
म्याग्दी ।
म्याग्दीको धौलागिरि गाउँपालिका १ गुर्जामा सामुदायिक वन समूहले जडीबुटी खेती सुरुआत गरेको छ । पिउथिवा सामुदायिक वन उपभोक्ता समूहले गुर्जा नाइलीवाङको करिब १० रोपनी जमिनमा अतिस र सेदकचिनी (खिरौला) जातको जडीबुटी खेती गरेको हो । समूहका अध्यक्ष तुलसी छन्त्यालले डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा १ लाख ३५ हजार अतिस र खिरौलाका बिरुवा रोपेको जानकारी दिए ।
समूहमा आबद्ध २५ जनाले सामूहिक रुपमा श्रमदान गरेर बाँझो जमिन खनजोत गरेर बिरुवा रोपेका हुन् । जडीबुटीको संरक्षणका लागि स्थानीय प्रविधिको प्रयोग गरेर ढुंगाको १ सय ५ मिटर लामो पर्खाल निर्माण भएको छ ।
डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले चालु आर्थिक वर्ष २०७९/८० मा जडीबुटी खेतीका लागि ४ लाख असी हजार सहयोग गरेको जानकारी दिए । ‘उपभोक्ताले लागतको १० प्रतिशत लागत साझेदारी गरेका छन्’, उनले भने, ‘प्राकृतिक रुपमा रहेका जडीबुटी संरक्षण तथा व्यवस्थापन कार्यक्रममार्फत सहयोग गरिएको हो ।‘
यसअघि परीक्षणका लागि गरिएको जडीबुटी खेती सफल भएपछि व्यावसायिक खेती विस्तार भएको हो । धौलागिरि गाउँपालिका १ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बाँझिएको खेतीयोग्य जमिनको सदुपयोग, संरक्षण र स्थानीयको आयआर्जन सुधारका लागि जडीबुटी खेती विस्तार गरिएको जनाए ।
‘यसअघि गरिएको खेती सफल भयो । यहाँको भूगोल र हावापानी जडीबुटी खेतीका लागि अनुकूल छ’, उनले भने, ‘बाँझिएको खेतीयोग्य जमिनको संरक्षण र सदुपयोग पनि भएको छ ।’
विसं २०७७ मा ७ हजार बिसजरा जातको जडीबुटीका बिरुवा रोपेका थिए । विसं २०७८ मा हिमाली कृषि सहकारी संस्थामा आबद्ध कृषकले २ रोपनी जग्गामा अतिसका बिरुवा रोपेका थिए । बजारमा अतिस, खिरौला र बिसजराको माग उच्च छ ।
समुद्री सतहदेखि ३ हजार २ सयदेखि ३ हजार ७ सय मिटरको भूगोलमा हुने अतिस कफ, पित्त थैली, ज्वरो, वान्ता हुने, पखला लाग्ने, चिसो लागेको समस्या समाधानका लागि प्रयोग हुन्छ । यसले अपच हुने, शरीरको विभिन्न भागको दुखाइ, उत्तेजना नहुने, जुका जस्ता समस्या समाधानका लागि पनि महत्वपूर्ण उपचार पद्धतिको रुपमा अतिस प्रयोग हुन्छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया