धान, रोपाईं महोत्सव र पर्यटन परिषद

वासु त्रिपाठी २०८० असार १५ गते १३:०८

छुपु र छुपु धान नै रोपौं हातैको बर्माले
झ्यालमा बस्ने ज्यान थियो मेरो दिएन कर्मले
पूर्वकी दिदी, पश्चिमकी बहिनी भेट हुन्छ भनेर
पटुकी कसी, घुम ओढी आएँ रोपाहार बनेर

Advertisement

‘पोखरा सबै मौसमका लागि’
माथिको असारे गीतको अंश र त्यस भन्दा तलको पोखरा सबै मौसमका लागि भन्ने २ सन्दर्भलाई जोड्नु नै यो लेखको मुख्य लक्ष्य हो । नेपाल परापूर्व कालदेखि नै कृष्प्रिधान देश रहेको भन्ने कुरा सर्वविदितै छ । यद्यपि पछिल्ला दिनमा कृषि पेशा प्रतिस्पर्धात्मक लाभको क्षेत्रमा पछाडि पर्दै गएको हुनाले कृषिमा आश्रित जनसंख्याको अनुपात घट्दै गएको छ ।


हुन त पूर्वी एसियामा हुने मौषमी वर्षाका कारणले गर्दा यस क्षेत्रका सबै देशमा धान खेती हुन्छ तर नेपालीको बिहान र बेलुकाको मुख्य खाना नै दाल, भात हुनाले नेपालमा यसको महत्व बढी नै छ । अहिले पनि नेपालको १४ लाख हेक्टर जमिनमा धान खेती लगाइन्छ ।


असार १५
असारे १५ को ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्व छ । मानो खाएर मुरी उब्जाउने दिनका रुपमा असार महिनालाई लिइन्छ । असार महिनामा अन्य सबै काम र कुरा छोडेर सबै किसान खेतमा जाने परम्परा छ । आधुनिक यान्त्रिक विधि र उपकरण नआउँदै हलोमा नारिएका गोरुहरु, हली, बाउसे, रोपाहारहरु, खाजा बोक्ने केटाकेटी सबै हेर्दा हरेक घरका काम गर्न सक्षम सबै मानिस खेतमै हुने गर्छन् । असार १५ लाई धान रोप्ने मुख्य महिनाको मध्ये दिनको रुपमा एक पर्वकै रुपमा परम्परादेखि नै विभिन्न रुपले मनाउने गरिन्थ्यो ।

परिषदले आर्थिक रुपले रसरकारले कृषि उत्पादनका दृष्टिले देशलाई सबल बनाउन एकै वर्षबाट असारे १५ लाई पर्वको रुपमा मनाउन सुरु गरेका हुन्

Advertisement


यस दिनलाई विशेष चाडको रुपमा लिएर गोरुलाई पनि मीठो मीठो कुरा ख्वाउने, पूजा गर्ने र मानिसले पनि दही, चिउरा, रोटीसहित मीठा खाजा खाने चलन रहँदै छ । अझ त्यस वर्षमा परिवारमा कसैको विवाह, व्रतवन्ध भएको छ भने उक्त अवसरको कसार पनि त्यो दिनमा दिने चलन छ । उक्त अवसरमा असारे गीत गएर हिलो छ्याप्दै एकापसमा नाचगान गर्ने पनि गरिन्छ ।

यस हिसाबले हेर्दा सांस्कृतिक रुपमै असार १५ एउटा महत्वपूर्ण पर्वको रुपमा चलिआएको प्रष्ट हुन्छ ।


पर्यटकीय हिसाबले असारे १५
पोखराको पर्यटन क्षेत्रमा क्रियाशील व्यवसायी संघ, संस्थाहरुको छाता संस्था पोखरा पर्यटन परिषदमार्फत पोखरा सबै मौसममा पर्यटकका लागि उपयुक्त छ भन्ने सन्देश कसरी प्रवाह गर्न सकिन्छ भनेर सोचिरहेका बेलामा यस असार १५ लाई एक पर्यटकीय पर्वको रुपमा मनाउने निर्णय विसं. २०६१ सालमा गरिएको थियो । संयोग नै भन्नु पर्छ कि नेपाल सरकारले पनि २०६१ साल्बाट नै कृषिमा बढ्दै गएको परनिर्भरतालाई घटाउँदै जाने उद्देश्य राखेर असार १५ लाइ राष्ट्रिय धान पर्वको रुपमा मनाउने निर्णय गर्‍यो ।


पोखरा पर्यटन परिषदले आर्थिक रुपले देशलाई सबल बनाउन र नेपाल सरकारले कृषि उत्पादनको दृष्टिले देशलाई सबल बनाउनका लागि एकै वर्षबाट असारे १५ लाइ पर्वको रुपमा मनाउन सुरु गरेका हुन् । राष्ट्रिय कृषि अनुसन्धान केन्द्र नार्कले पनि २०६६ सालदेखि यसलाई प्रवद्र्धन गर्दै आएको छ ।


पर्यटनमा असारे १५ को प्रभाव
तत्कालीन पोखरा पर्यटन परिषद्का अध्यक्ष्य श्री डम्बर केसीको संयोजकत्वमा २०६१ सालबाट सुरु भएको यो महोत्सव २०७७ र २०७८ मा कोरोना महामारीको कारण आयोजना भएन । हाल पुन सुरु भएर १८ औं संस्करणमा आईपुगेको छ । किसानले मनाउनेभन्दा केही आयाम थपेर यसलाई पर्यटक मैत्री बनाइएको छ । परम्परागत असारे गीत, दही, चिउराको साथमा विभिन्न खेल पनि समाबेस गरिएको हुन्छ ।


साउने प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, पर्यटक र नेपालीबीच लठो तान्ने प्रतियोगिता, पत्रकार र पर्यटकबीचमा हिलोमा दौडने प्रतियोगिता आदिले गर्दा यो पर्वलाई पर्यटक बीचमा पनि चर्चित बनाएको छ । सुरुकै वर्षमा उल्लेख्य संख्यामा विदेशी पर्यटक सहभागी भएर रमाएपछि पर्यटन क्षेत्र पनि उत्साहित भयो । यसलाई निरन्तरता दिने निर्णय भरियो । बेलायतमा भएको संस्था फ्रेन्डस् अफ नेपाल एन्ड ब्रिटेन र अमेरिकामा रहेको नोर्ट डेम विश्वविद्यालयले हरेक वर्ष यही पर्व भेट्टाउने गरी नेपाल यात्रा तय गर्ने गरेको पाइन्छ ।


चुनौतीहरु
असारे रोपाईं महोत्सवलाई मौलिक रुपमा मनाउन सकेमात्र यसको महत्व कायम रहन्छ । अव्यवस्थित तरिकाले जमिनको खण्डिकरण हुनु, नयाँ पुस्ता कृषिमा उत्साहित नहुनु, हली, गोरुको अभाव हुँदै जानु आदि कारणले गर्दा यो पर्व मनाउन भविष्यमा समस्या देखिने भएको हुनाले महानगर वा कुनै सरकारी निकायले उपयुक्त वातावरण कायमै राख्ने जिम्मेवारी लिने र पर्यटन क्षेत्रले आयोजना तथा बजारीकरण गर्ने गरी योजना बनाएमा अझै यसलाई मनाइराख्न सक्ने सम्भावना देखिन्छ ।


त्रिपाठी नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य हुन् ।

तपाईको प्रतिक्रिया