालतले निर्णय नगरेको कुरामा दोषी छ भन्ने पाइने, मनपरी भन्न पाइने, निर्दोष भन्ने नपाइने ?’ ओलीले प्रश्न गरे, ‘संलग्नता नै नभएको विषयमा दोषी भन्न नपाइने ? को हुन् ती न्यायाधीशहरु ?’

रवीन्द्र अधिकारी स्वच्छ आचरण भएको, स्वच्छ छबि भएको, कर्मठ र क्रियाशील नेताका रुपमा ओलीले सम्झिए । नेतृत्व र पार्टीको नीतिविरुद्ध जथाभावी बोलेर चर्चाको पछि नलाग्ने नेताको रुपमा ओलीले रवीन्द्रको स्मरण गरे । ‘पार्टीका निर्णयका विरुद्ध, पार्टीको नीतिका विरुद्ध जथाभावी बोलेर आफ्नो बहादुरी हुन्छ भन्ने भ्रम नफाल्ने नेता हो,’ ओलीले भने, ‘बिरोधीले उचाल्दिन्छन्, बेलुन बनाएर फुकेर ठूलो बनाइदिन्छन् अनि त्यसैमा कुद्नेहरु पनि छन् । त्यो रोग रवीन्द्र अधिकारीमा थिएन ।’

आँखामा हाल्दा पनि नबिझाउने नेता रवीन्द्र अधिकारी भएको ओलकिो भनाइ थियो । ‘जबसम्म उहाँ जिउँदै हुनुहुन्थ्यो, कसैको आँखामा आँसु देखाउनु भएन । उहाँको निधनपछि हामी सबैको आँखामा आँसु आए,’ ओलीले भने ।

जबज नै पार्टीको विचार
प्रधानमन्त्री ओलीले नेकपाभित्रको वैचारिक बहसलाई छोएनन्मात्र कडा रुपमै आफ्नो लाइनबारे बोले । तत्कालीन माओवादी र एमाले मिलेको बनेको नेकपाभित्र अहिलेको वैचारिक बहस छ, ‘जनताको बहुदलीय जनवादलाई नै मुख्य विचार मान्ने कि परिवर्तन गर्ने ?’ प्रधानमन्त्री ओलीले जबजको विकल्प नभएको बताए ।

मदन भण्डारीकै सोचले नेपाली कम्युनिस्ट आन्दोलनलाई शक्तिशाली र यहाँसम्म ल्याइपु¥याएको ओलीको दाबी छ । ‘आज हाम्रो पार्टी जुन सम्झौताको विन्दुमा पुगेको छ, त्यसका पछाडि विचारहीन ढंगले जसो गरे पनि चल्छ भन्ने होइन,’ ओलीले भने ।

जनताको बहुदलीय जनवादबाटै आन्दोलन चलेको र त्यही विचारलाई सबैले स्वीकारेको नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले दाबी गरे । ‘हामीले लिएका विचारमा कुनै पनि फरक छैन,’ ओलीले भने ‘नेपाली कम्युनिस्ट आन्दोलनमा दुई जनाको एकदमै ठूलो महत्व । पार्टी स्थापनाको हिसाबले पुष्पलाल र विचारका हिसाबले मदन भण्डारी ।’
मदन भण्डारीकै विचारबाट आज निर्वाचनमार्फत झन्डै २ तिहाई बहुमतको नेकपा सरकार बनेको ओलीले दाबी गरे ।

मदन भण्डारीका विचारसँग कुनामा बसेर कुरा काट्ने काम भइरहेको ओलीको आरोप छ । ‘कुनामा बस्ने, कुरा काट्ने अनि फाल्टु गफ लेखेर विद्वान पल्टिने प्रवृति छ,’ ओलीले भने, ‘त्यसको कुनै अर्थ छैन, खाली विरोधीलाई उक्साउनेमात्रै हो ।’

तपाईको प्रतिक्रिया