गण्डकी संसदको नयाँ लोगो

समाधान संवाददाता २०८० असार २१ गते १३:२९

पोखरा ।

Advertisement

गण्डकी प्रदेश सभाको प्रतीक चिन्ह (लोगो) परिवर्तन हुने भएको छ । प्रदेश सभा नियमावली मस्यौदा समितिले पुरानो लोगोमा व्यापक परिवर्तन प्रस्ताव गरेको हो । हाल सांसदले लगाइरहेको लोगोमा हरियो रङको प्रयोग धेरै गरिएको छ । प्रस्तावित नयाँ लोगोमा पहेंलो रङ प्रयोग भएको छ ।


गैंडा, मृग देखाएर हालको लोगोमा नवलपुरसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्ज देखाउन खोजिएको छ । नयाँ लोगोमा यसअघि भएका जनवार र चरा हटाइएको छ । लोगोको रङ परिवर्तन गरिएको छ भने डाँफे, गैंडा, मृग, लालीगुराँस, नदी हटाएर लोगोलाई सरल बनाइएको छ ।


नियमावली मस्यौदा समितिले प्रदेश सभाका ४ संसदीय समितिमध्ये विधायन समिति खारेज प्रस्ताव गरेको छ । उक्त समिति खारेज, अरु नाममा ४ समिति गठन र लोगो परिवर्तनसहितको मस्यौदा समितिका संयोजक सांसद बिन्दुकुमार थापाले मंगलबार प्रदेश सभामा पेस गरेका थिए ।


प्रदेश सभामा रहेका ४ समितिको संख्या कायम राख्दै समितिको नाम र जिम्मेवारी हेरफेर गरिएको नियमावली मस्यौदा तयार भएको हो । प्रदेश सभामा पेस विधेयकमाथि सबै सदस्यले छलफल गर्ने र सुझाव पेस गर्ने विधायन समिति हट्ने भएको छ ।

Advertisement

अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास तथा कृषि समिति प्रस्ताव गरिएको छ । सरोकारवालाहरुसँगको बृहत छलफलपछि मस्यौदा बनाएको सभापति थापाले जानकारी दिए ।


गण्डकी प्रदेश सभा नियमावली २०८० को मस्यौदा प्रदेश सभामा पेस भएर मंगलबार सामान्य छलफलसमेत भएको छ ।

नियमावलीमा मुख्यमन्त्रीसँग प्रत्येक महिनामा एकपटक सांसदहरुले प्रश्नोत्तर गर्ने व्यवस्था गरिएको छ । २०७४ मा ल्याइएको नियमावलीको परिच्छेद ९ मा प्रश्न र ध्यानाकर्षणको प्रबन्ध गरिए पनि प्रयोगमा आउन सकेको थिएन । सभामुख, उपसभामुख र संसदीय समितिका सभापतिको पद रिक्त भए १५ भित्रै निर्वाचन गर्नुपर्ने विषय नियमावलीमा उल्लेख गरिएको छ । नयाँ नियमावली २२ गतेको प्रदेश सभा बैठकबाट पारित गर्ने योजना छ ।

तपाईको प्रतिक्रिया