सम्पादकीयः क्षतिकम गर्न पूर्व तयारी अपनाऊ

समाधान संवाददाता २०८० असार १३ गते १२:००

नेपालमा जेठ अन्तिम साताबाट मनसुन प्रवेश गरेको छ । जल तथा मौषम विज्ञान विभागका अनुसार नेपालमा मनसुन सरदर एक सय दिन क्रियाशील हुने गरेको छ । मनसुन याममा देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुन सक्छ । तर सरकारी मनसुनजन्य विपद्बाट हुने क्षतिलाई कम गर्न सरकारले आवश्यक पूर्व तयारी गरेको देखिदैन ।

Advertisement


नेपालमा बाढी, पहिरो र भारी वर्षा प्रमुख मनसुनजन्य विपद् हुन् । यसका साथै मनुसनको अवधिमा झाडापखाला, हैजा जस्ता पानीजन्य रोग, सर्पदंश, डेंगु, मलेरियाजस्ता किटजन्य प्रकोप बढ्ने गर्छन् । नेपालमा मनसुनजन्य विपद्ले नै धेरै नागरिकलाई प्रभावित गर्छ र सबैभन्दा धेरै आर्थिक क्षति पनि निम्त्याउँछ ।


विभागले यस वर्षको मनसुनमा देशैभरि कम पानी पर्ने प्रक्षेपण गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत वर्ष सार्वजनिक गरेको आगामी विपद्सम्बन्धी प्रक्षेपणमा बाढी, पहिरो, डुबान/कटानलगायत प्राकृतिक प्रकोपबाट १९ लाख ९९ हजार ८ सय ७५ जनसंख्या प्रभावित हुने थियो । भने प्राधिकरणले यस वर्षको मनसुनबाट १२ लाख ५४ हजार भन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरेको छ । मनसुनबाट गण्डकी प्रदेशमा ६९ हजार ७ सय ४४ घरधुरीका १५ हजार ९ सय ६० व्यक्ति प्रभावित हुने आंकलन गरिएको छ ।


सरकारले स्वीकृत गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८०मा जनधनजन्य जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आंकलन गरेपनि जनधनको क्षति रोक्ने गरी प्रभावकारी प्रतिकार्य योजना बनाएको देखिदैन । सरकारी निकायबाट तयार पारिएका कार्ययोजनामा विपद्पछिको खोज/उद्धार र राहत सामाग्रीको मौज्दाती विवरण तयार पार्नमा केन्द्रीत छ ।


सरकारले मनसुन जन्य विपद्बाट हुने धनजनको क्षति रोक्न प्रतिकार्य योजना बनाएर कार्यान्वयनमा ल्याउनु आवश्यक छ ।

Advertisement

मनसुनका कारण हुने यस्ता घटनाको प्रभाव न्यूनीकरण गर्न पूर्वतयारीका लागि आवश्यक कार्य गर्नु पर्छ । घटनापछि उद्धार र राहतको योजनासँगै सम्भावित जोखिम रोक्ने योजना बनाउनु पर्छ । सरकारले विपद् रोक्ने वा जोखिममा रहेकाहरूलाई पहिले नै स्थानान्तरण गर्ने योजना बनाउन ध्यान दिनु पर्छ । पहिरो वा बाढी गएमा उद्धार र राहतका लागि बजेट छ तर त्यो पहिरो वा बाढी जानै नदिनका लागि काम गर्न बजेट नै छैन ।

त्यसैले विपद् भैसकेपछिका लागिमात्र योजना बनाउन भन्दा घटना हुन नै नदिने गरी बजेटमा व्यवस्थापन ध्यान दिनु आवश्यक छ । मनसुनका कारण निम्तिने विपद् व्यवस्थापनका लागि जोखिमयुक्त स्थानमा बन्दोबस्तीका सामानसहित टोली परिचालन गर्नुका साथै जोखिमयुक्त बस्तीमा सम्भावित बाढीबारे पूर्वसूचना प्रवाह गर्न सके मानवीय र भौतिक क्षति कम गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया