कर्मकाण्ड जस्तो गुरु पूर्णिमा

गुरु पूर्णिमालाई ज्ञान, चेतना, शक्ति, सामथ्र्यका रुपमा भन्दा पनि आज मनाइएको परम्पराले औपचारिकतामात्र प्रदान गरेको छ । गुरु ज्ञान, कर्म, धैर्य र ध्यानको समन्वय हो । गुरु शब्दलाई अन्धकारमा रुमल्लिएकालाई ज्ञानरुपी उज्यालो आत्मिक चेतना दिने शक्तका रुपमा बुझिन्छ । प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन गुरु पूर्णिमाका रुपमा मनाउने गरिन्छ । आषाढ शुक्ल पक्षका रात आकाशमा अन्धकार नभई पूर्ण चन्द्र हुने भएकाले उज्यालो रात हुने यस दिनलाई पूर्णिमा भनिन्छ ।
पूर्णिमाका दिन वेद, पुराण, महाभारतका रचयिता कृष्ण द्वैपायन् वेद्व्यासको पनि जन्म भएकाले यस तिथिलाई व्यास पूर्णिमा पनि भनिन्छ । वाल्मीकि ऋषिको जयन्ति पनि गुरु पूर्णिमाकै दिन मनाउने गरिन्छ । हिन्दू, जैन, बुद्घिस्ट, शिखहरुले गुरु पूर्णिमालाई भव्यताका साथ मनाउने गर्दछन् । शिवलाई प्रथम गुरुका रुपमा लिइन्छ भने विष्णु भगवान द्वितीय गुरुका रुपमा लिइन्छ । विष्णु भगवानका अंश कृष्ण दैपायन हुन ।
बह्मा, विष्णु, महेश्वर नै सृष्टिका रचयिता भएकाले सृष्टिकर्ता सरह गुरुहरुको स्थान मानिन्छ । पवित्र र पावन भगवानरुपी गुरुहरु तिरस्काररुपी हुनुका अवयव के के हुन ? वर्तमान समयमा गुरुको महत्व र गरिमाको ओझ ओझलमा किन के कारणले परेको छ ? किन के कारणले गर्दा गुरुको गुरुत्वाकर्षण घटिरहेको छ ? अर्थरुपी समाजमा ज्ञानरुपी गुरु प्राप्त गर्न किन कठिन देखिएको छ । बजारमा स्वघोषित गुरुको उपमा दिएर जसलाई सम्मान गर्दा पनि गुरु भनेर बोलाउने परिपाटी समाजमा व्याप्त के कारणले भइरहेको छ ?
समाजमा व्यप्त विकृति र विसंगति हटाउन असल गुरुहरु र असल शिष्य आवश्यक छ
अहिले गुरुलाई मान, सम्मान भन्दा पनि अपमान र तिरस्कार गर्ने चलनले गर्दा पनि समाजमा छलकपट, लुटपाट, भष्ट्रचार बढिरहेको छ । समाजमा व्यप्त विकृति र विसंगति हटाउन असल गुरुहरु र असल शिष्य आवश्यक छ । गुरु र शिष्यको सम्बन्धको परम्परा हराउनु, एक दिनमात्र गुरुको महत्व दर्शिनुले सामाजिक विकृति बढिरहेको छ । गुरुहरुमा गुरुत्व नभएर नै समाज विकृत बनेको हो । वर्तमान समयका गुरुहरुमा गुरुत्व घटनु, एक दिनमात्रै गुरुको चर्चा उपचर्चा गर्नाले के वास्तविक गुरु कृपा हुन्छ ? विश्वविद्यालय, विद्यालयले यस्तै परम्परालाई निरन्तरता दिनु गुरु पूर्णिमाको सन्देश हो ।
अवश्य पनि गुरु शिष्य परम्परा सदाका लागि हुनु पर्दछ । गुरुभित्र रहेका स्वार्थी, लोभी, लालची, माया, मोहका विषयवस्तु हराउँदै ज्ञान भाव प्रकट भएमा एक दिन समाजमा देखिएको विकृति र विसंगति हटेर सभ्य समाज अवश्य निर्माण हुनेछ । गुरु ज्ञान र कर्ममा भन्दा पनि अर्थमा लिप्त भएकाले भष्ट्रचारी प्रवृति वृद्घि भएको हो । चेतना र विवेकको अभ्यास कमीको कारणले गुरुत्व घटेको हो । केही निजी लगानीमा मुनाफा आर्जन गर्ने संघ संस्थाहरुका कारणले गुरुमा घटेको छ । समय सन्र्दभ अनुसारको गुरुहरुको प्राविधिक ज्ञानको कमीको कारणले महिमा कम रहेको हो ।
गुरुहरुलाई प्राचीन मूल्य र मान्यता पालना गर्दा नयाँ आधुनिकता अहिलेको आधारभूत समाजको आवश्यकतासमेत बोध नहुनुले ओझेलमा परेका हुन् । चेतनाको दुनियाँमा, प्रविधिको संसारमा अहिलेका शिक्षार्थीहरुमा अनुशासन, नैतिकता, इमान्दारिता, असल नियत, सदाचार हुनु आवश्यक छ । पूूर्वीय ज्ञान, पाश्चात्य शैलीको अनुशरण गर्ने शैलीमा परिमार्जन गर्न आवश्यक देखिन्छ । गुरुमा हुने शिक्षा र साधनाको कमीका कारण पनि महत्व कम भएको हो । धर्मका नाममा देखिएका विकृति र विसंगति हटाउँदै ज्ञानको संसार फिजाउन आवश्यकता देखिन्छ । अहिलेको विज्ञान र प्रविधिको युगमा समय सन्र्दभ अनुसारको कर्म र ज्ञानको समायोजन गुरुहरुले गर्नु पर्दछ ।
गुरु व्रह्मा, गुरुविष्णु, गुरुदेवो महेश्वर
गुरु साक्षात पर बह्रमा तस्मै श्री गुरवे नमः
ध्यानमूलम गुरुमुर्ति, पूजामुलम गुरो पदम
मन्त्रमूल गुरोर्वाक्य मोक्षमूल गुरोः कृपा ।
गुरुलाई बह्रमा, विष्णु, महेश्वरका साक्षात् रुपमा मानिएको छ । भक्ति, मुक्ति र ऐश्वर्य प्रदान गर्ने व्यक्तित्व नै गुरु हो । ध्यान, ज्ञान, धैर्य र कर्मको साधनाको देन गुरु हो । अभिभावकले जीवन दिए भने गुरुहरुले नै बाँच्न सिकाउने ज्ञान दिनुभएको छ । मानवता, इमान्दारिता, सद्विचार, सदाचार, सद्ज्ञान, सदमार्ग, सद्चरित्र देखाउने व्यक्ति नै गुरु हो । शास्त्रहरुमा विद्या गुरुणाम् गुरु भनेर विद्यालाई नै गुरु मानेको छ । वास्तवमा गुरु भनेको ज्ञान नै हो । पतिरेको गुरुस्त्रीणाम, अमोक्षो धर्मविवाहानाम भनेर पतिलाई नै पत्नीहरुको गुरुका रुपमा लिएको पाइन्छ । वेदका रचयिता वेदव्यासकालीन समयबाट नै गुरु शिष्यपरम्परा स्थापित भएको हो ।
गकार सिद्घिद् प्रोतरेफो पापस्य हारक
उकारो विष्णुरव्यक्त प्रीतयात्मा गुरुः पर ।
अन्धकारबाट हटाई ज्ञान रुपी उज्यालो दिने व्यक्ति नै गुरुको दर्जामा उभिन सक्छन । वर्तमान समयमा समाजलाई देखावटी गुरुभन्दा पनि ज्ञान, ध्यान, धैर्य, कर्म सिकाउने गुरुको आवश्यकता छ । पूर्वीय र पाश्चात्य समाजमा गुरु पादरी, पोपहरुले राज्य सञ्चालन गर्ने परम्पराबाट नै राजनीतिको सुरुवात भएको हो । अहिले गुरुहरुको हातबाट राज्य सञ्चालन नहुँदा समाजमा विकृति र विसंगति बढिरहेको छ । आडम्बरी, लोभी, लालची, काम, कोध्र, माया, मोह गुरु गुण होइनन् । गुरुहरु सरल, सादगी, ऐश्वर्य, ज्ञान, ध्यान, धैर्य र कर्म सिकाउने भएमा समाजमा देखिएका विकृत परम्परा आफैं विनाश भएर जान्छन । नत्र एक दिन मनाइने गुरु पूर्णिमा कर्मकाण्डीमात्र हुन्छ ।
तपाईको प्रतिक्रिया